|

काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठानले प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण प्रयोजनका लागि साविकको घर भत्काउनु बाध्यात्मक अवस्था रहेको जनाएको हो।​

शनिबार एक विज्ञप्ति जारी गरी प्रतिष्ठानले देवकोटाको घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि घरको बाह्य स्वरूप आउने गरी प्रतिष्ठान निर्माणको प्रक्रिया अगाडि बढाइएको स्पस्ट पारेकाे हाे।

कविकुञ्ज भनिने देवकोटा निवासलाई प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको भन्दै चौतर्फी निन्दा भएपछि प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

'प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हाे' विज्ञप्तिमा भनिएकाे छ, 'काठमाडाैं महानगरपालिका-३०, मैतीदेवीस्थित महाकवि देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई दुई करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको हक भोगमा ल्याइएको हो।'

विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञा–प्रतिष्ठानको हक भोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने/नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको प्रतिष्ठानले जनाएकाे छ।

भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको प्रतिष्ठानले जनाएको छ।

'त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमासमेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्था रहेको छ', विज्ञप्तिमा भनिएको छ।

सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि देवकोटाको पूर्ण कदको प्रतिमा राखिने जनाइएको छ। 'प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहनेछ। प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ। परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई-तीनओटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ' विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

यस्तै प्रतिष्ठानका अनुसार सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतिक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन्। पहिलो तलामा देवकोटाले जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन्।

दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वानहरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू/शोधपत्रहरू रहने छन्।

तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ। साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.