|

काठमाडाैं : विवाद समाधान गर्दै पार्टी एकता जोगाउन नेकपा एमालेको संस्थापन पक्ष लचिलो बनेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहको हिजो र अस्ती बसेको केन्द्रीय कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिएपछि ओली पक्ष लचिलो बनेको हो।

नेपाल समूहकै मागअनुसार ओली पक्षले आइतबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन सारेको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी एकताकै लागि बैठक एक दिन सारिएको थाहाखबरलाई जानकारी दिए।

तामाङले पार्टी एकताकै लागि अझैं पनि लचिलो भएर बैठक एक दिन पर सारिएको बताए। ‘पार्टीभित्र देखिएका समस्या समाधानका लागि छलफल भएको छ। पार्टीबाटै छुटेर जान उहाँहरु (नेपाल समूह) लाई पनि सम्भव छैन्। उहाँलेहरुले भनेअनुसार नै त गरिँदै आइएको छ। उहाँहरु आफै नआउनु भएको त होनी’ तामाङले भने।

नेपाल समूहले भने एक दिनको समय अप्रयाप्त भएको बताएको छ। नेपाल समूहका नेता भीम आचार्यले बैठक सारिनु सकरात्मक सन्देश भएको बताए।

‘एकै दिनले त अब के कुरा होला र ? मेरो बिचार ३–४–५ दिन सारेर अरु सेटलमेन्टका विषयहरु हुन्छन् नी, त्यसमा पनि अन्डरस्ट्याडिङमा लचिलो हुन जरुरी देखिन्छ। त्यसरी लचिलो भएर जाँदा ३–४ दिनमा सबै सेटल हुन सक्छ’ आचार्यले भने,‘१० बुँदे सहमति हाम्रो छँदै छ त्यसलाई इमान्दारिताका साथ पालना गर्ने कुरा हो। अर्को दुई अध्यक्ष बनाउने कुरा हो। त्यो पनि त गर्नु पर्यो नि।’

तर पार्टी एकताकै लागि एक दिन केन्द्रीय कमिटी बैठक सारेको ओली पक्ष नेपाल समूहसँग अझैं पूर्ण विश्वस्त भने बनेको देखिदैन। पार्टी एकताका लागि लचिलो देखिएको ओली पक्षले बैठक एक दिन सारे पनि नेपाल समूह उक्त बैठकमा आउने निश्चित छैन।

एमाले प्रवक्तासमेत रहेका ओली पक्ष नेता प्रदीप ज्ञवालीले यसअघि पनि नेपाल समूहको आग्रहमा बैठक सारिदै आएको सुनाए। उनले नेपाल समूह बैठकमा सहभागि हुने कुराको सुनिश्चितता भए केही विषयमा छलफल गरेर जान सकिने बताए। तर उनले पार्टीका न्यूनतम् गतिविधिहरु रोक्ने गरी प्रस्तुत भएका मागहरु उचित नभएको उल्लेख गरे।

‘पार्टीको सदस्यता नवीकरण, अधिवेशन नजिक आउँदै छ। त्यसका तयारीहरु, स्थानीयतहको निर्वाचन नजिक आउँदै छ। त्यसका निम्ती गर्नु पर्ने तयारीहरु, सरकार गलत ढंगले अघि बढ्दै छ। त्यसका लागि गर्नु पर्ने आलोचना र प्रतिवादहरु, यी सबै निश्चित केही पनि नगरिकन बैठक पनि नगर्ने, र सारिरहने हो भने पार्टी त कसरी अगाडि बढ्न सक्छ त?’ ज्ञवालीले प्रश्न गरे।

उनले यी कुराहरुको सुनिश्चितता गरिए छलफल गर्न सकिने बताउँदै एकोहोरो बैठक सारिरहदा त्यसले अर्थ नराख्ने बताए। उनले यी सबै कामहरु अगाडि बढाउदै जाने पनि बताए। पार्टीले अगाडि बढाएका कामहरुले एकताका लागि कही कतै अफ्ट्यारो नपार्ने उनको भनाई छ।

पार्टी एकताकै विषयमा शनिबार अध्यक्ष ओलीसँग नेपाल समूहका नेता तथा एमाले उपाध्यक्ष भीम रावलले भेटसमेत गरेका छन्। ओली पक्षको विश्वस्त स्रोतकाअनुसार ओली र रावलबीच एकताका विषयमा गम्भीर छलफल भएको छ।

ओली पक्षले भने माधव समूहले हिजो र अस्ती गरेको केन्द्रीय कमिटी बैठकलाई पार्टीको बैठक नभई समूहको छलफल भएको भनेको छ। यद्दपि नेपाल समूहले गरेका कुराहरुलाई अध्यक्ष ओलीसहित पार्टीको ध्यानमा रहेको स्रोतले बतायो।

खासगरी सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादीलाई ब्यँुताएपछि अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेपाल समूहले विद्रोह गर्दै आएको हो।

एमाले ब्युतिएपछि अध्यक्ष ओलीले आफ्नै मनोमानी बैठक बोलाएको र निर्णय गरेको भन्दै नेपाल समूहले त्यसलाई नमान्ने र खारेज गर्नुपर्ने भन्दै पार्टीलाई नेकपा बन्नु अगाडिका कमिटीलाई सक्रिय बनाउनु पर्ने माग गरेको भए पनि त्यसो हुन सकेन।

ओलीको एकलौटीतन्त्रले एमाले करिब फुट नजिक मात्रै पुगेन, भएको सत्तासमेत गुमाउनु परेको थियो। राजनीतिक विश्लेषक भने एमाले एकता भन्दा पनि लोकतान्त्रिक हुन्छ कि हुँदैन भन्ने कुरा सर्वमान्य हुने टिप्पणी गर्छन्।

एमाले एकताका विषयमा बाम विश्लेषक खगेन्द्र प्रसाई एमाले एक हुने, नहुने कुरा भन्दा पनि लोकतान्त्रिक हुन्छ कि नाई भन्ने कुरा मुख्य भएको बताउँछन्।

‘हामीले लोकतान्त्रिक व्यवस्थाभित्रको पहिलो प्रश्नमा एमाले लोकतान्त्रिक हुन्छ कि हुँदैन भन्ने हो। लोकतान्त्रिक हुँदैन भने त्यो जुटेर के हुन्छ? अलोकतन्त्र बलियो हुन्छ। अधिनायकवादी चरित्र, तानाशाही चरित्र बलियो भएर जुटेको एमालेलाई मुर्दावाद भन्नु पर्छ होलानी त? त्यसको आलोचना निन्दा गरिनुपर्छ होला नी?’ उनले प्रश्न गरे,‘त्यसकारण म के प्रश्न गर्न चाहान्छु भने मेरा लागि एमाले जुट्छ कि जुट्दैन? एक हुन्छ कि हुँदैन? चुनाव जित्छ कि हार्छ? भन्ने कुरा गौण हो।’

पार्टीको दोस्रो तहका नेताहरु पार्टी एकता जोगाइराख्न सक्रिय बनेका छन्।

 

 


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.