|

दाङ :  दाङमा एक वर्षमा २८९ वटा सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ। मृतकमध्ये ६१ पुरुष‚ ६ महिला र १० जना बालबालिका रहेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ। दुर्घटनामा २३३ जना गम्भीर र १३९ जना सामान्य घाइते भएका छन्।

आर्थिक वर्ष २०७७/७८ दुर्घटना भएका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार १६६ वटा मोटरसाइकल, २९ वटा जिप/कार, २१ वटा टेम्पो, १८ वटा बस, १६ वटा ट्रक र ट्यांकर, १४ वटा ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए। त्यस्तै, टिपर ६ वटा, माइक्रो बस २ वटा र अन्य १७ वटा  सवारी दुर्घटना भएको उनले बताए।

ट्राफिक प्रहरीको अनुसन्धानले तीव्र गतिका कारण ७० प्रतिशत दुर्घटना भएको देखाएको छ। तीव्र गतिका कारण १७२ वटा दुर्घटना भएका थिए। त्यस्तै‚ चालकको लापरबाहीका कारण १९ वटा, यात्रुको गल्तीका कारण एउटा,  ओभरटेकका कारण एउटा, यान्त्रिक समस्याका कारण पाँच,  सडकको अवस्थाका कारण दुई र मौसम प्रतिकूलताका कारण एउटा दुर्घटना भएको थियो। ट्राफिक प्रहरीका अनुसार मध्याह्न १२ देखि साँझ ६ बजेसम्म र साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेका छ।

प्रहरी निरीक्षक जिसीका अनुसार दाङ तराईका जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना हुने जिल्ला हो। ‘हाम्रो सडक एकदम साँघुरो छ। सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘ हामीले सडकको अवस्थाअनुसार सवारी साधन चलाउनु पर्छ। तर, यहाँ सडकभन्दा सवारी साधनको अवस्था हेरेर ६० देखि १०० सम्मको स्पिडमा सवारी कुदेका हुन्छन्। हाम्रो सडको अवस्था हेर्दा ३०/३५ सम्मको मात्र छ। जसले गर्दा दुर्घटना बढी हुन्छ।’

दाङमा पछिल्लो समय ट्राफिक व्यवस्था राम्रो भएका कारण दुर्घटना कम भएको समेत उनले दाबी गरे। गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ५६ हजार ३८२ वटा सवारी साधन कारबाहीमा परेका थिए। तीमध्ये सबैभन्दा सबै भन्दा बढी १८ हजार ४०७ वटा ट्रक, १८ हजार ३७६ वटा मोटरसाइकल, ५ हजार ९२० वटा जिप/कार, ४ हजार ६० वटा बस, ५ हजार ५५० वटा ट्रयाक्टर, ४ हजार ४३१ वटा टेम्पो रहेका छन्।

त्यस्तै, सवारी साधन कारबाहीबाट ३ करोड ३८ लाख ५३ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा बढी ओभरलोड बोक्ने सवारी साधनलाई कारबाही गरिएको थियो। जसमा १२ हजार ७८६ जना रहेका थिए। त्यस्तै, छतमा यात्रु बोक्ने १ हजार ५७ वटा, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३४ वटा, मोबाइल फोन प्रयोग गरी सवारी चलाउने ४६९ वटा,  सिटबेल्ट प्रयोग गर्ने २५२ वटा, प्रयोजन विपरीत ४८४ वटा, लेन अनुशासन २२ वटा, ओभरटेक ५ वटा र तीब्र गति रुपमा चलाएका २५ वटालाई कारबाही गरिएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.