|

काठमाडौं : कोरोना महामारी नफैलिएको भए काभ्रेपलान्चोकका उत्तम उप्रेती यतिबेला कोरियामा हुन्थे। २ वर्षअघि  रोजगारी अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा र सिप परीक्षा उत्तीर्ण गरेका उनी यतिबेला होटल सञ्चालनको तयारी गरिरहेका छन्। 

उनी दोधारमा छन्। होटल सञ्चालन गरिसकेपछि कोरियाको भिसा आयो भने के गर्ने ? उनले भने, ‘कहिले अब खुल्छ भन्ने सुनिन्छ कहिले अनिश्चित भन्ने सुनिन्छ, हामी झन् अन्योलमा पर्‍यौं।’ बेरोजगार बस्दा भोकै हुने भएकाले व्यवसाय सुरु गर्न लागेको बताए।

उत्तम स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिए। गाउँका अधिकांश युवा धमाधम वैदेशिक रोजगारीमा जान थाले। उनले पनि देशमा रोजगारीको अवसर देखेनन्।आफन्त र साथीहरूले कोरियामा राम्रो कमाइ हुने बताए। कोरिया जान भाषा र सिप परीक्षा उत्तीर्ण गरेको २ वर्षसम्म पनि कोरिया जान पाएका छैनन्। सम्पूर्ण परीक्षा उत्तीर्ण गरिसकेकाले भिसा आउने क्रममा थियो।  

त्यस्तै कैलालीका अजय सोडारीले सन् २०१९ मा कोरियाली भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका थिए। कोरोनाकै कारणले यतै अड्किएका उनी पनि कोरिया जान पाएका छैनन्। उनले आक्रोश पोखे, ‘सरकारले देशमा रोजगारी दिन सक्दैन,पसिना बेच्न  जान्छु भन्दा पनि पठाउँदैन।’ कोरिया सरकारले अघि सारेका तीन सर्त कोरोना बिमा, क्वारेन्टाइनको खर्च र हवाई उडानको खर्च कामदार आफैंले बेहोर्छु भन्दा पनि सरकारले चासो नदेखाएको उनको गुनासो छ। 

'समिति नै बनाएर लागिपरेका छौं,' उनले भने, ‘सरकारले आश्वासनमा नै १८ महिना गुजार्‍यो।’ भाषा परीक्षा पास गरेका दिनदेखि २ वर्ष रोष्टर अवधि हुन्छ। त्यस अवधिभित्र कोरिया पुगिसक्नु पर्ने हुन्छ। त्यस समयमा कोरिया नपुगे भाषा परीक्षा फेरि दिनुपर्ने प्रावधान छ। 

'कोरिया जाने प्रक्रियामा हुँदाहुँदै लकडाउनले गर्दा ०७७ फागुनदेखि हामी रोकिएर अन्योलमा छौं,' सोडारीले भने। पहिलो लकडाउन हुनुभन्दा अघि नै सिप परीक्षा उत्तीर्ण भएर कोरियाली रोजगारदाताले बोलाइसकेका उत्तम जस्ता धेरै जना अहिले चिन्तित भएर के गर्ने भनेर अलमलिएका छन्। 

उप्रेती र सोडारी दुई प्रतिनिधि पात्र मात्र हुन्।  कोरिया रोजगारी खुल्ने समय अनिश्चित हुँदा १० हजार जति युवा अन्योलमा छन्। वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ७ हजारले भाषा परीक्षा उत्तीर्ण गरेका र ३ हजार बिदामा आएर फर्कन नपाएका छन्।   

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले विश्वभरि फैलिएको कोरोना महामारीका कारण कोरिया सरकारले केही सर्त अगाडि सारेसँगै कामदार जान अनिश्चित देखिएको जानकारी दिए। कोरियाले कामदारको बिमा, क्वारेन्टाइन खर्च कामदारले नै बेहोर्नुपर्ने र सिधा उडानको सर्त राखेको थियो। यसअघि कोरिया–नेपाल सिधा उडान थिएन । सिधा उडान गर्दा महँगो पर्ने भएकाले उडानबारे टुंगो लागि नसकेको जानकारी उनले दिए। उनले भने, ‘कोरिया सरकारले राखेका सबै सर्त पूरा गर्न कामदार तयार भएका छन्।’ यस विषयमा छलफल भइरहेको उनको भनाइ छ। 

कोरोनाका कारण लामो समयदेखि कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्र्याक्ट) आइसकेका र बिदामा आएकाहरू फेरि कोरिया फर्कन पाउने टुंगो लाग्न सकेको छैन। कोरोनाकै कारण २ वर्षदेखि भाषा परीक्षा समेत हुन सकेको छैन। खुलाउने प्रयास गरिरहेको विभागले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.