|

जुम्ला : चन्दननाथ नगरपालिका-९ का अन्दाजी २५ वर्षीय धनगिरीको परिवार ११ महिनादेखि न्यायको पर्खाइमा छ। गिरीलाई २०७७ असोज १५ गते अपहरण गरी बेपत्ता बनाइएको थियो।

चन्दननाथ नगरपालिका-९, बयालकाटियाका अन्दाजी २५ वर्षीय धन गिरी ट्याक्टर चालक हुन्‌। उनी २०७७ असोज १५ गते निर्माण सामाग्री लिएर गुठीचौर गाउँपालिकाको मणिसाँघुतिर लाग्दै थिए। उनी चन्दननाथ नगरपालिका-५ का रेणु शाहीको ट्याक्टर चलाउँथे।

​निर्माण सामाग्री लिएर गएका उनी घर फर्केनन्। उनकी श्रीमती मीना गिरी भन्छिन्‌, ‘२०७७ असोज १५ गतेको राती १२ बजेतिर ट्याक्टरको साहुनीले फोन गरेर तिम्रो श्रीमान घर आयो कि नाइँ भनेर सोधेकी थिइन्‌, आउनुभएकै छैन भन्ने जवाफ दिन नपाउँदै फोन राखिन्‌।’ ​आफ्नो श्रीमान बेपत्ता हुनुका पछाडि ट्याक्टर साहुको पनि मिलेमतो भएको उनको आरोप छ।

अहिलेसम्म चालक गिरी न घर फर्किएका छन्‌, न त कुनै ठाउँमा रहेको खबर छ।

पीडित परिवारले अपहरण गरी बेपत्ता पारेको भन्दै गुठीचौर गाउँपालिका बस्ने भोटे भनिने विमल महत,दन्दबहादुर भण्डारी, सागर गिरी र विनोद गिरीविरुद्ध किटानी जाहेरी दिएका छन्‌।

२०७८ जेठ ७ गते तातोपानी गाउँपालिका-५, श्रीनगरस्थित चौर भन्ने ठाउँमा तीला नदीको छालमा सडेको शव भेटियो। प्रहरीले त्यो शवलाई निकाले।

शवको मासु सडेर नष्ट भइसकेको थियो। छातीको केही भाग र हड्डी मात्र बाँकी थियो।

शवको लम्बाइ, चौडाइ, उचाइ र छातीको भाग हेर्दा चन्दननाथ नगरपालिका-९ का २५ वर्षीय धन गिरीको शारीरिक बनावटसँग मिल्थ्यो।

बेपत्ताका परिवारले आफ्नै भाइ/छोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टम गरिदिन समेत आग्रह गरेका थिए। शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो।

तर, बेपत्ताका परिवारलाई कुनै जानकारी नदिइ केही दिनपछि पोष्टमार्टम भयो भनी प्रहरीले खबर गरेको आफन्त तुलराज गिरी बताउँछन्‌। उनी भन्छन्‌, ‘प्रहरी कार्यालयले उमेरले तपाईंको मान्छेसँग मेल खाएन, शव अर्कैको हो भनेर खबर गर्‍यो।’

प्रहरीप्रति भरोसा उठ्दै

आफन्त तुलराज गिरीले भने, ‘प्रहरीको त्यो जवाफप्रति शंका उब्जियो। हामी विश्वासमा छैनौँ। यो सरासर पीडित पक्षको आखाँमा छारो हाल्ने काम हो।’

पोष्टमार्टममा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डीएनए परीक्षण गर्न सुझाव दिएको, त्यसपछि विधिविधान प्रयोगशालामा डीएनए परीक्षण गरी पाउँ भनी पत्नी मीना गिरी र छोरा तिलक गिरीको रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिएको उनले बताए।

उनले भने, ‘डीएनए परीक्षण गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिएको दुई महिना बित्यो। तर, डीएनए रिपोर्ट आएन। परिवार रिपोर्ट कुरेर बसेका छौँ। प्रहरीले कुनै चासो दिएको छैन। उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ।’

आफन्तजनले पटकपटक गुनासो सुन्ने अधिकारी समक्ष डीएनए रिपोर्टबारे जानकारी लिने प्रयास गरे। प्रहरीले रिपोर्ट नआएको भन्दै पटक पटक फर्कायो। निवेदन दिँदा अधिकतम एक महिनाभित्र टुंगो लाग्ने बताइएको थियो। तर, दुई महिना बितिसकेको छ।

आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरासँग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन्‌। हड्डीमात्र भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्थामा बगेर आइरहेको स्थानीय बताउँछन्‌। ​त्यो शव भेटिएको दुइ महिना बितिसकेको छ। शव बुझ्न अहिलेसम्म कोही आएको छैन।

तुलराजले भने, ‘यो शवलाई बेवारिसे शवका रूपमा प्रमाणित गर्न खोजिँदैछ। यो मान्य हुने छैन।’

छिटोभन्दा छिटो डीएनए परीक्षण रिपोर्ट ल्याएर परिवारको पीडामा मल्हम लगाइदिन गिरीका आफन्तजनले माग गरेका छन्‌।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.