|

काठमाडौं : सरकारले असोज १५ पछि कोरोना संक्रमणको तेस्रो लहर शुरू हुने बताइसकेको छ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलँदा संक्रमणदर उच्च तहमा पुगेको थियो। पछिल्ला दिनमा सो दर ओरालो लागेर स्थिर अवस्थामा आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो।

तर, संक्रमणदरको ग्राफ केही दिनयता फेरि उकालो लागिरहेको छ। अर्थात्, नेपालमा महामारीको तेस्रो लहर फैलने संकेत देखिएको छ।

दोस्रो लहरबाट विस्तारै कम भएको संक्रमणदर पुनः उकालो लाग्दै गएको अवस्थामा जोखिमबाट जोगिन सरकारले मास्क अभियान समेत सञ्‍चालन गरेको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले समेत तेस्रो लहरको संकेत देखिएको हुँदा सबै जनाले जनस्वास्थ्यको पालना गर्नुपर्ने बताइसकेका छन्‌।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै भिडभाड, विभिन्न खालका आन्दोलन र भेला बढेको र जनस्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढ्दै गएको विज्ञहरुले बताइरहेका छन्‌।

‘मापदण्ड पालनामा हेल्चेक्य्राइँ नगरौँ’

खोप लगाएपछि मास्क नगाउनु पर्दैन भन्ने धारणाका कारण मास्क नलगाउने र जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना नगर्दा पनि संक्रमण छिटो फैलन हुँदा सचेत हुनुपर्ने मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासैनीले बताए।

उनले भने, ‘संक्रमणलाई रोक्न सबभन्दा महत्वपूर्ण उपाय नै जनस्वास्थ्य मापदण्ड पालना गर्नु हो, तर हामीकहाँ गम्भीरताका साथ पालना गरिएको छैन।’ सरकारले हाल ल्याएको मास्क अभियान राम्रो भएपनि खोप लगाउने ठाउँ र अन्यत्र भिडभाड गर्दा संक्रमण फैलिएको उनले आंकलन गरेका छन्‌।

धेरै नागरिकले खोप नलगाएको हुँदा र संक्रमण बढ्दै जाँदा अहिलेको मुख्य प्राथामिकता नै जनस्वास्थ्यका मापदण्ड  पालना गर्नु एवम्‌ खोप नै व्यापक गर्न आवश्यक रहेको डा. मरासैनीको भनाइ छ।

उनले थपे, ‘अहिले पुनः संक्रमण बढ्दै गएको छ, यही अवस्था कायम रहे अब भदौको दोस्रो हप्तापछि नै संक्रमण उच्च तहमा पुग्नसक्छ। त्यसैले सबैभन्दा पहिले खोप लगाउने र अन्य ठाउँमा भिडभाड कम गर्नुपर्छ।’

अब काठमाडौंभन्दा बाहिरका ठूला शहरमा आईसियू र भेन्टिलेटर तथा स्वास्थ्य सेवा विस्तार आवश्यक रहेको डा. मरासैनीले बताए। अहिले काठमाडौं, पोखरा, विराटनगर र बुटवलजस्ता ठूला शहरमा तेस्रो लहर शुरू भएपनि कतिपय गाउँमा संक्रमण बल्ल शुरू भएकाले कतिपय बल्ल संक्रमित हुन थालेका उनको भनाइ छ।

अब ग्रामिण भेगलाई हुनेगरी पनि सेवा विस्तार गर्न उनले सरकारलाई सुझाए​।

अस्पताल बस्नुपर्ने बिरामी कम

पछिल्लो समय संक्रमण बढेपनि अस्पताल भर्ना हुनुपर्ने संक्रमित कम रहेको बताइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी प्रमुख लीलानाथ भण्डारीले पछिल्लो समय आउने धेरै संक्रमित अस्पताल बस्नु नपर्ने र बस्नै परेपनि चाँडै ठीक हुने गरेको बताए।

‘हाल दैनिक ३५/३० जना संक्रमित आएका छन्‌, तर अस्पताल बस्न नपर्ने खालका र बस्नैपर्ने भएपनि छिटै निको भएका छन्‌, यसअघि यही संख्यामा अस्पतालमा बिरामी आउँदा आईसीयू र भेन्टिलेटर व्यवस्था गर्नै गाह्रो भएको थियो।’

पछिल्लो समय खोप लगाएकाहरू पनि संक्रमित हुने क्रम बढेको मन्त्रालयका प्रवक्ता एवम्‌ इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।

यस्तै, सम्भावित तेस्रो लहरसँग जुध्न मन्त्रालयले आज स्वास्थ्य सेवा विभाग तथा सातवटै प्रदेशलाई पत्र पठाउँदै विभागमा थप दुई हजारवटा र प्रदेशमा कम्तिमा एक हजार वटा अक्सिजन सिलिन्डर राख्न निर्देशन दिएको छ।

यसअघि कोरोनाको दोस्रो लहर फैलँदै गर्दा अक्सिजन व्यवस्थापन नहुँदा नेपालमा थुप्रै संक्रमितको ज्यान गएको थियो। यसपटक त्यस्तो अवस्था निम्तिन नदिन अहिलेदेखि नै आकस्मिक प्रयोग गर्न अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिइएको हो।

संघ र प्रदेशमा क्रमशः दुई हजार र हजारका दरले अतिरिक्त अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्टहरू चुस्त राख्न, अक्सिजन संकलन गरेर राख्न, प्लान्ट र लिक्विड ट्यांक बिग्रिएको छ भने बनाउन तथा जडान बाँकी भए गरिहाल्न मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.