ऋण तिर्ने चिन्ता

|

काठमाडौ : बुधबार मध्याह्न १२ बजे पिठ्युँमा कागजपत्रको  झोला बोकेर कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तालिम केन्द्रको गेटमा युवा भेला भएका थिए।

आइतबार क्युआर कोडको फारम बुझाउँदा २४ घण्टा भित्र ‘क्युआर कोड’ सहितको खोप काड तपाईंको मोबाइलमा पठाउँछौ भनेको थियो। ४ दिन बित्यो मेरो मोबाइलमा कोड नम्बर आएन। कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तालिम केन्द्रमा जम्मा भएका युवा यस्तै भन्दै थिए। 

सो भिडमा प्यूठान घर भएका ३८ वर्षीय मधुरमण घर्ती मगर तालिम केन्द्रको गेटमा भेटिए। वैदेशिक रोजगारीको खोजीमा साउदी अरब जाने तयारीमा रहेका घर्तीमगर विहिबार दिउँसो ४ बजेको टिकट छ। यति वेलासम्म उनको हातमा ‘क्यू आर कोड’ परेको छैन। सो कोड कहाँबाट र कस्ले  दिन्छ भन्ने जानकारी घर्ती मगरलाई छैन। क्यू आर कोडको फारम केन्द्रमा बुझाइएकाले घर्ती त्यहाँ आएका हुन्। उनले भने,‘सोमबार मोबाइलमा ‘क्युआर कोड’ आउँछ भनेको थियो आजसम्म आएन, अब म विदेश जान नपाउने हो?’ 

घर्ती मगरले साउदी जानका लागि १ लाख ५० हजार बुझाइ सकेका छन्। तर विदेश उड्न पाउने र नपाउने अझै अन्योलमा रहेका छन्।  मगरले १० दिन अगाडी प्रहरी अस्पताल महाराजगञ्जमा पासपोर्ट देखाएर खोप लगाए। सरकारले खोप कार्ड उपलब्ध गरायो। तर,त्यसमा नेपालीमा लेखिएको थियो।  नेपालीमा लेखिएको काडलाई विदेशमा  मान्यता दिइएको छैन। सो कार्ड प्रमाणीकरणका लागि  दुई दिन टेकु अस्पतालमा लाइन बस्नु परेको घर्ती मगरले सुनाए। उनले भने,‘श्रम गर्नका लागि विदेश जान्छु भन्दा पनि पाहिलै पिच्छे समस्यै समस्या भोग्नु पर्छ।’ 

वैदेशिक रोजगारीमा जानका लागि १२ साउनमा प्युठानबाट काठमाडौ आएका घर्तीमगर नयाँ बसपार्कको एक होटलमा बस्दै आएका छन्। बस्न,खान र विदेश जाने प्रक्रियामा हिड्दा हिँड्दै ५० हजार खर्च भइसकेको उनले सुनाए। यति धेरै प्रक्रिया पुरा गरिसकेका मगर अन्तिम समयमा आएर निराश बनेका छन्। टिकट आइसक्दा पनि क्युआर कोड नआएपछि विदेश जानका लागि  लिएको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन्। 

विदेश जान लिएको ऋण कसरी तिर्ने ?

बुटवल घर भएका  मान बहादुर मोक्तान  भेटिए। अनलाइनबाट खोप कार्ड लिन सम्पूर्ण प्रक्रिया पूरा गरेर फारम भरे पनि अहिलेसम्म कार्ड प्राप्त गर्न नसकेको मोक्तानले सुनाए। खोप लिन कीर्तिपुर स्थित आयुर्वेद अस्पताल जाँदा खोप कार्ड वितरण केन्द्रको गेटमा भौतिक उपस्थितिमा क्यू आर कोडको फारम बन्द गरिएको सुचना टाँसिएको थियो। 

शुक्रबार विहानको कुवेत जाने तयारीमा रहेका मोक्तानको शुक्रवार बिहानको टिकट छ। उनले भने,‘यहि प्रक्रियामा हिड्दा हिँड्दै बाहिर जाने दिन आइसक्यो,तर जान पाउने नपाउने टुङ्गो छैन।’ यदि क्युआर कोड हात परेन भने मोक्तानको वैदेशिक रोजगारीमा विराम लाग्ने देखिन्छ। 

परिवारको आर्थिक अबस्था कमजोर भएका मोक्तानले विदेश जानका लागि करिब दुई लाख खर्च गरिसकेका छन्। १ लाख ५० जार मेनपावरलाई  बुझाउका छन् भने,विदेश जानका लागि सरकारी कार्यालय धाउँदा धाउँदै ५० जार सकिएको मोक्तानले सुनाए। उनले भने,‘क्यु आर कोड सहितको खोप कार्ड समयमै हात परेन भने विदेश जान लिएको ऋण कसरी तिर्ने?’ मधुरमण,मानबहादुर जस्ता धेरै युवाहरुको‘क्यू आर कोड’ समयमै नआएकाले विदेशको यात्रा रोकिने चिन्तामा रहेका छन्। 
 
साउदी अरब ,दुबई, मलेसिया, कतार लगायतका देशले क्युआर कोड सहितको कार्डलाई मात्र मान्यता दिएका छन्।  वैदेशिक रोजगारीमा जानका लागि खोप लगाएकालाई मात्र  प्रवेश अनुमति  पाउँने भएका छन्। 

 

क्युआर कोड सहितको खोप फारम भौतिक उपस्थितिमा बन्द

सरकारले क्यूआर कोड सहितको खोप कार्ड भौतिक उपस्थितिमा भर्ने फारम स्थगित गरेको छ। यस अघि सरकारले  क्यू आर कोडका लागि  सिभिल अस्पताल, बानेश्वर,  सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शुक्रराज अस्पताल, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरबाट कार्ड वितरण गर्ने जनाएको थियो।  हाल भौतिक स्थितिलाई भने स्थगित गरिएको छ। भौतिक उपस्थितिमा हुँदै आएको रजिस्ट्रेसन फारम संकलन हाललाई स्थगित गरिएको स्वास्थ्य सेवा विभागका बरिष्ठ जन स्वास्थ्य  अधिकृत  दिपक झाले जानकारी दिएका छन्। तर,अनलाइनबाट फारम संकलन भने रोकिएको छैन।

रजिस्ट्रेसन फारम भर्नेहरूको भिडभाड बढेकाले  अनलाइन मार्फत फारम भरेको विभागले जनाएको छ। झाले भने ‘भौतिक उपस्थिति र अनलाइन मार्फत धेरैजनाले रजिस्ट्रेसन फारम भरेका छन्। दुवै विधि मार्फत संकलन भएका फारमहरु स्वास्थ्य सेवा विभागमा पठाइसकेका छौं।’

रोजगारीका लागि नेपालीहरु जाने कतिपय मुलुकमा क्युआर कोड सहितको खोप कार्डलाई मात्र मान्यता दिने भएकाले विदेश जाने नेपालीहरु यो कार्ड लिनुपर्ने बाध्यता छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ साउन गतेदेखि वैदेशिक रोजगारी, अध्ययन लगायत अन्य काममा विदेश  जाने नागरिकका लागि क्यूआर कोड सहितको विद्युतीय खोप कार्डका लागि तालिम केन्द्रबाट रजिस्ट्रेसन भर्ने व्यवस्था मिलाएको थियो।

१४ हजारको आवेदन
वैदेशिक रोजगारीमा जानेका लागि क्यूआर कोड सहितको खोप कार्डका लागि १४ हजार जनाले फारम भरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। फारम भरिकालाई सकेसम्म छिटो सेवा उपलब्ध गराउने स्वास्थ्य सेवा विभागका महानिर्देशक झलक शर्माले बताए। कोरोना भाइरसको संक्रमण बढ्दै गएको र भिडभाड बढेकाले भौतिक उपस्थिति रोकिएको हो।

क्यू आर कोड सहितको खोप काड लिनेको चाप बढी भएकाले समस्या भएको स्वास्थ्य सेवा विभागका बरिष्ठ जनस्वास्थ्य  अधिकृत  दिपक झाले बताए। समस्यामा परेकालाई पहिलो प्राथमिकता दिइएको विभागले जनाएको छ।  झाले भने ,‘मेरो टिकट भोलिको छ भनेर आउनेलाई पहिलो प्राथमिकता दिइएको छ।’ टिकट रोकिने अबस्था आउन नदिने उनको भनाइ छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.