|

दैलेख : सशस्त्र द्वन्द्वका बेला माओवादीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या गरेको १७ वर्ष पुगेको छ। हत्याको १७ वर्ष पुग्दा पनि घटनाका मुख्य अभियुक्तसहित तीन जना अझै पक्राउ परेका छैनन्।

फरार हुनेमा मुख्य अभियुक्त्त  मुक्ति भन्ने बम बहादुर खड्का भत्तिराम लामिछाने र केशब बहादुर खड्का रहेका छन्। द्वन्द्वकालमा माओवादीद्वारा दैलेख सदरमुकामको खानेपानी लाइन काटिए पछि छलफल गर्न भन्दै नौमुले गाउँपालिका–३ द्वारी पुगेका पत्रकार थापाको २०६१ साल साउन २७ गते निर्मम ढंगले हत्या हत्या गरिएको थियो।

माओवादीले अपहरण गरी ४५ दिनसम्म नियन्त्रणमा राखेर पछि हत्या गरेको थियो। थापाको शव २०६४ साल असार १४ गते द्वारीको जगंलमा गाडिएको अवस्थामा फेला पारी उत्खनन्  गरिएको थियो। थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ १२ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले घटनाको १७ वर्षको अवधिमा ६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले आफू दैलेख आएपछि डेकेन्द्र हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको जानकारी दिए। उनले फरार अभियुक्तको खोजीकार्य जारी रहेको बताए। 

थापाको हत्यामा संलग्न ठहर भएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुनलाई प्रहरीले गत मंसिरमा घरैबाट पक्राउ गरेको थियो। जिल्ला अदालत दैलेखको २१ मंसिर २०७१ को फैसलाले पुनलाई २ वर्ष कैद सजाय तोकेको थियो।

पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महीना १ दिन जिल्ला कारागारमा थुनामा बसेका थिए। थुनामा रहेकै बेला पुनले तत्कालीन पुनरावेदन अदालत सुर्खेतमा वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेर अदालतको आदेशले थुनामुक्त भएका थिए।

पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भइकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेपछि उनी फरार भएका थिए।

न्याय नपाएको गुनासो 

थापाकी श्रीमती लक्ष्मीले घटनाको १७ वर्ष पुग्दा पनि न्याय पाउन नसकेको गुनासो गरेकी छिन्। पछिल्ला सरकारहरुले न्याय दिलाउन चासो नदेखाएको उनले दुःखेसो पोखिन्।

‘न्यायका लागि निकै संघर्ष गरियो। १७ वर्ष सम्म पनि मुख्य अभियुक्त्त फरार छन्’ उनले भनिन्,‘फरार रहेकालाई छिटो पक्राउ गरी अदालतले तोकेको फैसला अनुसार सजाय हुनुपर्छ।’

उनले अहिलेसम्म राज्यले दिने कुनै सेवा सुविधा नपाएको गुनासो गरिन्। थापाको हत्यामा संलग्न मुख्य अभियुक्त्त अहिले सम्म पक्राउ नपर्नुले राज्यले अपराधी लुकाएको दैलेखका पत्रकारहरूले आरोप लगाउँदै आएका छन्।

पत्रकार महासंघ दैलेख शाखाले जिल्ला प्रशासन कार्यालयलाई पत्रकार थापाको हत्यामा संलग्न मुख्य अभियुक्तसहित फरार तीन जनालाई चाँडो पक्राउ गर्न ध्यानाकर्षण पत्र बुझाएको छ। 

सुरक्षित छैन सालिक 

दैलेख सदरमुकाम नारायण नगरपालिका–१ स्थित बीच बजारमा रहेको डेकेन्द्रको सालिक पनि असुरक्षित बनेको छ। सवारी साधनको बढी चाप हुने साँघुरो स्थानमा राखिएको थापाको सालिक घेराबार नहुँदा असुरक्षित बनेको हो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.