|

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ विस्तार अन्तर्गत चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक खोल्ने तयारी थालेको छ। योजना बनेको लामो समयपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो।

सरकारले २०६१/६२ सालदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर ६ स्थानमा करिब ७२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजना ल्याएको थियो। प्राधिकरणका अनुसार तत्कालको लागि भने चोभारदेखि सतुङ्गलसम्मको ६.६ किलोमिटरको ट्रयाक खोल्न लागिएको छ। 

उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले अरु ठाउँमा काम गर्ने वातावरण नमिलेको र चोभार-सतुंगलको भने समस्या समाधान भइसकेकोले विस्तार गर्न लागिएको बताइन्।

उनले भनिन,‘प्राधिकरणको काठमाडाैंमा नयाँ शहर बनाउने पनि योजना छ,पहिला भने बाहिरी चक्रपथ विस्तार गर्न लागेका छौँ,अब छिट्टै काम थालिन्छ।’  प्राधिकरणका प्रवक्ता घनश्याम पौडेलकाअनुसार चोभार-सतुङ्गलमा कम बस्ती भएकाले काम अगाडी बढाउन लागिएको हो।

‘अरु ठाउँमा पनि बाहिरी चक्रपथ विस्तार गर्ने योजना छ,तर ती ठाउँमा धेरै बस्ती भएकाले काम अघि बढ्न सकिरहेकाे छैन,चोभार-सतुङ्गलमा भने कम बस्ती छ,त्यसैले त्यहाँ तत्काल विस्तार गर्ने शहरी विकास मन्त्रालयले पनि सम्भावना देखेकोले विस्तार गर्न प्राधिकरण पहल गरिरहेको छ,’उनले भने। 

सरकारले चोभार, भत्केकोपाटी, मच्छेगाँउ, सतुगङ, गुर्जुधारा र धवलागिरि आवास आसपासका विभिन्न ६ स्थानलाई जोडन डिपिआर पनि बनाएको थियो। डिपिआर सरकारले स्वीकृत पनि भयाे। यी विस्तार गर्दा १० वर्ष अगाडिको लागतमा २४ अर्ब लाग्ने सरकारको अनुमान थियो। तर अहिले बढी जग्गाको भाउ बढेकाले यी लागतमा विस्तार गर्न सम्भावना भने कम देखिएको छ।

‘सबै ठाउँमा चक्रपथ विस्तार गर्न गाह्रो छ,’प्राधिकरणका प्रवक्ता पौडेल भन्छन,‘बस्तीहरु बसेको छ,लगानी पनि धेरै लाग्छ,त्यसैले डिपिआर संशोधन गर्नु पर्ने देखिएको छ।’ अहिले बन्न लागेको चक्रपथका लागि पनि बजेटको सुनिश्चिता भने नभएको उनले बताए।

‘चक्रपथ विस्तार भएपछि जामको समस्या सहज हुन्छ’

प्राधिकरणका प्रवक्ता पाैडेलले यी चक्रपथ विस्तार भएपछि उपत्यकाभित्रको केही जाममा सहजता मिल्ने बताए। उनका अनुसार चोभारदेखि सतुङ्गलसम्मको विस्तारमा ५० मिटर चौडा सडक बन्ने छ। उनले भने,‘काठमाडौंमा सडक कम फराकिलो छ,धेरै सवारीसाधनको चाप छ,यो विस्तार भएपछि सवारीसाधन जाम सहजता मिल्छ।’ 

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पनि गत २४ गते सिंहदरबारमा बसेको बैठकमा काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम छिटो अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो।

यी आयोजना सफल ढंगले पूरा भएमा उपत्यकाको जाम व्यवस्थानमा हुने पनि समितिकाे ठहर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.