वैदेशिक रोजगार बोर्ड भन्छ : १ हजार २ सय बढी परिवारलाई सहयोग गरिसक्याैं

|

काठमाडौं : वैदेशिक रोजगार बोर्डको गेटमा पाल्पाकी सुनिता विक मलिन अनुहार बनाएर बसिरहेकी थिइन्। श्रीमानको अनुहार देख्न नपाएकी सुनिता सरकारले सान्त्वना स्वरुप दिने रकम लिनका लागि काठमाडौं आएकी हुन्। घरमा हेरिदिने कोही नभएकाले चार वर्षे छोरालाई पनि उनले साथैमा ल्याएर आएकी छिन्। 

गत असोजमा सुनिताका श्रीमान मानबहादुरले कोभिड–१९ का कारण कतारमा नै ज्यान गुमाए। श्रीमानलाई कोरोना भएको जानकारी सुनितालाई थिएन।

'सामान्य रुघा खोकी लागेको छ भन्नु भएकाे थियाे। ३ दिनपछि एक्कासि मृत्यु भएको खबर आयो' आँसु पुछ्दै उनले भनिन्,‘खबर सुनेर छाँगाबाट खसे जस्तो भएँ। काखमा सानो छोरा थियो। म सम्हालिनुकाे विकल्प थिएन।’ 

घरकाे आर्थिक अबस्था कमजोर भएकाले मानबहादुर २०७६ मा कतार उडेका थिए। सुनिताले परिवारको गर्जाे टार्न विदेशिएका श्रीमानको सास त के लास पनि देख्न पाइनन्। 

बुटवलकी कमला अधिकारी पनि वैदेशिक रोजगार बोर्ड परिसरमा भेटिइन्। वैदेशिक रोजगारीको खोजीमा २०७५ मा कुवेत गएका उनका श्रीमानको गत फागुनमा मृत्यु भयो।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा मुत्यु भए परिवारलाई सान्त्वना स्वरूप बाेर्डले रकम उपलब्ध गराउँदै आएको छ। सोही रकमका लागि कमला बोर्डमा आएकी हुन्। 

सुनिता र कमला जस्ता वैदेशिक रोजगारीका सिलसिलमा आफन्त गुमाउनेहरू दैनिक ५० औं काे संख्यामा बाेर्डमा आउने गर्दछन्। वैदेशिक राेजगारीका सिलसिलामा मृत्यु भएकाका आफन्तबाहेक अंगभंग,अलपत्र परेका लगायतका समस्या बोकेर बोर्डको कार्यालय धाउनेकाे संख्या दिनप्रतिदिन बढ्दाे छ।

बाेर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका र शव नेपाल ल्याएका परिवारलाई सात लाख र कोभिडका कारण मृत्यु भई विदेशमा नै दाहसंस्कार गरिएका परिवारलाई साढे सात लाख उपलब्ध गराउँदै आएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए। 

मृतकका परिवारलाई गरिने आर्थिक सहयोगका लागि बोर्डको कार्यालय नै धाउनु पर्ने अवस्था नरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए।

उनले भने,‘स्थानीय तहको कार्यालयमा गई सम्पूर्ण विवरणसहित बोर्डको मेलमा पठाउन सकिन्छ।' सरकारले दिने रकम चेकमार्फत नभई स्थानीय सरकारले उपलब्ध गराएकाे मृतकको नजिकको आफन्तको खातामा पठाइने गरिएकाे पनि उनले सुनाए।

काेराेनाकाे अवधिमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक हजार २ सय १३ परिवारलाई आर्थिक सहयोग गरिसकेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। 

‘कर्मको फल मीठो हुन्छ’ भनेर बिदेसिएकालाई ‘भाग्य’ले ‘मृत्यु’को बिल्ला भिराएर फर्काउँछ। विदेशबाट फर्किने बासकहरूमा शव मात्र हैन, अधुरा र अपूरा सपना पनि फर्किन्छन्।

काेराेनाले गर्दा कतिपय नेपालीको त शव समेत आफन्तले देख्न पाउँदैनन्। हाल कोभिडका कारण विदेशमा मृत्यु भएकाको शव उतै अन्त्येष्टि गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.