|

काठमाडौं :  गीत अब केबल सुन्ने विषय मात्र बनेन। हेर्ने साधन पनि बनेको छ। गीतलाई चर्चामा ल्याउन भिडियोको भूमिकालाई अपरिहार्यताको रूपमा लिन थालिएको छ। त्यसैले त अचेल गीतमा स्तरिय भिडियो बनाउन लगानी गर्नेको कमी छैन। कलाकारको छनोटदेखि लिएर लोकेशन छनोटलाई पनि महत्वपूर्ण रुपमा लिने गरिएको छ।

ती लोकेशन र कथाका पात्रलाई दृश्यमा उतार्ने अर्को व्यक्ति हो क्यामेराम्यान। काँचको पर्दामा दृश्य उतारेर दर्शकलाई आकर्षित गर्नु उनीहरूको मुख्य काम हो। क्यामरा केवल दृश्य उतार्ने सामान मात्र नभएर यसतर्फ आकर्षित व्यक्तिले आफ्नो कला देखाउने चिज हो। फरक फरक एंगल र आकर्षित बनाउन क्यामराको महत्व छ। त्यो भन्दा बढि महत्व क्यामरा चलाउने व्यक्तिको छ।  

गीतको भिडियोमा अभिनय गर्ने व्यक्ति सेलिब्रेटी बन्छ। तिनै सेलिब्रेटीलाई क्यामरामा उतार्ने क्यामराम्यान नी?

भिडियो निर्माण गर्न उल्लेख्य मिहिनेत गरिरहेका पर्दा पछाडिका व्यक्तिको चर्चा भने खासै सुनिएको पाइदैन।  उनीहरू सधैं पर्दापछाडि रमाउँछन्। काम गर्छन्। अनि दर्शकलाई गीततर्फ आकर्षित गरिदिन्छन्।

पात्रहरूले निभाएका चरित्रमा कलाकारको दुख हामीले देख्छौँ। महसुस गर्छौं। तिनै कलाकारहरूलाई खिच्ने क्यामेराम्यानको दुख: त्यो भन्दा बढि हुने गर्छ। तर उनीहरूलाई लाइमलाइटमा आउने न लोभ छ, न त कुनै चर्चाको भोक । उनीहरूको तर्क हुने गर्छ, 'हामीले गर्ने कामले दर्शक आकर्षित हुनुपर्छ। दर्शकले मन पराइदिनु नै हाम्रा लागि खुशीको कुरा हो।'

क्यामराको मुल्यको तुलनामा उनीहरूले पाउने पारिश्रमिक कम नै छ। जसले गर्दा यसतर्फ आकर्षित भएका व्यक्तिहरू म्युजिक भिडियो निर्माणका साथसाथै डकुमेन्ट्री निर्माण र 'वेडिङ' भिडियोमा पनि काम गरिरहेका छन्।  

अहिले धेरै युवा म्युजिक भिडियोमा दृश्य खिच्न यसतर्फ छन्।  आकर्षक तरिकाले म्युजिक भिडियोमा क्यामरा चलाउने युवा मध्ये एक हुन्  योगेश दाहाल।

विगत ५ वर्षदेखि म्युजिक भिडियो र डकुमेन्ट्री खिचिरहेका उनी व्यावसायिक क्यामेरापर्शन हुन्।

झापा स्थायी बासिन्दा उनी चर्चित गीत 'छोटो छ जिन्दगी फोटो खिचेर राख'को म्युजिक भिडियोमा क्यामरा चलाएका थिए। अछामदेखि राजस्थानसम्म दृश्य देखाइएको गीत हिट भयो। त्यसमा दाहालको भिडियोलाई पनि दर्शकले मन पराए। तर, कसले खिचिरहेको छ भन्ने हेक्का सायदै कसैले गर्‍यो। दाहाल भन्छन्, 'पर्दा पछाडिको विशेषता नै यहि हो। यहाँ काम हेरिन्छ। नाम भने हेक्का हुँदैन।'

हालसम्म ३५ वटा भन्दा बढि म्युजिक भिडियोमा दृश्य खिचेका उनका तीन वटा भिडियो आउने क्रममा छन्।

उनको बुझाईमा एउटा म्युजिक भिडियोको लागि क्यामेराम्यान भनेको भिडियोको मेरुदण्ड हो। 'भिडियो खिच्नु भनेको केबल कुनै चिजलाई काँचको पर्दामा मात्र उतार्नु होइन्। त्यो परिवेश र कथालाई समेत खिच्नु हो', उनी भन्छन्।

कतिपयलाई क्वालिटी भिडियो निर्माण गर्न एड्भान्स क्यामराको आवश्यक हुन्छ। जुन महंगो हुन सक्छ भन्ने लाग्न सक्छ। तर दाहाल भने यस विषयलाई फरक तरिकाले बुझाउने कोशिष गर्छन्। 'आकर्षक भिडियो निर्माण गर्न एड्भान्स क्यामरा मात्र भएर हुँदैन। विषयवस्तुको माग र तपाईँको क्षमता मुख्य कुरा हो', उनी भन्छन्, सामान्य क्यामराले पनि कथाको माग अनुसार चित्र उतार्न सकिन्छ।'

त्यस्तै, पछिल्लो समय खुबै चर्चामा आएको अर्को गीत थियो, 'रेलको बाटो।' यो गीतलाई पनि दर्शकले खुबै मन पराए। यो गीतको दृश्य से-फोक्सुण्डो र डोल्पाका मनोरम गाउँमा खिचिएको हो। यो गीतको भिडियोलाई पनि दर्शकले खुबै मन पराए। यसमा क्यामरा चलाउने व्यक्ति थिए-भीमसेन कल्याण ठकुरी।

विगत ११ वर्षदेखि क्यामरा चलाउँदै आएका उनले करिब २ सय भन्दा बढि गीतमा दृश्य खिचेका छन्। रूकुमका उनी म्युजिक भिडियोमा काम गर्नु आर्थिक सम्पन्नताको लागि भन्दा पनि रहर मुख्य रहेको बताउँछन्।

अहिले दाङमा बसेर भिडियोमा काम गरिरहेका उनले स्थानीय गीतमा दृश्य खिच्ने काम गरिरहेका छन्। उनी भन्छन्,  'अहिले कोरोनाको कारण काठमाडौं आउन सकिएको छैन। केहि प्रोजेक्टहरू दाङमा नै गरिरहेको छु।'

स्थानीय रूपमा निर्माण गरिएका थारू गीतमा पनि उनले क्यामरा चलाएका छन्। अचेल गीत र भिडियो निर्माण तिव्र गतिमा भइरहेको छ। जसले गर्दा पर्दा पछाडिका प्राविधिकहरूले पनि प्रशस्त काम पाइरहेका छन्। के उनीहरूले काम अनुसारको रकम पनि प्राप्त गर्छन् त? 'यो सामुहिक कार्य हो। दुख अनुसार पारिश्रमिक पाउन अलि कठिन छ', ठकुरी भन्छन्, 'यसका बाबजुद 'देशका विभिन्न भूभाग घुम्नु, फरक समुदायसँग नजिकिने अवसर पाइने कुरा महत्वपूर्ण छ।'

म्युजिक भिडियो सुट पार्टटाइम मात्र काम रहेको ठकुरी बताउँछन्। उनी भन्छन्, 'अन्य सुटहरूमा आर्थिक रुपले पनि राम्रै कमाइ हुन्छ। म्युजिक भिडियो कमाई कम भएपनि ठूलो क्षेत्रमा आफ्नो काम देखिने भएकोले केहि केहि फाइदा हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.