१५ दिनभित्र जवाफसहित कागजात पठाउन निर्देशन
१५ दिनभित्र जवाफसहित कागजात पठाउन निर्देशन
भरतपुर : कानुनविपरीत जग्गा प्लटिङ र अनधिकृत रूपमा सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी नगरपालिकालाई पत्र काटेको छ।
जग्गा कित्ताकाट, प्लटिङ र सार्वजनिक जग्गा भाडामा लगाएको विषयमा उजुरी परेपछि अख्तियारले 'एक्सन' लिएको हो।
नगरपालिकाले संघीय सरकारको निर्देशन र कानुनविपरीत जग्गाको कित्ताकाट र प्लटिङ गर्न दिएको अनुमति र मनोमानी ढंगबाट सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगालले जवाफ माग गरेको हो।
पत्र प्राप्त भएको १५ दिनभित्र जवाफसहित कागजात पठाउन भन्दै अख्तियारले साउन ८ गते पत्र काटेको हो। नगरपालिकामा भने साउन २४ गते मात्रै पत्र दर्ता भएको छ।
अख्तियारले नगरपालिकालाई काटेको पत्रमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जग्गा अनधिकृत रूपमा भाडामा लगाएको, नगरपालिकाले नगरका ६ स्थानका सार्वजनिक जग्गाहरू नियमविपरीत भाडामा लगाएको र वडा नम्बर ५ को ५० बिघा जग्गा एनआरएनको पार्टनर्सलाई ४९ वर्षका लागि भाडामा लगाएको भन्ने जस्ता उजुरी परेको उल्लेख छ।
अख्तियार कार्यालयमा माडी नगरपालिका–३ को कित्ता नम्बर ३९ को १६ बिघा १ कट्ठा दुई धुर जग्गा 'ट्वान्टी वान ग्रुप'लाई आवासीय प्रयोजनका लागि कित्ताकाट तथा प्लटिङका लागि स्वीकृति दिएको भनी उजुरी परेको पत्रमा भनिएको छ।
वडा नम्बर ३ कै कित्ता नम्बर १३१ को ४० बिघा जग्गा नगरपालिकाको स्वीकृतिमा प्लटिङ भएको विवरण पनि अख्तियारको पत्रमा छ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ रोकेको समयमा पनि माडीका विभिन्न स्थानका जग्गा प्लटिङका लागि सिफारिस र स्वीकृति गरेको, नगरपालिकाभित्रको जग्गा कित्ताकाटका लागि माडीको नापी तथा मालपोत कार्यालयको पनि चलखेल भएको भनेर उजुरी परेको अख्तियारले लेखेको पत्रमा उल्लेख छ।
‘उजुरीमा औंल्याइएका नगरपालिका भित्रका विभिन्न स्थानमा प्लटिङका लागि अनुमति दिइएको तथा विभिन्न स्थानका जग्गाहरू मनोमानी लिज भाडामा लगाएको साथै भूमिसुधार मन्त्रालयबाट कित्ताकाट रोकिएको समयमा पनि नापी तथा मालपोत कार्यालय माडीमा कित्ताकाट तथा प्लटिङ जारी रहेको विषयमा के कसो भएको हो? त्यहाँ कार्यालयको यकिन राय प्रतिक्रियासहितको जवाफ पत्र प्राप्त भएको मितिले १५ दिनभित्र आयोगको अनुसन्धान महाशाखा नम्बर २ मा उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ।
जवाफ दिने तयारीमा छौं : नगर प्रमुख
नगर प्रमुख ठाकुर प्रसाद ढकालले अख्तियारले काटेको पत्रको जवाफ दिने तयारीमा रहेको बताए। ‘अख्तियारले अतिगोप्य भनेर पठाएको छ। त्यसभित्रको कुरा भन्न नैतिकताले मिल्दैन। तर पत्रको प्रत्युत्तर दिने तयारीमा छौँ’, उनले भने।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले अख्तियारले माडी नगरपालिकालाई जग्गा प्लटिङ र सार्वजनिक जग्गा भाडाका विषयमा पत्र काटेको स्वीकार गरे। ‘जग्गा प्लटिङ र लिजबारेमा राय पठाइदिन भनेको रहेछ। पत्रमा भनेअनुसार १५ दिनभित्रै त्यसको राय पठाउने तयारीमा छौँ, पठाउँछौँ’, उनले भने।
अख्तियारले 'अति गोप्य' भनेर पठाएको पत्र मिडियामा कसरी पुग्यो भनेर उनले गुनासोसमेत गरे। आर्थिक चलखेल गरेर जग्गा कित्ताकाट र प्लटिङ गर्न दिएको भन्दै केही दिनअघि वैद्य माओवादीले 'ट्वान्टी वान ग्रुप'को जग्गामा पार्टीको झण्डा गाडेर जग्गा कब्जा भएको घोषणा गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।