|

काठमाडौं :   साहित्यकार एवं पूर्वमुख्यसचिव भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ सार्वजनिक गरिएको छ। बिहीबार भर्चुअल माध्यम जुमबाट नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन्।

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’की प्रमुख पात्र इन्द्रमायालाई केन्द्रमा राखेर लेखिएको ‘इन्द्रमाया’ उपन्यासमाथि समालोचकद्वय साधना प्रतीक्षा र महेश पौड्यालले टिप्पणी गरेका थिए।

समीक्षक साधनाले बीपी कोइरालाको उपन्यासकी एक विद्रोही र सचेत पात्र इन्द्रमायालाई भोजराज घिमिरेले पुनः सशक्त जीवन दिएको बताइन्। उपन्यासको भाषा, शिल्प र कला पक्षमा टिप्पणी गर्दै साधनाले इन्द्रमाया नेपाली समाजको समग्र चित्र भएको उल्लेख गरिन्।

अर्का समीक्षक महेश पौड्यालले इन्द्रमायामा बीपीकी प्रिय पात्र इन्द्रमायालाई भोजराज घिमिरेले अत्यन्त न्याय गरेको बताए। पौड्यालले पूर्वकथा र पूर्वपात्रहरूललाई नयाँ परिवेशमा नयाँ शिल्प र सौन्दर्यका साथ प्रस्तुत गर्ने काम सजिलो नभए पनि भोजराज घिमिरेले उठाएको जोखिम प्रशंसनीय भएको उल्लेख गरे।

साहित्यकार एलबी क्षत्रीले ऐतिहासिक पात्र र कथनको नयाँ निर्माण रोचक र जानकारीमूलकका साथै जीवन्त हुने धारणा राखे। प्रस्तुतिको शिल्प र कोणले हरेक पुराना पात्र र कथा नयाँ रूपमा आउन सक्ने उनको भनाइ थियो।

बीपी कोइरालाकी पात्र इन्द्रमाया पनि जुनकुनै लेखकले आफ्नो पात्र बनाएर प्रस्तुत गर्न सक्ने पात्र भएको उनले बताए। समीक्षक तथा पुस्तक ‘इन्द्रमाया’का सम्पादक घनेन्द्र ओझाले लामो समय सरकारी सेवामा बिताएर उच्चप्रशासक र कुशल कूटनीतिज्ञका रूपमा सफल भोजराज घिमिरे अवकासपछि पूर्णकालीन लेखक भएका र उनका हरेक वर्षजसो नयाँ कृति आइरहेका उल्लेख गरे।

यसअघि नै गीत, गजलका पुस्तक र एल्बम प्रकाशन गरिसकेका घिमिरेको दोस्रो आख्यान कृति इन्द्रमाया भएको बताउँदै ओझाले इन्द्रमायामा घिमिरेले ५० वर्षअघिको नेपाली सामाजिक, राजनीतिक परिवेशका साथै लैंगिक विभेद, कर्मचारीतन्त्रको अवस्था, महिला र पुरुष दुवैको सूक्ष्म यौन मनोविज्ञान प्रस्तुत गरेको बताए। त्यसबेलाको समाजमा रहेको उच्च मानवीयताको उदाहरण पनि इन्द्रमायाका पात्रहरूमार्फत् देखाएको ओझाको भनाइ थियो।

 गीतकार, कवि तथा पूर्वमुख्यसचिव डा. विमल कोइरालाले बीपीका कृतिलाई पर्गेलेर बीपीका पात्रहरूलाई टिपेर सुन्दर शिल्पमा सर ढंगले लेख्न सक्नु घिमिरेको विशेष खुबी भएको बताए। प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो कालखण्ड सरकारी सेवामा बिताएर निवृत्त भएको एउटा व्यक्तित्वले अवकासपछिको सम्पूर्ण ऊर्जा र समय साहित्यमा लगानी गर्नु साँच्चै उदाहरणीय भएको बताए। कुलपति उप्रेतीले भोजराज घिमिरेको अध्ययन, अनुसन्धान गर्ने जाँगर र परिमार्जन अनि परिष्कार गरिरहने स्वभावले नेपाली साहित्यमा नयाँ चिज आइरहने धारणा राखे। उपन्यासकार घिमिरेले आफ्नो रुचि र समय कटाउने सबै कुरा अहिले लेखन नै भएको उल्लेख गर्दै कविताबाट गीत, गजल हुँदै अहिले आख्यानमा सक्रिय रहेको बताए।

बीपीका कृतिहरू र तिनका पात्रबाट आफू धेरै नै प्रभावित भएका कारण यो पुस्तक लेखिएको उनको भनाइ थियो। शिखा बुक्सले प्रकाशन गरेको इन्द्रमायाको मूल्य ४९९ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.