|

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकता नदिएका कारण सरकारले पूर्णता पाउन नसकेको सत्ता साझेदार दलहरुले संकेत गरेका छन्। 

सत्तारुढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवाले कुन मन्त्रालय कसलाई दिने भन्ने नटुंग्याएकाले नयाँ सरकार बनेको एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन्।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख नेताहरुबीच छलफल भइरहे पनि टुंग्याउन नसकेका कारण आफ्नो पार्टीमा यो बिषयले प्रवेश पाउन नसकेको बताए ।

‘अहिलेसम्म कुन पार्टीलाई कति मन्त्रालय र कुन मन्त्रालय भन्ने नै विभाजन भएको छैन, त्यसबारेमा शीर्ष नेताहरुबीच छलफल भए पनि टुंगिन सकेको छैन, त्यसैले मन्त्रिपरिषद् विस्तारकाे  विषय पार्टीका बैठकहरुमा प्रवेश हुन सकेकाे छैन।' श्रेष्ठले भने, ‘यो विषय अव छिटै टुंगिने छ।’

केहीसमय अघि जनता समाजवादी पार्टीको आधिकारिकता विवाद नटुंगिनु र एमाले नेता माधवकुमार नेपाल समूहले समय मागेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका सत्तासाझेदार दलहरुले अहिले भने प्रमुख सत्तारुढ दल कांग्रेसमाथि औंला तेर्स्याएका छन्।

कांग्रेसले पनि यो विषयमा अहिलेसम्म आन्तरिक छलफल नभएकाले केही समय लाग्ने बताएको छ। माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा सरकार सहभागी नहुने लगभग निश्चित हुँदा पनि कांग्रेस र माओवादी केन्द्रले मन्त्रीकाे टुंगो लगाउन सकेका छैनन्। जसपाले अझैं एक साता लाग्न सक्ने बताएको छ। 

कांग्रेस सांसद पार्वता डिसी चौधरीले मन्त्रिपरिषद् विस्तार हुन नसक्नु कांग्रेसलाई सिध्याउने खेल त होइन ? भन्ने आशंका गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद चाैधरीले यो सरकार बनाउन सघाउनेहरुप्रति प्रश्न उठाइन्। 

‘नेकपा माओवादी, जसपा, पूर्वप्रधानमन्त्री माधव नेपालहरुकै सहयोगबाट यो सरकार बनेको हो, एक महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नुको दोष उहाँहरुको नै हो, उनले भनिन्, ‘यो सरकार कुन परिस्थितिमा कसरी बन्न पुग्यो, त्यसलाई मध्यनजर गरेर उहाँहरुले सरकारलाई पूर्णता दिनुस्, होइन भने नेपाली जनताले हेरिरहेका छन्, कसैलाई छोड्नेवाला छैनन्, नेपाली कांग्रेसलाई सिध्याउने खेल त होइन भन्ने मलाई आशंका लागिरहेको छ।’

देउवाले असार २९ गते शपथसँगै कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना गरी चार मन्त्री नियुक्त गरेका थिए। गठबन्धन दलमा आकांक्षी धेरै हुँदा भागबण्डा मिल्न नसकेपछि झण्डै दुई साता पछि साउन ११ गते देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.