विद्यार्थी र प्राध्यापक आन्दोलनमा, चौतर्फी घेराबन्दीमा उपकुलपति

|

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।

आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।

संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्। जारी विद्यार्थीको आन्दोलनमा प्राध्यापकहरू पनि सहभागी भएका छन्।

आन्दोलनमा सुनिने मुख्य माग भनेको उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको राजीनामा हो। विद्यार्थीसँगै (च्याप्टर कन्ट्रयाक्ट) निश्चित समयका लागि अर्थात कुनै विषयमा कुनै पाठ मात्र पढाउनका लागि नियुक्त गरिएका प्राध्यापकहरू पनि आन्दोलनमा उत्रिएका छन्।

उनीहरूको माग भनेको आफूहरूलाई पनि विश्वविद्यालयमा जागिरको सुनिश्चिता गर्नु भन्ने छ। आन्दोलनका कारण परीक्षाहरू सञ्चालन हुन सकिरहेका छैनन् भने पठन–पाठनमा अवरोध सिर्जना भइरहेको छ। विद्यार्थीको माग अनुसार विश्वविद्यालय भने कुनै हालतमा अनलाइनको माध्यामबाट परीक्षा सञ्चालन नगर्ने बताउँदै आएको छ।  

विद्यार्थी रिले अनशनमा

विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले साउन २० गते अनिश्चितकालका लागि सुरू गरेको रिले अनशन जारी छ। अनलाइन परीक्षा लिनुपर्ने लगायतका विभिन्न १८ बुँदे माग राख्दै साउन ३ गते देखि संयुक्त विद्यार्थीले आन्दोलन सुरू गरेका हुन्।

विद्यार्थीले राखेका मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै रिले अनशन सुरू गरेको विद्यार्थीले जनाएका छन्। विश्वविद्यालय अनेरास्ववियूका इन्चार्ज मोतीराम रम्तेलले विद्यार्थीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए।

उ​नले आन्दोलन रोक्नको लागि विश्वविद्यालयले अनलाइन परीक्षा गर्न सकिँदैन भने पनि अन्य १८ बुँदे माग पुरा गर्छौ भनेर विज्ञप्ति निकाल्नु पर्ने बताए। उक्त माग पुरा नभए सम्म आन्दोलन जारी रहने इन्चार्ज रम्तेललेको भनाइ छ।

संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, क्रान्तिकारी अनेरास्ववियू र अखिल (छैटौं) गरी चारवटा संगठन एक महिनादेखि आन्दोलनमा छन्।

१८ बुँदे मागमा छात्रवृत्तिलाई २० प्रतिशत पुर्‍याउनुपर्ने, १० प्रतिशत शुल्क वृद्धि खारेज गरिनुपर्ने, रोकिएका सम्पूर्ण परीक्षाहरू सञ्चालन गरिनुपर्ने, इ–लाइब्रेरी, वीवीए, एमवीएमा भएको आर्थिक अनियमितता छानबिन गरिनुपर्नेलगायत छन्।

आन्दोलन प्राध्यापक पनि मिसिए

विद्यार्थीसँगै आंशिक र करार सेवामा कार्यरत प्राध्यापकहरू पनि मिसिएका छन्। त्यसैमा च्याप्टर कन्ट्याक्ट प्राध्यापकलेसमेत आन्दोलन घोषणा गरेका छन्।

करार र अस्थायी प्राध्यापकले गर्दै आएको आन्दोलनमा उनीहरू पनि सहभागी छन्। च्याप्टर कन्ट्याक्ट प्राध्यापकको माग पनि आंशिक, करार हुँदै स्थायी नियुक्ति गर्नुपर्ने छ।

‘विश्वविद्यालयले च्याप्टर कन्ट्याक्ट प्राध्यापकलाई पनि आंशिक, करार हुँदै स्थायी नियुक्ती दिनुपर्छ’ च्याप्टर कन्ट्याक्ट प्राध्यापक संघका अध्यक्ष ध्रुवेन्द्र भट्टराइले भने,‘अन्य प्राध्यापकको जे माग छ, हाम्रो माग पनि त्यही हो।’

यस्तै नेपाल प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरूङले पनि उपकुलपतिले क्याम्पसमा कर्मचारीका रूपमा आफ्ना मान्छेको भर्ती केन्द्र बनाएको र इमान्दारिताका साथ आफ्नो जिम्मेवारी सम्हालेका कर्मचारीमाथि दमन गरेर कारबाही गरेको आरोप लगाए।

विश्वविद्यालयका करार र आंशिक प्राध्यापकहरूले विभिन्न माग राख्दै दुई हप्तादेखि आन्दोलन जारी राखेका छन्। यसअघि नै प्रजातन्त्रवादी प्राध्यापक संघले १३ बुँदे र नेपाल राष्ट्रिय प्राध्यापक संघले १५ बुँदे माग राखेर आन्दोलन थालेका छन्।

दुबै संगठनले प्राध्यापकहरूको रोजगारीको सुनिश्चितता हुनेगरी सम्पूर्ण आंशिक प्राध्यापकलाई करार, करार प्राध्यापकहरूलाई सिधै स्थायी गर्नुपर्ने र प्राध्यापक ई.विश्वनाथप्रसाद यादवको पुनर्वहालीको मुख्य माग राखेका छन्।

उनीहरूको मागलाई बुधबारदेखि आंशिक प्राध्यापक संघ, करार प्राध्यापक संघ, च्याप्टर कन्ट्रयाक्ट प्राध्यापक संघले पनि ऐक्यबद्धता जनाएका छन्।

पाँच वटै प्राध्यापक संगठनहरूको पहिलो माग विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा छ। उपकुलपतिले पदीय मर्यादा राख्न नसकेको र गुण्डागर्दी शैलीमा उत्रिएको लगायतका आरोप लगाउँदै उनीहरूले राजीनामा माग गरेका छन्। 

चौतर्फी घेराबन्दीमा उपकुलपति सिंह   

उपकुलपति सिंहविरूद्ध चौतर्फी घेराबन्दी भएको छ। चार विद्यार्थी संगठन र दुई वटा प्राध्यापक संगठनले थालेको आन्दोलनमा आंशिक प्राध्यापक संघ, करार प्राध्यापक संघ, च्याप्टर कन्ट्रयाक्ट प्राध्यापक संघ पनि थपिएका छन्।

योसँगै विभिन्न ९ संघ–संगठनहरू उपकुलपतिविरूद्ध उभिएका हुन्। सबैको मुख्य माग उपकुलपतिको राजीनामा नै हो। विश्वविद्यालयको समस्या समाधान हुनुको साटो थप बल्झिँदै गएको छ।

प्राध्यापकहरू उपकुलपतिविरूद्ध जनमत जुटाउन लागि परेका छन्। उपकुलपतिलाई राजीनामा दिन बाध्य बनाउने उद्देश्यले उनीहरूले विभिन्न पेशागत संघ, संगठन, राजनीतिक दल, बुद्धिजिवीलगायतका पेशागत संघ–संगठनसँग समर्थन जुटाउने प्रयास थालेका छन्।

जसअनुसार पाँच वटा प्राध्यापक संघ–संगठनहरूले विश्वविद्यालयका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने, प्रदेश सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउने, प्रदेशस्तरीय नेताहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने जनाएका छन्।

त्यस्तै नागरिक अगुवा तथा विश्वविद्यालय स्थापनाको लागि सहयोग गर्ने चन्दा दाताहरूसँग परामर्श गर्ने, विश्वविद्यालयका प्राध्यापक र कर्मचारीसँग बृहत भेला गर्ने र सम्पूर्ण आंगिक क्याम्पसमा क्रियाशील संगठनका नेताहरूसँग अन्तरक्रिया गर्ने घोषणा समेत भएको नेपाल प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरूङले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.