|
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवन। फाइल तस्वीर

काठमाडौं : चारदलीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक महिना पुगेको छ। तर, उनले अझैसम्म मन्त्रीपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्‌। 

यतिखेर देउवा आफैँले १७ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्‌। विभागीय मन्त्री नहुँदा विभिन्न मन्त्रालयमा नीतिगत निर्णय नै रोकिने अवस्था निम्तिएको छ। तर, मन्त्रिपरिषद्‌ विस्तार हुने छाँटकाँट अझै देखिँदैन। विगतको सरकारकै पालादेखि केही मन्त्रालय मन्त्रीविहीन छन्‌।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.वुद्धिसागर पौडेल दुई महिनायता मन्त्रालयको मुख्य जिम्मेवार व्यक्ति बिनै काम गरिरहेको बताउँछन्‌। मन्त्रालयका नीतिगत निर्णय र प्रस्तावहरू मन्त्रीपरिषद्‌मा लैजानेदेखि निर्देशन तथा निर्णय हुनुपर्ने, तर विभागीय मन्त्री नहुँदा ढिलाइ हुने गरेको उनको भनाइ छ।

मन्त्रालयका धेरैजसो काम भने ऐन, नियम र कार्यविधि र निर्देशिकाले निर्दिष्ट गरेअनुसार भैरहेका उनले बताए।

‘दुई महिनाजति हामीले मन्त्रालयको मुख्य नेतृत्व (मन्त्री ज्यू) बिनै काम गरिरहेका छौँ। नियमित कामहरू ऐन, नियम र कार्यविधि र निर्देशिकाले निर्दिष्ट गरेअनुसार नै अघि बढेका छन्। त्यस्ता काम गर्न खासै समस्या भएको छैन। तर, कतिपय नीतिगत निर्णयहरू, मन्त्रीपरिषद्‌मा लैजाने प्रस्तावहरूमा विभागीय मन्त्रीबाट नीति निर्देशन तथा निर्णय हुनुपर्ने हुन्छ। त्यसमा अलिकति समस्या परेको छ,’ सहसचिव पौडेलले थाहाखबरसँग भने, ‘विभागीय मन्त्री हुँदा छलफल गरिराख्थ्यौँ। अरू विभिन्न विषयमा अन्तरक्रिया गरिराख्थ्यौँ। त्यसरी अघि बढेकोमा अहिले विभागीय मन्त्री नहुँदा अलिकति ढिलाइ भइरहेको छ।’

वन नियमावली र अरू पनि नीतिगत विषय टुङ्‌गो लगाउनुपर्ने भएपनि थाती नै रहेको उनले बताए। थपे, ‘जरुरी विषयमा अहिले मुख्य सचिव र प्रधानमन्त्रीज्यू ले गरिरहनुभएको छ। तर, दिनदिनै उहाँकहाँ जानुपर्दा त्यत्ति सहज नहुँदो रहेछ। अहिले हामीले अलिकति कुरा गर्नु पर्ने र फाइल लिएर जानु परिरहेको छ।’

मन्त्रालयमा विभागीय मन्त्री नहुँदा महत्वपूर्ण विषयहरू नै भने नरोकिएको सम्बन्धित मन्त्रालयका अधिकारीहरूले बताएका छन्। यद्यपि; उनीहरूले मन्त्रालयमा मन्त्री नहुँदा त्यत्ति सहज महसुस भने गरेका छैनन्‌। ​मन्त्रालयका अधिकारीहरूले यतिखेर मन्त्री कुरिरहेका छन्। उनीहरूले मन्त्रालयका विभिन्न विषयमा छलफल एवम्‌ अन्तरक्रिया गर्न पाएका छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले पनि विभागीय मन्त्रीको आवश्यकता खट्किएको बताए।

‘मन्त्रीज्यू मन्त्रालयको विभागीय अभिभावक हो। विभागीय अभिभावक नहुँदा विशेषगरी नीतिगत रूपमा निर्णय गर्नुपर्ने विषयमा समस्या पर्छ नै! त्यो एउटा पाटो भयो। अर्को चाहिँ हिजोको संरचना र अहिलेको संरचना फरक हो। त्यो कारणले पनि हामीले मन्त्री ज्यूको आवश्यकता महशुस गरेका छौँ। अहिले आउने हाम्रो विभागीय मन्त्रीज्यूको निर्देशन, उहाँको मन्त्रालय चलाउने एक खालको प्रणाली कस्तो हुन्छ भन्ने विषयको पनि हामी प्रतिक्षा छौँ। त्यो कारणले पनि नीतिगत निर्णय गर्नुपर्ने विषयमा मन्त्रीको आवश्यकता एकदमै अपरिहार्य छ,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले हामीसँग मन्त्रालय हाँक्ने हिसाबमा सचिव ज्युले नेतृत्व त गरिरहनुभएको छ, तर पनि कामको चापका हिसाबले मन्त्रीज्यूको नै आवश्यकता छ।’

नाम नबताउने सर्तमा एक मन्त्रालयका प्रवक्ताले भने अहिले प्रधानमन्त्रीले नै धेरै मन्त्रालय सम्हालिरहेको अवस्थामा समय पाउनै मुस्किल हुने गरेको गुनासो गरे। उनले पनि मन्त्रालयमा विभागीय मन्त्री हुँदाको जस्तो सहज अवस्थामा काम हुन नसकेको बताए।

मुलुकले अहिले कोरोना महामारीको संकट पनि झेलिरहेको छ। यो महामारी नियन्त्रण निम्ति पनि स्वास्थ्य मन्त्रालय सबैको नजरमा छ। तर, त्यहाँ पनि विभागीय मन्त्री छैनन्‌।

​प्रधानमन्त्री देउवाले उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका छन्‌। तर, उनलाई नीतिगत निर्णयको अधिकार प्रत्यायोजन गरिएको छैन। मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले भने काम गर्न खासै समस्या नभएको बताए।

‘अहिलेलाई त्यस्तो खासै कठिनाइ देखिँदैन। यद्यपि; स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने केही नीतिगत विषयहरू, जुन मन्त्रीपरिषद्‌मा लैजानुपर्ने हुन्छ-त्यसका लागि मन्त्रीकै रूपमा पनि प्रधानमन्त्रीज्यू रहनुभएकाले हामीलाई खास समस्या छैन,’ उनले भने। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि मन्त्रीविहीन छ। महामारीले पारेको प्रभाव र रोजगारीमा देखिएका समस्या समाधान गर्न यो मन्त्रालयको महत्व निकै छ। यस्तो अवस्थामा पनि यो मन्त्रालय मन्त्रीविहीन छ।

तर, मन्त्रालयका प्रवक्ता भने दीपक काफ्ले भने मन्त्री नहुँदा कामै नहुने भन्ने अवस्था नरहने बताउँछन्‌। मन्त्रालय कहिल्यै खाली नहुने उनको तर्क छ। काम गर्न कुनै समस्या नभएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.