|

बैतडी : काम गरेको पैसा नपाएको भन्दै पाटन नगरपालिका-९ को वडा कार्यालयमा कामदारहरूले सोमबार तालाबन्दी गरेका छन्। नगरपालिकाबाट भुक्तानी भइसकेको रकमसमेत आफूहरूले नपाएको मजदुरहरूको गुनासो छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामको पैसा नपाएपछि आफूहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय कर्णबहादुर विष्टले बताए। काम गराएर भुक्तानी भइसकेको रकमसमेत दिन आनाकानी गरिएको उनीहरूको गुनासो छ।

वडा नं ९ मा प्रधानमन्त्री रोजगारअन्तर्गत ४ वटा योजना सञ्चालन भएका र ती योजनाका लागि ७६ जना सूचीकृत भएका थिए। पछि वडा कार्यालयकै रोहबरमा २९५ जनालाई रोजगारी दिइएको कार्यवाहक वडाध्यक्ष इन्द्रबहादुर बोहराले बताए। नगरपालिकाबाटै ४ लाख ७२ हजार रुपैयाँ कम भुक्तानी भएकाले रकम वितरणमा समस्या भएको वडा कार्यालयले जनाएको छ।

तर कामदारहरूले भने तोकिएको ज्याला पाउनुपर्ने र भुक्तानी भएको रकम वितरण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको बताएका छन्। पाटन नगरपालिकाका विभिन्न वडामा यस कार्यक्रममा अनियमितता भएपछि रोजगार शाखामा कार्यरत प्राविधिकको करार सेवासमेत रद्ध गरिएको थियो। 

कार्यक्रमअन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिले प्राविधिक पठाउने भनेको भए पनि अहिलेसम्म नपठाएको नगरपालिकाका रोजगार संयोजक महेश पन्तले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.