|

काठमाडौं :  २०७२ को विनाशकारी भूकम्पले हजारौ संरचना ध्वस्त भए। निजी आवास, संम्पदा, सरकारी भवन भत्किए। पूर्णरुपमा ध्वस्त भएका संरचना पुनर्निमाण भए पनि आंशिक क्षति भएका संरचना भने नयाँ स्वरुपमा फर्कन सकेका छैनन्। 

भूकम्पको गएकाे ६ वर्ष वितिसक्दा पनि बाघ दरबार, हरिहर भवन, सडक विभागको भवन, बालमन्दिर लगायतका भवन उठ्न सकेका छैनन्। भग्नावशेषलाई हरियो जालीले घेरेर राखिएको छ। 

६ वर्षमा दुई ओटा मात्र सरकारी भवन प्रबलीकरण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन निर्माण विभागले जनाएको छ। क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निमाण सम्पन्न भइसकेको छ।

पश्चिम बाहेकका तीनवटा मोहडाको पुनर्निमाण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले जानकारी दिए। 

सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय प्रबलीकरणको पर्खाइमा छ। केन्द्रीय कार्यान्वयन इकाई भवनले १६ वटा सरकारी भवन प्रबलीकरणको जिम्मेवारी पाएको छ। तर हालसम्म सिंहदरबारको भवन बाहेक अन्य भवन प्रबलीकरण सम्पन्न हुन सकेका छैनन्। क्षतिग्रस्त संरचना निर्माण भइरहेको उपनिर्देशक विश्वकर्माले जानकारी दिए। 

विभागले सडक विभाग, बालमन्दिर भवन, सिंहदरबार पश्चिम मोहडा, केशर महल भवन, काठमाडौ उपत्यका खानेपानी लिमिटेड जावलाखेल, खानेपानी महाँकाल, शितल निवास, बाघ दरबार, हरिहर भवन लगायतका भवन प्रबलीकरण गर्ने जिम्मेवारी पाएको थियो। विभागले गर्ने सम्पुर्ण भवनको प्रबलीकरणको काम धमाधम भइरहेको उपनिर्देशक विश्वकर्माले जानकारी दिए। 

प्रबलीकरण गर्नुपर्ने अधिकांश भवन राणाकालीन दरबारहरू रहेका छन्। मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी पुनर्निमाण तथा प्रबलीकरण गरिएको विश्वकर्माले बताए। 

ध्वस्त भएका संरचनालाई पहिलो प्राथमिकता दिइएको प्राधिकरणका सह प्रवक्ता मनोहर धिमिरेले जानकारी दिए। उनले भने,‘प्रबलीकरण ढिला सुरु गरिएकाले सम्पन्न गर्न समय लाग्ने छ।’ पछिल्लाे समय प्रबलीकरणलाई पनि तिव्रता दिइएको छ। हाल सञ्चालन भइरहेका संरचनाहरु चालु आर्थिक वर्षमा समपन्न गर्ने लक्ष्य लिइएको छ।  

निजी आवास अन्तिम चरणमा 

भूकम्पपछिको निजी आवास पुनर्निमाण अन्तिम चरणमा रहको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार निजी आवास पुनर्निमाणमा ८ लाख २९ हजार ६ सय १२ लाभ ग्राही मध्ये ८ लाख २८ हजार ७ सय ५२ (९९.८९ प्रतिशत) ले पहिलो किस्ता लिएका छन् ।

अनुदान सम्झौता गरेकामध्ये ८ सय ६० ले मात्र पहिलो किस्ता लिन बाँकी छ । दोस्रो किस्ता लिने घरधुरी ७ लाख ४१ हजार ९ सय ९५ छन् जुन अनुदान सम्झौता गरेकामध्ये ८९.४३ प्रतिशत हो। ६ लाख ८९ हजार ५ सय ४७ ले तेस्रो किस्ता लिएका छन्। कूल अनुदान सम्झौता गरेका लाभ ग्राही मध्ये आवास पुनर्निमाण सम्पन्न गरेका र पुनर्निमाण गर्दै रहेका लाभ ग्राही ७ लाख ५७ हजार ५ सय ८१ छन्  रहेका छन्। 

७६.४४ प्रतिशत खर्च 

प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा निजी आवासतर्फ विनियोजित कूल बजेट  २३ अर्ब ८५ करोडमध्ये २१ अर्ब ५६ करोड अर्थात् ९०.४१ प्रतिशत रकम खर्च गरेको छ। त्यस्तै, समग्र पुनर्निमाण कार्यका लागि विनियोजित बजेट ६९ अर्ब ३३ करोडमध्ये ५३ अर्ब खर्च भएको छ। जस अनुरुप आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणले समग्र पुनर्निमाण कार्यमा ७६.४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भएको निषेधाज्ञाले पुनर्निमाण कार्यमा प्रभाव पारे पनि प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा प्राप्त गरेको उपलब्धि उल्लेखनीय भएको सहप्रवक्ता घिमिरेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.