आम कार्यकर्ता र देशभक्त नेपाली चिन्तित छन् : नेता बाँस्कोटा

|

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।

सरकारले दल विभाजनमा सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै  माधव नेपाल पक्षले पनि नयाँ दल खोल्ने तयारी थालिसकेको छ। संस्थापन पक्षले पनि निर्वाचन आयोगमा सदस्य संख्या अद्यावधिक गर्न पत्र पठाइसकेको छ।

एकताको प्रयास प्रयास भन्दै गर्दा पार्टी नै फुटको अन्तिम डिलमा रहेको छ। यही सेरोफेरोमा थाहाकर्मी नवीन लुइँटेलले एमाले नेता गोकुल बाँस्कोटासँग गरेको  कुराकानीको संपादित अंश :

पार्ट मिलाउन लाग्दा लाग्दै फेरि १४ जनालाई कारबाही गर्नुभएछ त?

त्यस्तो खण्ड उहाँहरूले नै सिर्जना गर्नुभयो। हामीले त धेरै सहेका थियौँ। अनेक हर्कत जनताले देखेका छन्। पहिलो हर्कत उहाँहरूले पार्टिलाई घेराबन्दी गर्नुभयो। त्यसपछि संसद विघटनपछि विपक्षीसँग मिल्नुभयो।

संसद् पुन: स्थापन भएपछि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो। उहाँहरूले विश्वासको मत दिनुभएन। त्यो नदिइसकेपछि फेरि उहाँहरूले नै संसद विघटनका लागि आधार र पृष्ठभूमि बनाउनुभयो। त्यत्तिबेला उहाँहरूले मत हालेको भए महन्त ठाकूरको नेतृत्वमा रहेको मधेसी दलले मतदान गर्ने कुरा गरिरहेकै थियो, जुन जनताले देखेकै छन्।

त्यसपछि फेरि संसद् विघटन भयो त्यसविरुद्ध उहाँहरू दलको निर्णयविपरीत निर्दलीय सांसदको हैसियतमा राष्ट्रपति कार्यालय र अदालत जानुभयो। फर्केर आएपछि उहाँहरूले एमालेको भोटबाट जितेर कांग्रेसको क्यान्डिडेटलाई पार्टी निर्णयबिना भोट गर्नुभयो।

यति सबै गर्दा गर्दै पनि हामीले आम माफी दियौँ, यस्तो हुन्छ कहिलेकाँही राजनीतिमा भनेर तैपनि पार्टी मिले मिलोस् भनेर गरेकै हो। उहाँहरू अहिले त्यो नमानेर अहिले चाँहि चलिरहेको संसद छोडेर अनि हिजो चाँहि केन्द्रीय समिति वा सांसदहरू ४० प्रतिशत कुनै दलबाट अलग बनाउन चाहे भने हुन्छन् भनेर र को ठाउँमा वा राख्दा प्रतिगामी भन्नुभयो।

अहिले त थ्रेसहोल्ड नै तोडेर ४० को त कानुनी व्‍यवस्था हो नि, तर उहाँहरूलाई जति चाहियो त्यत्ति कानुनै संसोधन गरेर २० प्रतिशत किन? १२ प्रतिशत या ७ प्रतिशत  नै भइगयो नि। त्यसैले यी र यस्ता क्रियाकलाप गरेपछि त कारबाही त गर्नैपर्ने थियो। एक हातले त ताली बज्दैन। उहाँहरूले दिनदिनै नचाहिने काम गर्ने, पार्टीलाई आफ्नो व्‍यक्तिगत हितको निम्ति उपयोग गर्न खोज्ने, अनुशासन नमान्ने गरेपछि दलीय ब्यवस्थामा दलले कारबाही गर्नु स्वाभाविक हो।

माधव नेपाल पक्षले पनि नयाँ दलको लागि तयारी गरिरहँदा पार्ट फुट्यो भन्न मिल्छ?

एमाले फुट्ने कुरा छैन, पार्टीले कारबाहीको प्रक्रिया सुरु गरिसक्यो। केही मान्छेहरूले एमाले छोड्ने जस्तो देखियो, चोइटेको जस्तो भन्न सक्नुभयो, फुट्यो भन्न मिलेन। एमाले,  एमाले नै हो,  अर्को एमाले हुन सक्दैन।

माधव नेपाल त अर्को पार्ट खोल्छु भन्नुहुन्छ त?

अर्को पार्टी त एमाले खुल्दैन नि उहाँहरूको। अर्कै केही पार्टी खुल्ला नि। एमाले त त्यही नाम राख्न पाइँदैन कि त्यो पनि कानुन मिच्नुपर्‍यो। संविधान उल्‍लंघनको प्रक्रिया वास्तवमा सुरु भयो, वास्तविक प्रतिगमन अब सुरु भयो। हामी यसको सामना गर्छौं।

दलीय व्‍यवस्थामा दलीय लोकतन्त्रलाई कमजोर बनाउने तथा जनमतलाई खण्डीत गर्ने या अपमान गर्ने हिसाबले जे गर्नुभएको छ।  ती कुराको जवाफदेयीता उहाँहरूले नै बोक्नुपर्छ। त्यसै भएर उहाँहरूले के गर्नुभयो र के गर्नुहुन्छ भन्नेमा हाम्रो चासो रहेन। हाम्रो चासो र चिन्ता के हो भने लोकतन्त्रलाई बलियो बनाउने हो। लोकतन्त्र भनेको दलबाट अभिव्‍यक्त हुन्छ। दलीय व्‍यवस्था  कमजोर भए लोकतन्त्र पनि कमजोर बन्छ।

देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको पार्ट फुटाउन बल पुग्ने राजनिक दलसम्बनधी अध्यादेश कस्तो छ?

अहिले त एमाले टुटाउनुको निम्ति, शक्ति क्षय गर्नका निम्ति गराउनु यो कांग्रेसमा हुँदैन भन्ने के छ, माओवादीमा हुँदैन भन्ने के छ अनि अरू दलमा हुँदैन भन्ने के छ र। अनि यसबाट टुक्रेपछि अर्को टुक्रा हुन्छ अनि अर्को टुक्रा पनि त्यसैगरी २० प्रतिशतले टुक्राउँदैन भन्ने के छ। के गर्न खोजेको? देउवालाई मतदान गर्दै उहाँहरूलाई  निर्दलीयताको अभ्यास भनेर हामीले भनेका थियौँ। अदालतले त्यसलाई गलत व्‍याख्या गर्‍यो।

संवैधानिक व्‍याख्या नगरी इच्छिक व्‍याख्या गर्‍यो। त्यसको विरोध जनाए पनि अदालतको फैसला हो भनेर सरकार छोड्दै आदेशको कार्यान्वयन गर्‍यौं। अर्को सरकार त परमादेशबाट भए पनि गठन त भयो।

माधव नेपाल लगायतका नेतालाई कारबाही यो राजनिक दलसम्बन्धी अध्याधे ल्याएपछि गरिएको हो कि पहिलेदेखि नै तयारी थियो?

उहाँहरूले आफ्नै पार्टीको सरकारलाई विश्वासको मत नदिएपछि नै कारबाहीको प्रक्रिया सुरु भइसकेको थियो। स्पष्टीकरण सोध्या थियौँ। अध्याधेशपछि होइन।

पार्टी किन मिलाउन सकिएन? तपाईंले त माधव नेपाल र केपओली दुवैलाई भेट्नुभएको थियो?

माधव नेपाल दिनदिनै घोर अलोकतान्त्रिक हुनुभयो। उहाँ अति संकीर्णवादी हुनुभयो र उहाँमा एमालेको मूल नेतृत्व आफू मात्रै भइरहन्छु भन्ने रहेछ। तर, पार्टीले अपनाएको डेमोक्रेटिक सिस्टममा त्यो हुन दिएन। नवौँ महाधिवेशनमा उहाँ पराजित हुनुभयो।

अनि उहाँले त्यसपछि के व्‍याख्या गर्नुभयो भने म थोरै मतले हारेँ, थोरैले हारे पनि धेरैले हारे पनि हार त आखिर हार नै हो। थोरै मतले हारेको भन्ने उहाँमा कुण्ठा रहेछ। कुण्ठा व्‍यक्त भयो। त्यही कुण्ठा पोख्न अरूको इसारामा पार्टीलाई धुलोपीठो बनाउन खोज्नुभयो।

पार्ट एकताका लागि माधव नेपालले के के माग गर्नुभएको थियो?

पार्टीभित्र आफूहरूलाई भएको कारबाही फिर्ता होस् भन्नुभयो, पार्टीले त्यो फिर्ता पनि गर्‍यो एकपल्ट। दोस्रो उहाँले कार्यदल बनाउने भन्नुभयो, त्यो पनि १० सदस्यीय बनाएर काम गरियो। फेरि तेस्रो उहाँले २०७५ जेठ २ मा फर्किनुपर्छ भन्नुभयो। उहाँका यिनै माग पार्टिले पूरा गर्‍यो।

त्यत्ति हुँदाहुँदै सूर्य चिन्हबाट राष्ट्रिय सभामा उम्मेद्वार बनेका रामबहादुर थापालाई हराउन कलम चिन्हबाट उठेका खिमलाल देवकोटा उठाउनुभयो। उहाँले विधि पद्धति र प्रक्रियाको कुरा गर्नुभयो अनि आफैँ मोनोपोली गर्नुभयो नि त। उहाँ विचारमा अडिने खालको मान्छे होइन। उहाँको कसैको उम्किनै नसक्ने माकुरी जालमा पर्नुभएको छ। पार्टीको सिद्धान्त, संगठन, विधि पद्धति र विचारको नक्कली जलप लगाएर यो सुन नै हो भनेर हिँडिरहनुभएको छ।

कसको माकुरी जालो हो त्यस्तो ?

उहाँ को कोसँग मिल्नुभएको छ, सबैलाई थाहा नै छ। एउटा उदार पुँजीवादी उहाँ समाजवादी भन्नुहुन्छ, त्योसँग मिल्नुभएको छ। राजनीतिक कार्यक्रम के  मिल्छ? आर्थिक कार्यक्रम के मिल्छ? सामाजिक न्यायको सिद्धान्त के मिल्छ? देउवासँग केही मिल्छ र। अनि फेरि अर्को कुरा प्रचण्डसँग मिलेर उहाँले पार्टी धुलो बनाउनुभयो। उहाँहरूले कब्जा गर्न खोज्नुभयो नसकेपछि विभाजनको प्रयास गर्नुभयो।

दोष माधव नेपालको मात्रै हो र केपी ओलीको छैन र?

दोष मूल नेतृत्वको पनि थियो होला। उहाँले पार्टीमा यसरी उल्‍लंघन गर्नुभयो कि फर्किएन आउन सक्ने ठाउँ नै भएन। संसदीय व्‍यवस्थामा विपक्षीलाई मतदान गरेपछि सक्यो नि त। २०५० सालमा कंग्रेसका चिरन्जीवि वाग्लेसहित ३६ जना सांसदले गिरिजा प्रसाद कोइरालाको सरकारलाई अल्पायुमै ढोलेका थिए, अहिले खोई त तिनीहरू? त्यस्तै होनि कुरा।

त्यसैले यो कसलाई पर्छ भन्दा के गर्न खोजेको हो भने एउटा बलियो राष्ट्रवादी देशभक्त, विकासप्रेमी र देशको नवनिर्माणको एजेण्डा बोकेको पार्टीलाई खतम नबनाईकन अरु यथस्थितिवादी प्रतिक्रियाबादी वा विदेशी इच्छा र इशारामा चल्ने खालका लघुताभाषी पार्टी र त्यसका नेताहरूका लागि स्पेस हुँदैनथ्यो। उनीहरूकै लागि स्पेस बनाउन यो कदम चालिएको हो , वास्तविक प्रतिगमन यही हो।

यसले पार्टका कार्यकर्तामा कस्तो प्रभाव पर्ला केही सोच्नुभएको छ?

हामीले सोचेका छौँ। तर वास्तवमै कार्यकर्ता धेरै नै दुखी छन्। नेता र देशभक्त जनता पनि दु:खी नै छन्। तर जेसुकै भए पनि तपाईलाई हिँड्दा हिँद्दै कतै ठेस लागेर लड्नुभयो भने उठ्नै नखोज्ने होइन, उपचारका लागि अस्पताल नै नजान खोज्ने होइन नि। यसको अस्पताल जनता हुन्, कार्यकर्ता हुन्। त्यहाँ गएर उपचार मर्मत सम्हार हुन्छ। नेकपा एमाले कार्यकर्तामा आधारित जनपार्टी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.