|

काठमाडौं : सपना या आकांक्षाले नयाँ भूगोल, देश र व्यक्तिसँग सम्बन्ध गाँस्ने बनाउँछ।

आखिर के छ त्यो सपनामा जसले हामीलाई जुनसुकै जोखिम उठाउन उत्प्रेरित गर्छ? जवाफ खोज्दै गरौं है।

सपना त्यस्तो चीज हो, जसले तपाईंको क्षमता चिनाउँछ। धैर्यताको मापन गर्छ। अनि तपाईं हुनुको महत्वलाई थप उचाइमा पुर्‍याइदिन्छ। आफ्नै सपनाको बाटो हुँदै कमेडी च्याम्पियनको निर्देशक बनेका विशाल भण्डारी क्षमतावान कमेडियनलाई स्टेजसम्म ल्याइदिने सारथी भएका छन्।

पहिलोपटक उनले यो योजना सुनाउँदा उडाउनेको कुनै कमी थिएन। नेपालमा कमेडी च्याम्पियन रियालिटी शोको जग हालेका उनले कयौं साथीहरूबाट ‘सक्दैनस्‌, हुँदैन, जोखिम लिने काम नगर’ भन्ने नै सुझाव पाए। ‘गर्न सक्छस्‌’ भन्ने साथीहरूबाट ऊर्जा प्राप्त हुन्थ्यो। ‘सक्दैनस्‌’ भन्ने साथीहरूको सुझावबाट उनमा इगो जन्मन्थ्यो।

भन्छन्, ‘मेरो जीवनमा भेटिएका हरेक व्यक्तिले मलाई केही न केही सिकाए। ती तमाम व्यक्ति आज पनि मेरा लागि सम्मानित नै लाग्छन्,’ बुधबार भएको भेटमा आफ्नो जीवनको पोयो फुकाउँदै उनले भने, ‘सफलताको उडान भइरहँदा धरातल त भुल्न भएन नि!’

दर्शकसँग जोडिएको कमेडी च्याम्पियन

‘अहिले कमेडी च्याम्पियनको सिजन छ,’ सामाजिक सञ्‍जालमा उक्त कार्यक्रमको चर्चा र लोकप्रियता देखेपछि नजिकका मित्रले उनलाई दिने च्याम्पियनप्रतिको धारणा हो।

च्याम्पियन दर्शकमाझ यति लोकप्रिय हुन्छ भनेर उनले सोचेका थिएनन्। भण्डारी भन्छन्, ‘च्याम्पियन र च्याम्पियनका प्रतिष्पर्धीलाई दर्शकले रुचाउनु भनेको मेरो र मेरो समूहको कामलाई माया गर्नु हो। मलाई यो लोकप्रियता जोगाइरहन चुनौती थपिएको छ।’

उठाइएका विषयले दिने सन्देशले पनि च्याम्पियनले लोकप्रियता हासिल गरेको छ। प्रतिष्पर्धीले पनि मनोरञ्जनमात्र प्रस्तुत गरिरहेका छैनन्। घरमा, समाजमा र देशमा भइरहेको खराब प्रवृत्तिप्रति व्यंग्य कसिरहेका छन्। नेतृत्वलाई क्यारिकेचरका माध्यमबाट प्रश्न गरेका छन्।

सिजन-१ भन्दा २ का प्रतिष्पर्धीसँग अपेक्षा बढी

सिजन -१ जस्तै २ मा पनि प्रतिष्पर्धीले दर्शकको मन जितेका छन्। तर, क्षमताको हिसाबले पहिलो वा दोस्रो भन्ने भनेर हेरिन नहुने भण्डारी बताउँछन्।

एउटा चरण पार गरेपछि अपेक्षा गर्नु स्वभाविक हो। तर, शुरूवातमा नै धेरै अपेक्षा गर्नु दर्शक, प्रतिष्पर्धी र व्यवस्थापकका लागि अलिक कठिन हो।

‘क्षमतावान व्यक्ति समाजमा जन्मिरहन्छन्। मात्र यति हो कि उसले कतिखेर आफ्नो क्षमता देखायो,’ उनले भने, ‘हाम्रो समस्या के छ भने प्रख्यात भइसकेका व्यक्तिसँग जस्तो अपेक्षा गर्छौं, उस्तै अपेक्षा नयाँ अनुहारसँग गरिदिन्छौँ। जसले गर्दा अलिक असुहाउँदो हुन जान्छ। एउटा चरण पार गरेपछि अपेक्षा गर्नु स्वभाविक हो। तर, शुरूवातमा नै धेरै अपेक्षा गर्नु दर्शक, प्रतिष्पर्धी र व्यवस्थापकका लागि अलिक कठिन हो।’

कुनै पनि शोको सिजन-१ भनेको पहिलो गाँस हो। पहिलो गाँसको स्वाद दोस्रो गाँसले कहिल्यै पूर्ति गर्न सक्दैन। पहिलो गाँसमा भोक मिसिएको हुन्छ। जिब्रोलाई स्वाद कस्तो हुनुपर्छ भन्नेसम्म थाहा हुँदैन। जसले गर्दा पहिलो गाँस जे भएपनि मीठो लाग्छ। सिजन-२ दोस्रो गाँस हो। कन्टेन्ट तिनै हुन्। तर, दोस्रोमा भोक कम हुन्छ। अहिलेका प्रतिष्पर्धीबाट दर्शकले बढी अपेक्षा राखेको भण्डारीले बताए।

‘सन्तुष्टि के मा हो भने सिजन १ का प्रतिष्पर्धी जस्तै क्षमतावान व्यक्ति अहिले छन्। जसले दर्शकको मन जित्न सफल भएका छन्। उनीहरूले छोएको उचाइ अहिलेका प्रतिष्पर्धीले छोइसकेका छन्,’ उनले भने, ‘दोस्रो सिजनका प्रतिष्पर्धीसँग दर्शकको अपेक्षा बढी छ।’

चार निर्णायकको छनोट

च्याम्पियनमा चार निर्णायक (जज) छन्। यी नै जज किन? भण्डारीले सामाजिक सञ्‍जाल र भेटघाटका क्रममा यस्ता प्रश्नको सामना गरिरहेका हुन्छन्।

निर्णायक कसरी छान्ने भन्ने कुरा दर्शकको अपेक्षासँग सम्बन्धित हुने उनी सुनाउँछन्। ‘जब तपाईं कुनै काम गर्दै हुनुहुन्छ भने कसका लागि काम गर्दै हुनुहुन्छ मुख्य कुरा हो। यदि दर्शकका लागि तपाईंले केही गर्दै हुनुहुन्छ भने अपेक्षालाई सम्बोधन गर्न जरूरी छ। दर्शकको अपेक्षा सम्बोधन गर्न सकिएन भने जति नै मेहनत गरेपनि त्यो बालुवामा पानी खन्याएको जस्तै हो,’ भण्डारी भन्छन्।

‘हामीले प्रदिप भट्टराईलाई रोज्यौँ, किनभने उहाँ आफैँ कन्टेन्ट क्रियटर हो। कमेडी सिनेमामा उहाँको विशेष दख्खल छ। उहाँको कन्टेन्टले दर्शक खुसी छन् भने उहाँ हामीलाई चाहिन्छ, दर्शकलाई चाहिन्छ। उहाँले प्रतिष्पर्धीको विषयको गहिराइलाई बुझ्नुहुन्छ,’ च्याम्पियनमा निर्णायकबारे भण्डारीले भने।

नेपाली चलचित्रको लोकप्रिय नायिका मानिने ऋचा शर्मा भने ‘ब्यूटी विथ ब्रेन‘ रहेको भण्डारीको बुझाइ छ। ‘उहाँ नयाँ पुस्ताको कमेडी सजिलै बुझ्ने, अनुकूल हुनसक्ने र आफैँमा बौद्धिक पनि हुनुहुन्छ। कुनै पनि प्रसंग कुन सन्दर्भमा आएको हो भन्ने बुझ्नुहुन्छ,’ ऋचाबारे भण्डारी भन्छन्, ‘सेन्स अफ ह्युमर’ पनि राम्रो छ। प्रतिष्पर्धीको क्यारेक्टरलाई उहाँले सही मूल्यांकन गर्न सक्नुहुन्छ।’ 

कोरोनाले गन्जागोल बनाएको अवस्थामा कमेडी कार्यक्रम ल्याउन हुन्छ कि हुँदैन भन्नेबारे छलफल भएको थियो।पीडा र अभावग्रस्त समयमा हँसाउने कर्तव्यबाट किन तर्किने भनेर शुरू गर्ने निर्णय गर्‍यौँ।

नेपालमा कमेडी हुनु र मनोज गजुरेल नहुनु असम्भव रहेको भण्डारीले सुनाए। ‘उहाँ शोमा किन भनेर मैले जवाफ दिइरहनु निकै अप्ठेरो काम हो। कमेडीमा उहाँको निर्णायक उपस्थिति आवश्यकता हो।’ 

यसबीच समेटिएका कमेडीका विभिन्न आयामहरू मूल्यांकन वरिष्ठ कलाकार सन्तोष पन्तले गर्नसक्ने भण्डारी सुनाउँछन्। ‘उहाँले कमेडीका सबै आयाममा लामो समय काम गर्नुभएको छ। नेपालमा कमेडीमा सन्तोष पन्तको स्थान सायदै कसैले लिन्छ होला भन्ने मेरो बुझाइ हो,’ उनले भने।

कोरोनाको जोखिममा पनि शो निरन्तर

कोरोनाको जोखिमले देशको अर्थतन्त्र डामाडोलको अवस्था छ, र पनि च्याम्पियन चलिरहेको छ।

‘यो अवस्थामा समाज मानसिक तनावमा छँदैछ। गन्जागोलको अवस्थामा रहेको बेला हामीले कमेडी ल्याउन हुन्छ कि हुँदैन भन्नेबारे छलफल भएको थियो,’ भण्डारीले भने, ‘पीडा र अभावग्रस्त समयमा हँसाउने कर्तव्यबाट किन तर्किने भनेर शुरू गर्ने निर्णय गर्‍यौँ। प्रतिष्पर्धीहरू पनि कोरोनाबाट संक्रमित भइरहे। र पनि कमेडी अगाडी बढिरह्यो।’

कोरोनाको यो विषम परिस्थितिमा च्याम्पियन आएपछि दर्शकको माया सोचेभन्दा बढी पाइरहेका उनले सुनाए। ‘कहिलेकाहीँ फितलो तयारीका बाबजुद पनि कोरोना संकटमा दर्शकले छुटसहित मन पराइरहनु भएको छ। खुशी तुल्याइरहेको छ। हामी तारिफले पुलकित छौँ। मातिएका छैनौँ,’ उनले भने।

निर्देशक भण्डारी सन्तुष्ट, दर्शक भण्डारी असन्तुष्ट

च्याम्पियनको निर्देशकको हिसाबले उनी आफ्नो कामबाट आंशिक सन्तुष्ट छन्।

‘हरेक प्रोजेक्टमा कमी-कमजोरी हुन्छ। जसको पहिचान निर्देशकले गर्छ। कमी-कमजोरी हटाउन मेरो तत्परता सदैव छ,’ निर्देशक भण्डारी भन्छन्‌।

कमेडीमा आएका प्रतिष्पर्धीहरूले यसै क्षेत्रमा जीवन निर्वाह गर्न सकुन् भन्ने अपेक्षा थियो। त्यो अपेक्षा कोरोनाको कारण अलपत्र परेको र देश तथा विदेशमा उनीहरूको क्षमता देखाउन नसकिएको उनी सुनाउँछन्।

हरेक प्रोजेक्टमा कमी-कमजोरी हुन्छ। जसको पहिचान निर्देशकले गर्छ। कमी-कमजोरी हटाउन मेरो तत्परता सदैव छ।

आफूलाई दर्शकमात्र ठानेर च्याम्पियन हेरिरहँदा उनले कयौं कमजोरीहरू देखेका छन्। ‘कहिलेकाहीँ तयारी पुगिरहेको हुँदैन। कन्टेन्टमा पनि कमी-कमजोरी छन्। प्रकाश मिलिरहेको हुँदैन। ग्राण्ड सेटको अवधारणा पूर्ण भइरहेको छैन,’ दर्शक भण्डारीले भने।

सफलता र असफलताको स्वाद

निर्देशक भण्डारीमा विभिन्न चरणमा चाखेको सफलता र असफलताले नै आफ्नो जीवनको सफलताको बाटोमा आउन सहज भएको बताउँछन्।

२०६१ सालतिर विशालले पहिलो संगीतिक एल्बम निकालेका थिए। तर, विशाललाई पहिलो यात्रामा ठेस लाग्यो। उनी पहिलो एल्बम नै ‘डिजास्टर’ भइदिएको सुनाउँछन्। वरपरका साथीले राम्रो भन्दिएको भरमा एल्बम निकाल्ने आँट गर्नु आफ्ना लागि केबल सिकाइमात्र भएको उनले सुनाए।

त्यसपछि उनले पुनः शून्यबाट आफूलाई स्थापित गर्नु थियो। त्यस पश्चात् उनी ‘भिजे‘का रूपमा काम गर्न थाले। ‘हिँड्दाहिँड्दै’, ‘म्युजिक एण्ड मोर’, ‘फ्रेस रिलिज,’ ‘फेस द नेसन’, जस्ता चर्चित कार्यक्रम चलाए। चर्चा पाएपनि सफलता चाहिँ उनको भागमा कम पर्‍यो। त्यस क्रममा म्युजिक भिडियोबाट अफर आउन थाल्यो। शुरूमै उनले आँट गर्न सकेनन्।

चलचित्रमा पनि म असफल भएकै हो। समीक्षात्मक असफलतालाई मैले सफल भन्न सुहाउँदैन।

एउटा समूह बनाएर उनले डेढ दर्जन भिडियोमा काम गरे। टीममा निर्देशक मनोजरत्न शाही र क्यामेराम्यान अमृत सुनारलगायत थिए। कामले काम सिकाउँदै गयो। उनमा पनि आँट आयो। सतिश महर्जनको ‘भैगो भुलिदिन्छु’ बोलको गीतबाट विशाल आफैँ निर्देशकको भूमिकामा देखापरे।

पहिलो भिडियोले फेरि उनलाई डुबायो। डुब्ने र उत्रने सिलसिला जारी थियो। त्यसपछि केही समयपछि ‘तिमी हिँड्ने गोरेटोमा’ बोलको गीतको भिडियो बनाए उनले। उक्त गीत सुपरहिट नै भयो । त्यस पश्चात् विशालले म्युजिक भिडियो निर्देशनमा छलाङ मारे। उनले करिब ४०० म्युजिक भिडियो निर्देशन गरे।

उनलाई म्युजिक भिडियोले आर्थिक सम्पन्नताको बाटोमा त पुर्‍यायो। तर, सन्तुष्टि? उनमा केही मौनता देखियो।

केही नयाँ काम गर्ने सोच बनाइरहेका विशाललाई ‘एपी वान टिभी’ले अफर गरेको थियो। नेपाल आइडलमा विशालले ‘ब्याक स्टोरी’को लिड गरे। जहाँ उनले धेरै कुरा सिके। यद्यपि; बिमति आइलाग्यो। अडिसन राउण्ड सकिएलगत्तै उनी टीमबाट बाहिरिए।

नेपाल आइडलबाट बाहिरिएपछि अभिनेत्री केकी अधिकारीसँगको सहकार्यमा उनले ‘कोहलपुर एक्सप्रेस’ बनाए। चलचित्रमा उनको यो पहिलो निर्देशन थियो।

म आफ्नो काम गर्न चाहन्थेँ। अरूको काम गरेर मैले पैसा कमाएँ हुँला। तर, सन्तुष्ट हुन सकिनँ, बनाएको बाटो हिँड्नु र आफैँले बाटो बनाउनु फरक कुरा हो। मैले दोस्रो काम गर्न रुचि देखाउनुपर्छ भन्ने लाग्यो।

चलचित्र व्यापारिक रूपमा सफल हुँदाहुँदै पनि चलचित्र समीक्षात्मक असफल हुनपुग्यो। उनी भन्छन्, ‘चलचित्रमा पनि म असफल भएकै हो। समीक्षात्मक असफलतालाई मैले सफल भन्न सुहाउँदैन।’

‘कोहलपुर एक्सप्रेस’ पश्चात् विशाल ‘द भ्वाइस अफ नेपाल‘मा आबद्ध भएर मुख्य सहायक निर्देशकका रूपमा काम गरे।

आफूले बनाएको बाटो

जीवनमा उनी गायक बने। म्युजिक भिडियो तथा चलचित्र निर्देशक बने। भिजे बने। जे बनेपनि आफू पूर्ण रूपमा सन्तुष्ट बनेनन्।

‘म आफ्नो काम गर्न चाहन्थेँ। अरूको काम गरेर मैले पैसा कमाएँ हुँला। तर, सन्तुष्ट हुन सकिनँ,’ उनले भने, ‘बनाएको बाटो हिँड्नु र आफैँले बाटो बनाउनु फरक कुरा हो। मैले दोस्रो काम गर्न रुचि देखाउनुपर्छ भन्ने लाग्यो।’

उनलाई कमेडी मन पर्थ्यो। विदेशी च्यानलमा आउने कमेडी हेर्दा उनी रमाउँथे। दिनभरको थकान र तनाव ती कमेडी औषधी बने।

नलाई लाग्यो, ‘यस्तै कमेडी नेपालमा ल्याउन पाए।’ कयौं दिन उनले यो विषयमा सोचे। अनि निचोड निकाले-अब कमेडी जनरामा केही गर्छु। त्यसपछि कमेडी च्याम्पियनको अवधारणा ल्याए।

‘मैले फेरि एकपटक आफ्नो क्षमता देखाउनुपर्ने थियो। खल्ती रित्याउनुपर्ने थियो। मेहनतले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा कमेडी च्याम्पियनको माध्यमबाट प्रमाणित गर्नु थियो,’ कुराकानीको अत्यमा उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.