|

पर्वत : २०७४ साल तिरको कुरा हो फलेवास नगरपालिकाले विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएका विद्यालयहरूलाई गाभ्ने (मर्ज गर्ने) तयारी गर्‍यो। त्यही लिस्टमा समावेश थियो वडा नम्बर ४, मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय। 

नहोस् पनि कसरी! विद्यालय गेटको ठीक अगाडि नै रहेको बस्तीका २४ जना र सेवा क्षेत्रभित्र रहेका ५० जना गरी ७४ जना विद्यार्थी केही पर रहेको निजी विद्यालयमा जान्थे। विद्यालयमा २२ जना मात्रै विद्यार्थी थिए, ती पनि आर्थिक अवस्थाका कारण निजी विद्यालय जान नसकेका र कोही विभिन्न बाध्यतामा परेका। 

नगरपालिकाले विद्यालय मर्ज गर्ने भनेपछि विद्यालयका संस्थापक, कार्यरत शिक्षक र समुदायलाई चिन्ता भयो। आफ्ना बाबु बाजेले हड्डी खियाएर निर्माण गरेको विद्यालय गाभिन लागेपछि सबै मिली नगरपालिकालाई अनुरोध गरेर एक वर्षको समय मागे। समय माग्नेमा स्थानीय बुद्धिजीवी, विद्यालय परिवारदेखि सामाजिक सेवामा सक्रिय रहेकाहरू पनि थिए। गाउँको भलाद्मी समूहको अनुरोधपछि नगरपालिकाले पनि एक वर्षको समय दियो। 

त्यो बेलामा विद्यालयमा कालो पाटी र चक प्रयोग हुन्थ्यो, विद्यार्थी सङ्ख्या २२ जना, विद्यालयको खातामा २० हजार रुपैयाँमात्र। नगरपालिकालाई समय मागेकाहरूको परीक्षा नगरपालिकाको ‘ठीकै छ नि त!’ भन्ने जवाफसँगै शुरू भयो।

‘उहाँहरूले अनुरोध गरेपछि नगरपालिकाले मान्यो, त्यही बेलामा उहाँहरूसँग मेरो भेट भएपछि विद्यालय जोगाउनको लागि गर्न सकिने सम्भावनाका बारेमा कुरा भयो। म सहित सबै अभियानका रूपमा लाग्यौँ,’ शिक्षा क्षेत्रका अभियन्ता तथा शिक्षाका लागि राष्ट्रिय अभियान–नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी भन्छन्, ‘हामीले स्रोत खोज्न निकै ठाउँमा धायौँ। पहिले गुणस्तर दिनसके अरू सबै आफैँ मिल्छ भनेर लागेका हौँ। अहिले नगरपालिकाभरिकै उदाहरण दिने विद्यालय त्यही बनेको छ।’

२०७५ सालमा विद्यालय जोगाउनकै लागि व्यवस्थापन समिति, शिक्षक र समुदाय मिलेर तिहारको अवसरमा देउसी खेले। करिब १९ लाख रुपैयाँ सङ्कलन भयो।

अब शिक्षकले विद्यालयलाई दिने समय पनि बढ्दै गयो। ‘हामीसँग केही थिएन त्यसैले हामीले हामी नठगी पढाउँछौँ, त्यो हाम्रो कसम हो भनेर शुरू गरेका हौँ’ शिक्षक मोती प्रसाद च्वाईँ भन्छन्, ‘अतिरिक्त कक्षा सञ्चालन गर्न बिहान आठ बजे नै सबै जना विद्यालयमा जान शुरू गर्‍यौँ, बेलुका पाँच/छ बजेसम्म नै बसेर पढाइयो। तर, एक रुपैयाँ कसैबाट लिइएन। विद्यालयलाई हर हालतमा सञ्‍चालन गर्नुपर्छ भन्ने लक्ष्य हामी सबैको थियो।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर, प्रधानाध्यापक ओमकार पौडेल, सहित विद्यालय परिवार र अभियन्ता पहाडीले शिक्षा सम्बद्ध निकाय र चिनेका मान्छे कसैलाई बाँकी नराखी सक्दो सहयोगको हात फैलाए। कसैले घडी दिए त कसैले फिल्टर। त्यसको शुरूवात भयो गंगाधर तिवारीको ५० हजार र हरि नारायण पौडेलको एक लाख रुपैयाँ सहयोगको अक्षयकोषबाट।

​बिहान बेलुका निःशुल्क अतिरिक्त कक्षा, विद्यालय छाड्ने दरमा कमी, विद्यार्थी विद्यालय नआए शिक्षकको फोन, हप्तैपिच्छे परीक्षा, अभिभावक बोलाएर प्रगति विवरण सार्वजनिक लगायतका काम हुँदै जाँदा सबैको विश्वास विद्यालयले पायो। ‘हामीले निजी जीवन बिर्सेर विद्यालय जोगाउन काम गरेका हौँ। हामीले अतिरिक्त कक्षा लिएको रुपैयाँ कसैबाट लिएनौँ। मात्र अब गरेरै देखाउने हो भन्ने भयो,’ शिक्षक च्वाईँ भन्छन्, ‘त्यो बेलामा २२ जना विद्यार्थी भएको हाम्रो स्कूलमा अहिले १२३ विद्यार्थी छन्। अब त बाह्य सहयोग पनि छाँटेर लिने अवस्था छ। काम गरे स्रोतको अभाव नहुने रहेछ।’

कुनै बेला कम विद्यार्थी हुँदा गाभिने अवस्थामा पुगेको विद्यालयले यसै शैक्षिक सत्रबाट त प्रवेश परीक्षा (शैक्षिक अवस्था मापन) गरेर मात्रै भर्ना लिन शुरू गरेको प्रधानाध्यापक ओमकार पौडेल बताउँछन्। ‘अहिले हामीकहाँ चाप बढेको छ। कोही बेला विद्यार्थी नपाएर टुङ्गिएका हामी अहिले छानेर भर्ना लिने अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘अफिस म्यानेजमेन्टको मात्र काम भौतिक रूपमा भएको छ। ५८ रोपनी जग्गा विद्यालयको छ। तर हामीलाई भवन पुगेको छैन। कागती खेती पनि थालिएको छ, त्यो उत्पादनले पनि हामीलाई सजिलो हुनेछ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर डाँडामाथिको घाम जस्तै अवस्थामा पुगेको विद्यालयलाई जोगाएर अहिलेको बिहानी देख्न पाएकोमा खुसी छन्। विद्यालय मर्ज हुनै लागेको अवस्थामा शिक्षाको क्षेत्रमा बहस पैरवी संस्था भेटिनुले पनि आफूहरूलाई ऊर्जा मिलेको उनको भनाइ छ।

‘त्यो बेलामा चक समेत किन्न नसक्ने हाम्रो  स्कूलमा अहिले हरेक कोठामा प्रोजेक्टर, फिल्टर, ऐना, घडी छन्। तर कोभिडका कारण बन्द हुँदा अहिले झिकेर थन्क्याएका छौँ, खुलेपछि आएर हेर्नुहोला,’ उनले भने।

विद्यालय रहेको फलेवास नगरपालिकाका प्रवक्ता टीकाराम गौडेल त विद्यालय मर्ज हुने बेलामा झनै समस्यामा थिए। मर्ज गरौँ भनी हस्ताक्षर गरौँ आफ्नै मान्छे रिसाउने, नगरौँ विद्यार्थी विहीन विद्यालयमा राज्यको ढुकुटी नष्ट हुने। एक वर्ष समय मागेर उदाहरणीय बनको विद्यालयको काम देख्दा उनी पनि मख्ख छन्।

‘सही गरे नि मार्ने, नगरे नि मार्ने जस्तो थियो मलाई त। सबै मिलेर ठीकै छ त नि एक वर्ष भनेको हो,’ उनले भने, ‘विद्यालयले गरेर नदेखाएको भए मर्जमा पारेकाहरूले मलाई के भन्थे होला? आँटेर दिएको समयमा विद्यालय राम्रो भयो।’

इन्टरनेटको राम्रो सुविधा नभएको फलेवास नगरपालिकाका केही विद्यालयले मात्र थोरै विद्यार्थीलाई मात्र वैकल्पिक सिकाई अन्तर्गत भर्चुअल कक्षामा जोडेका छन्। तर, गहते अम्बोटले भने नयाँ शैक्षिक सत्र शुरू भएको असार महिनाबाट नै सबै कक्षाका करिब सबैजसो विद्यार्थीको सहभागितामा भर्चुअल कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक पौडेलले बताए।

देउसी खेल्ने बेलामा समुदायका करिब सबै मान्छे सहभागी भई गाउँ–गाउँ डुल्दा उनीहरूको लगानी पनि विद्यालयमा पर्नुले सबैको माया विद्यालयले पाएको उनको भनाइ छ। विद्यालय जोगाउने बलियो जड देउसी पनि भएको पौडेल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.