|

विराटनगर : नेकपा एमाले विभाजनसँगै प्रदेश १ को सरकार पनि धरापमा परेको छ।  नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले समाजवादीले नयाँ सरकार गठन गर्ने कसरत थालेका छन्।

एमाले समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजेन्द्र राई पार्टी विभाजनको प्रक्रिया सकिएपछि प्रदेशमा दलीय गठबन्धनको नयाँ सरकार गठन हुने बताउँछन्। ‘अब कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बन्छ,’ उनले भने।

जम्मा ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्। तीमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए तर भीम आचार्य र जीवन घिमिरेसहित केही सांसदले नेपाल समूह छाडेका छन्। अझै प्रदेशसभाका १५ सदस्य आफूहरुसँग रहेको एमाले समाजवादीको दाबी छ।

प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन्।

नयाँ सरकार गठन गर्न ४७ सांसदको समर्थन चाहिन्छ। कांग्रेस, माओवादी र जसपाका गरी कुल सांसदको संख्या ३९ पुग्छ। नयाँ सरकार गठन गर्न एमालेका ८ सांसदले एमाले समाजवादी रोज्ने हो भने नयाँ सरकार बन्न सक्छ।

को बन्ला मुख्यमन्त्री?

गठबन्धनको नयाँ सरकार गठनमा मुख्यमन्त्रीका सम्भावित उम्मेदवार कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र एमाले समाजवादीका नेता राजेन्द्र राई हुन्।

एमाले समाजवादीका एक नेताका अनुसार भीम आचार्य पार्टीमा आए उनी नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ। एमाले सचिव आचार्यले नयाँ पार्टी गठन गरेपछि माधव नेपालको साथ छाडेका हुन्।

आचार्य नआए राजेन्द्र राई मुख्यमन्त्री हुने सम्भावना बढी छ। प्रदेश १ मा नेपाल पक्षका सांसदमध्ये तीन जना एमाले केन्द्रीय कमिटीमा थिए। तीमध्ये आचार्य र घिमिरेले नेपाललाई साथ नदिएपछि राई मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको हो।

एमाले समाजवादीले नेतृत्व नपाएको अवस्थामा कांग्रेसले प्रदेशको नेतृत्व गर्नेछ। कांग्रेसले नेतृत्व गर्ने अवस्थामा कांग्रेसका कोइराला मुख्यमन्त्री बन्ने सम्भावना छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की पार्टी एकताका लागि आफूहरू सरकार छाड्न तयार रहेको बताउँछन्। तर स्रोतका अनुसार पार्टी एकताको पक्षमा उभिएका सचिव आचार्यले मुख्यमन्त्री बन्न अस्विकार गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.