मुख्यमन्त्रीमा डा रणबहादुर रावलकाे चर्चा

|

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।

केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।

नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले गर्ने सहमति बनेको हो।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका तर्फबाट अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेका त्रिलोचन भट्टलाई भदौ महिनाभित्र मुख्यमन्त्री पदबाट हट्न भनिएको र सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसलाई गर्न आग्रह गरिसकेको स्रोतको दाबी छ।

यता, कांग्रेस दलका नेता रावलले पनि कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि छलफल सुरु गरिएको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार सरकार गठन हुने उनको भनाई छ। ‘केन्द्रमा बनेको गठबन्धनले नै निर्णय गर्ने हो,’ उनले भने, ‘अहिले नै केन्द्रबाट सरकार परिवर्तनबारे छलफल भइरहेको छ। कांग्रेसले नेतृत्व गर्ने सम्भावना निकै बलियो छ।’

अब बन्ने सरकारमा कांग्रेससँगै माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी सहभागी हुने रावलले बताए। कांग्रेसले नेतृत्व गरे संसदीय दलका नेता रावल मुख्यमन्त्री हुनेछन्। सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्।

माओवादीबाट एमालेमा प्रवेश गरेर झपट बोहरा पदमुक्त भएपछि हाल सांसदको संख्या ५२ छ। सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ। हाल माओवादीमा १३, कांग्रेसमा १२ र समाजवादीमा खुलेका दुई सांसद छन्।

यी तीन दल मिलेरै प्रदेशमा सरकार बनाउन सक्ने अवस्था देखिएको छ। प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादीको संयुक्त सरकार बन्ने नेताहरुको भनाई छ।

केन्द्रमा रहेको चार दलीय गठबन्धन सुदूरपश्चिममा पनि कायम राख्दै नेकपा एकीकृत समाजवादीसमेत सरकारमा सहभागी हुने बताइएको छ। अहिलेसम्म समाजवादीमा आवद्ध हुने सांसदहरूको संख्या भने एकिन भइसकेको छैन।

प्रदेश १ र ३ मा एमाले समाजवादी, २ मा जनता समाजवादी, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी केन्द्र, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने चार दलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउन लागेको समाचार स्रोतको भनाई छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.