'१० बुँदे सहमति कार्यान्वयन भइसक्यो, कारबाही फिर्ता हुँदैन'

|

काठमाडौं : संसदमा पहिलो दल बनेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको टकरावले चार भागमा विभाजित बनेको छ। 

ओलीले संस्थापन पक्षको नेतृत्व गर्दै गर्दा नेता नेपालले ओलीसँग ‘विद्रोह’ गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन्। उसले बुधबार नयाँ पार्टीको प्रमाणपत्र पाउँने सम्भावना छ। 

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए पार्टी विभाजन गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ पार्टी दर्ताकाे निवदेन दिएका हुन्। 

ओलीसँग विद्रोहमा उत्रिएका नेता नेपालकाे साथ छाडेर उनीनिकट ५७ जना केन्द्रीय सदस्यहरुले एकताको प्रयास गरिरहेका छन्। त्यसो त नेता नेपालले दुई सय ३ केन्द्रीय सदस्यमध्ये ५८ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयाेगमा बुझाएका छन्।

यस्तै, साविकको नेकपाभित्रको विवाददेखि नै एकता अभियान जारी राखेका उपाध्यक्ष वामदेव गौतमको एमालेमा अर्को धार छ। यसअघि ओलीविरुद्धको संघर्षमा नेता नेपालको साथमा रहेका नेताहरु पछिल्लो समय साथ छाेडेर एकताका रटान लगाइरहेका छन्। ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ दल दर्ता गरेका नेता नेपाललाई दोस्रो तहका अधिकांश नेताहरुको साथ पाएनन्। 

पार्टी विभाजनको विपक्षमा उभिएका तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छाडे। रावल र ज्ञवाली नयाँ पार्टीको गतिविधिमा देखिएका छैनन्। उनीहरू पार्टी फुटाउन नहुने पक्षमा छन्। 

यस्तै, नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि राखेको निर्णायक बैठकमा उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले पनि साथ दिएनन्। 

नेपाल समूहको यसअघिको बैठकमा सहभागी हुँदै आएका भुसाल, आचार्य र पाण्डेसमेत पार्टी विभाजनको विपक्षमा उभिए। पार्टीभित्र अध्यक्ष ओलीविरुद्ध खरो प्रस्तुत भएका दोस्रो तहका नेताले साथ छाड्दै गर्दा स्थायी कमिटी सदस्य वेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्र नेपाललाई साथ दिए। 

दोस्रो तहका नेताले साथ छाड्दै गएपछि तेस्रो तहका नेताको आड भरोसामा नेता नेपालले नयाँ दल दर्ता अघि बढाएका हुन्। उनले अन्तिमसम्म राजेन्द्र पाण्डे, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी र प्रेम आलेलगायतकाे साथ पाएका छन्। 

मंगलबारसम्मको अल्टिमेटम!

नेता नेपाल निकट रहेर एमालेमा विद्रोह गर्नबाट पछि हटेका नेताहरुले शुक्रबार एक भेला गरेर एकताको पक्षमा उभिने निष्कर्ष निकाले।

ओलीले विवाद समाधान कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने, १४ सांसदको कारबाही तत्काल फिर्ता हुनुपर्ने र नेता नेपालले दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिएर एकता बचाउनुपर्नेमा नेताहरुबीच सहमति बनेको उपाध्यक्ष भीम रावल बताउँछन्। 

रावलले भने, ‘हामी पार्टीभित्रको विवाद समाधान गरेर एकतामै बल गरिरहेका छौँ। दल दर्ताको सनाखतका लागि बुधबार आयोगले बोलाएकोले पार्टीबाट भएका सहमतिलाई कार्यान्वयन गर्नका लागि मंगलबारसम्मको समय दिएको छौँ। १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दा पार्टी एकताको बिन्दु भेटिन्छ।’

त्यसो त ९ नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गरेर ओली र नेपाल ब्याक भएर पार्टी एकता जोगाउन दबाव दिइरहेका छन्। ओलीले मंगलबारसम्म पनि १० बुँदे सहमतिलाई तल्लो तहसम्म कार्यान्वयन नगरे विद्रोह गर्न बाध्यकारी अवस्था सिर्जना हुने एक स्थायी कमिटी सदस्य बताउँछन्। 

ती नेता भन्छन्, ‘हामीले पार्टी एकता जोगाउनका लागि प्रयास गरिरहेका छौँ। तर, गल्ती दुवै तर्फबाट भएको छ। त्यसैले दुवैतर्फबाट आत्मविचार गरेर १० बुँदे सहमतिलाई टेकेर एकताको प्रयास गर्नुपर्छ। एकताको प्रयास सफल भएन भने हामी कित्ता छुट्याउन बाध्य हुन्छौँ।’

पार्टीलाई विभाजनबाट रोक्नु नै आफूहरुको पहिलो प्राथामिकता भएको केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्। उनी भन्छन्, ‘अहिले पहिलो प्राथामिकता भनेको पार्टी एकता नै हो। त्यसमा शीर्ष नेताद्वय ओली र नेपाल दुवैले आत्मसाथ गर्नुपर्छ। एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्छ भनेका छौँ। एकतालाई रोकेर नै थप क्षति हुनबाट रोक्नुपर्छ।’

'१० बुँदे कार्यान्वयन भइसक्यो'

नेता नेपाल छाडेको दोस्रो तहका नेताहरुले अध्यक्ष ओलीबाट सहमति कार्यान्वयनको माग गर्दै आएको भएपनि एमाले प्रवक्ता प्रदिप ज्ञवाली १० बुँदे सहमति कार्यान्वयनको भइसकेको दाबी गर्छन्।

'पार्टी एकताको आधार १० बुँदे सहमतिलाई अध्यक्ष ओलीले कार्यान्वयन गराएरै १४ औँ केन्द्रीय कमिटीको बैठकलाई ०७५ जेठ २ अनुसार १० औँ केन्द्रीय कमिटीको बैठक राखेका हौँ। हामीले कार्यान्वयन गर्दै गर्दा उहाँहरुले बैठकमा अनुपस्थित भएर नै अहिलेको परिस्थिती निर्माण भएको हो' उनले भने। 

पार्टीका अनुसासन भन्दा बाहिर रहेर अर्को पार्टी दर्ता गरेर जानेहरूमाथि भएको कारवाही फिर्ता हुनुपर्ने अडान राख्न नमिल्ने उनको तर्क छ। 

'हामी विभाजनको पक्षमा छैनौँ। अझै एकताको प्रयासस्वरुप विभिन्न छलफल भने गरिरहेका छौँ' उनले भने। 

त्यसो त शनिबार मंगलबारसम्म सहमति कार्यान्वन गराउन ओली निवास बालकोट पुगेका भीम रावल, घनश्याम भुसाललगायत नेताहरुलाई ओलीले पार्टीमा विपरित जानेहरूमाथि गरेको कारवाही फिर्ता नहुने जवाफ दिएर फर्काएको स्रोतको दाबी छ। 

अल्टिमेटमको अर्थ छैन

नेपाल समूह छाडेका नेताहरुले पार्टी एकताको लागि भन्दै दिइएको अल्टिमेटमका कुनै अर्थ नभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ बताउँछन्। 

उनी भन्छन्, ‘उहाँहरुले १० बुँदेको कुरा उठाउनुभएको छ। पार्टीले त्यो सहमतिलाई कार्यान्वयन गरेर अगाडी बढिरहेकाे छ। तर, अर्को पार्टी निर्माण गरेर जानेहरूमाथि गरेको कारबाही रोक्नुपर्छ भन्ने कुरा मान्य हुदैन।’ एकताको लागि आफूहरु सकारात्मक भएकाले पार्टीमा फर्किनेलाई उपयुक्त स्थान दिने उनको भनाइ छ। 

यस्तै, एमालेका अर्का नेता गोकुल बाँस्कोटा भने नेता नेपाल समूह छाडेकाले मंगलबारसम्म दिएको अल्टिमेटमको कुनै अर्थ नभएको टिप्पणी गर्छन्। 

मंगलबारसम्म आफ्नो माग सम्बोधन नभएर विद्रोह गर्ने चेतावनी दिइरहेका नेताहरुलाई लक्षित गर्दै ट्वीटरमा लेखेका छन्, 'मंगलबारसम्मको रोइलो मैले बुझिन। बस्नेलाई राडी बिच्छ्याइएको फलैचा जानेलाई बाटो। काग र कोइली कालै देखिन्छन् र चलाख पनि। तर, खास फरक गृष्मयाममा देखिन्छ। र, सबैलाई थाहा छ मंगलबारपछि बुधबार आउँछ।' 

उनले भनाइले पार्टीमा फर्केर आउनेलाई उपयुक्त स्थान दिने भएपनि बार्गेनिडको अर्थ नभएको प्रष्ट हुन्छ। 

‘एकता सम्भव छैन’

नेता नेपाल समूहका नेता मेटमणि चौधरी तत्कालै ओलीसँग एकताको कुनै सम्भावना नभएको बताउँछन्। उनी भन्छन्, ‘हामीले पार्टी एकताको लागि धेरै पहल गरेका हौँ। तर, केपी ओली कम्युनिष्ट आन्दोलन र एमालेलाई विसर्जनको बाटोमा लाग्नुभएको छ। त्यसैले ओलीसँग एकता गरेर जाने सम्भावना छैन।’ उनी पार्टी विभाजन रोक्नका लागि पहल गरिरहेका नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्छन्। 

‘उहाँहरुले पार्टी एकताको पहल गरिराख्नुभएको छ। विभाजित हुनु राम्रो कुरा होइन। तर, ओली सुध्रिएर एकता हुन्छ भनेर लाग्नु भनेको बालुवा पेलेर तेल निकाल्ने प्रयास गर्नु नै हो। अहिले उहाँहरुको प्रयास पनि त्यही नै हो’ नेता चौधरीले भने। 

पार्टी एकताको बेलामा साथ नदिए पनि एकताको प्रयास गरिरहेका सबै नेताहरु आफ्नै समूहमा रहेको उनको दाबी छ। 

वामदेवको अस्थिरता 

साविकको नेकपादेखि एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम एमाले विवादमा पनि नेकपा झैं अस्थिर बनिरहे। नेता नेपालले पार्टी विभाजन गरेर साथ दिने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका उपाध्यक्ष गौतम गत साता एमाले बैठकमा पुगे। 

तर, बैठकमै अध्यक्ष ओलीको आलोचना गरेर बाहिरिएका गौतम त्यसपछिको बैठकमा गएनन्। बिहिबार आफू निकटका नेताहरूसँगको भर्चुअल बैठकमा ओलीसँग मिल्न नसक्ने भन्दै नेता नेपाललाई साथ दिने बताएका थिए। उनी निकट नेता बाबुराम थापा अहिले आफूहरु कता लाग्ने भन्ने टुंगो नलागेको दाबी गर्छन्। 

‘उहाँले पार्टी एकताको पहल गरिराख्नु भएको छ। त्यसैले पहिलो प्राथामिकता एकता नै हो। तर, सम्भव नहुनु परिस्थिति बन्यो भने हामी छलफलबाट निर्णय लिन्छौँ’ उनले भने।  

एमालेको ओरालो यात्रा 

एमाले विभाजनपछि ओरालो यात्रा तय गरेको छ। एमाले विवादकै कारणले संघीय सरकारमा अध्यक्ष ओली नेतृत्वको सरकार बहिर्गमन भयो। ओली नेतृत्वको सरकार ढाल्नको लागि नेता नेपाल समूह नै निर्णायक रह्यो। 

एमाले झगडाकै कारणले संघमा ओलीसहित गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल नेतृत्व गरी तीन वटा सरकारले  हात धुनुपर्‍याे। कर्णाली प्रदेशमा एमालेको सरकार बन्ने अवस्थामा नेता नेपाल समूहको फ्लोर क्रसको कारणले नै माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो। 

एमाले एकताको सम्भावना पातलिदैजाँदा एमालेले नेतृत्व गरिरहेका दुई प्रदेश सरकार पनि ढल्ने सम्भावना बलियाे बनेकाे छ। प्रदेश १ मा शेरधन राई नेतृत्वकाे र बागमती प्रदेशमा डोरमणि पौडेल नेतृत्वको सरकार धरमरमा छ। 

बागमतीमा नेता नेपालले नयाँ पार्टी दर्ता गर्दैगर्दा ओलीको कट्टर विरोधी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको सपथ खाइन्। एकता जोगाउनकै लागि भन्दै डोरमणि पौडेलले राजीनामा दिए। तर, नेतृ शाक्यले नेता नेपालको साथ नछोडेकाे दाबी गर्दै आइरहेकी छन्। दुवै नेताको विरोध नगर्ने भएकाले आफू एकताको पक्षमा उभिएको उनको भनाइ थियो।

यस्तै, सुदूरपश्चिममा माओवादीले नेतृत्व गरेको त्रिलोचन भट्ट नेतृत्वको सरकार पनि नेता नेपाल समूहकै कारणले जोगिएको थियो। अहिले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार बनाउने चर्चा चलिरहेको छ। 

कांग्रेस नेतृत्वकाे सरकार बन्ने चर्चा चलेसँगै मुख्यमन्त्री भट्ट पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न काठमाडाैं आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.