|

बैतडी : उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन चाडपर्व नजिकिए पनि अझै सुरु हुन सकेको छैन। 

चाडपर्वको बेला हुने कालो बजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भएपनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो।

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा तथा दशैंतिहार नजिकिएको भएपनि बजार अनुगमन अझै सुरु हुन नसकेको उपभोक्ताहरूको गुनासो गर्न थालेका छन्।  अनुगमन हुन नसक्दा कालो बजारी, मुल्यवृद्धि, अखाद्य वस्तु विक्री वितरण बढ्दो रुपमा रहेको समेत उपभोक्ताहरूको गुनासो बढ्दै गएको छ। 

उपभोक्ताहरूको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न बजार अनुगमन नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए। ‘कालोबजारी रोक्न बजार अनुगमन नियमित रुपमा गर्नुपर्छ, प्रशासनले औपचारिकताका लागि मात्रै अनुगमन हुनु हुँदैन’ उनले भने। 

बजार अनुमगन हुने गरेको भएपनि सदरमुकाम केन्द्रित मात्रै हुने गरेकोले ग्रामीण क्षेत्रका बजारमा समेत हुनुपर्ने उनको भनाइ छ। चाडपर्वलाई लक्षित गरेर केही दिनमा नै बजार अनुगमन सुरु गर्ने तयारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती बताउँछन्। उनी भन्छन्, ‘अब छिट्टै जिल्लाका सरोकारवालाहरु सम्मिलित अनुगमन टोली बनाउँछौं, त्यसपछि जिल्लाका बजारहरु अनुगमन गर्ने तयारी छ।’ 

यसअघि निषेधाज्ञाको बेला पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको थियो। त्यसबेला जिल्लाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा ८ लाखको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको थियो।  साथै, २ लाख ८४ हजार राजश्व समेत संकलन भएको थियो। 

बजारमा बिक्री हुने सामग्री विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। ‘बजार अनुगमन नियमित रुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने गर्छ’ उनले भने। 

समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने खोचलेक बजारका एक व्यवसायी दीपेन्द्र कार्कीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.