श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा। यो दिन रक्षाबन्धनका नामले पनि परिचित छ। द्विजाति (व्रतबन्धादि संस्कार हुने) ले जनै फेर्ने (नयाँ लगाउने) दिनको रूपमा लिन्छन्। यसैगरी हातमा रक्षासूत्र धारण गरिन्छ। सप्तर्षिलाई विशेष तर्पण दिइने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ।
यो दिन बिहान सबेरै तलाउ वा नदीमा स्नान गर्ने विधान छ, जसलाई श्रावणीस्नान भनिन्छ। स्नान सम्पन्न भएपछि सप्तर्षिको उपासना गर्ने विधि छ। कश्यप, भरद्वाज, अत्रि, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठलाई सप्तर्षि भनिन्छ। सप्तर्षिसहित अरून्धती (वशिष्ठ ऋषिकी पत्नी) लाई आवाहन गरी पूजा गरिन्छ। यसै दिन देवालय वा घरैमा बसेर विधिपूर्वक जनैको पूजा गरिन्छ।
जनै मन्त्रिएर मात्रै लगाउनुपर्ने मान्यता छ। त्यसैले वैदिक एवम् पौराणिक मन्त्रले मन्त्रिइन्छ। ब्राह्मण–पुरोहितले मन्त्रेर दिएको जनै वर्षभर लगाउने परम्परा छ।
यो दिन जनैसँगै रक्षासूत्रको पनि पूजा गरिन्छ। यसरी तयार भएको जनै र रक्षासूत्र ब्राह्मण–पुरोहितबाट लगाउने परम्परा छ। जनै व्रतबन्ध भइसकेका द्विजाति पुरुषले मात्र लगाउँछन्। रक्षासूत्र सबैले लगाउँछन्। रक्षासूत्रले विभिन्न विपत्तिबाट बचाउने पुराणमा उल्लेख छ।
किन लगाइन्छ जनै?
सनातन धर्ममा जनैको ठूलो महत्त्व छ। संस्कृत भाषामा जनैलाई यज्ञोपवित भनिन्छ। यज्ञ र उपवित शब्द मिलेर यज्ञोपवित बनेको हो।
यज्ञद्वारा पवित्र पारिएको सूत्रलाई यज्ञोपवित भनिन्छ। विधिपूर्वक तयार गरिएको जनैले बल–बुद्धि र तेज प्रदान गर्छ भन्ने मान्यता छ। हामीले अहिले प्रयोग गर्ने जनै कपासबाट बनाइन्छ।
सामान्यतया वैदिक देव तथा पितृ कार्यमा यज्ञोपवित अनिवार्य मानिएको छ। वस्त्र वा सूत्रको रूपमा प्रयोग गरिने यज्ञोपवितबारे स्मृति–पुराणमा उल्लेख पाइन्छ।
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः।।
अर्थात्, यज्ञोपवित परम पवित्र वस्तु हो, यो सृष्टिको प्रारम्भमै सृष्टिकर्ता ब्रह्माजीको साथमा नै उत्पन्न भएको हो, बल–तेज र आयु प्रदान गर्ने यज्ञोपवित धारण गर्नुपर्छ।
यज्ञोपवितकझ अधिष्ठाता क्रमशः ओ३मकार, अग्नि, अनन्त, चन्द्र, पितृगण, प्रजापति, वायु, सूर्य र सर्वदेव हुन्। विधिपूर्वक यी देवताको आवाहन गरी बनाइएको यज्ञोपवित धारण गर्दा ब्रह्म, तेज, धैर्य, आह्लादकत्व, स्नेह, पालन, शुचि, प्राण र सर्वगुण प्राप्त हुने शास्त्रमा उल्लेख छ।
रक्षाबन्धनको महिमा?
येन बद्धो बलीराजा दानवेन्द्रो महाबल।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।
दानमा नाम कहलाएका राजा बलि वामन अवताररूपी भगवान् विष्णुद्वारा रक्षा गरिएको प्रसंगगसँग रक्षाबन्धन जोडिएको छ।
रक्षाबन्धन गर्दा पढिने मन्त्रमा पनि ‘जसरी बलिको रक्षा विष्णुद्वारा भयो, त्यसैगरी यो रक्षासूत्रले तिम्रो रक्षा होस्’ भन्ने भाव आउँछ।
उपाकर्म आरम्भ गर्ने दिन
वैदिक धर्मावलम्बीको अध्ययन–अध्यापन शुरु गर्ने पवित्र दिनको रूपमा पनि यस दिनको महत्त्व छ। चार वेदमध्ये यजुर्वेदलाई यज्ञप्रधान वेद मानिन्छ।
यजुर्वेदका शुक्ल र कृष्ण गरी दुई भेद छन्। मन्त्र र ब्राह्मण ग्रन्थ छुट्टाछुट्टै भएको यजुर्वेदलाई शुक्लयजुर्वेद भनिन्छ। वाजसनेय (याज्ञवल्क्य) ले प्रवचन गरेको शुक्लयजुर्वेदको शाखालाई वाजसनेयी भनिन्छ। बहुसंख्यक नेपाली ब्राह्मण पनि यसै शाखाका अध्येता छन्।
शुक्लयजुर्वेदीका संस्कारादि कर्म पारस्करगृह्यसूत्रमा उल्लेख छन्। जन्मदेखि मृत्युसम्मका संस्कार आफ्नै वेदशाखाको विधिअनुसार सम्पन्न गर्नुपर्ने बताइन्छ।
अचेल व्रतबन्धका दिन नाम मात्रको वेदारम्भ गराउने चलन छ। पारस्करगृह्यसूत्रमा श्रावण वा भाद्र पूर्णिमामा ब्राह्मणले अध्यायोपाकर्म (उपाकर्म) गरी वेद पढाउने कार्यको थालनी गनुपर्ने उल्लेख छ।
श्रावणपूर्णिमा वा वैदिक नभोमासका श्रवण वा हस्ता नक्षत्र वा अन्य शास्त्रोक्त दिनमा उपाकर्म गरी गुरुबाट विधिवत् चार–पाँच महिनासम्म अध्ययन गर्ने शास्त्रमा उल्लेख छ।
त्यसैले, वर्षाकाल आरम्भ हुनेबित्तिकै वा वनजंगलमा औषधि पलाउन थालेपछि पर्ने पूर्णिमामा मनाउनुपर्ने पर्व अचेल वर्षाको अन्त्यतिर मनाउन थालिएको वेदाङ्ग ज्योतिषका अध्येता बताउँछन्।
चलनचल्तीको पात्रोअनुसार श्रावण शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा र रक्षाबन्धन उपाकर्मकै प्रतीक हो। तर श्रावणीस्नान, जनैपूर्णिमा र रक्षाबन्धनलाई मात्र महत्त्व दिँदा यसको मूल पक्ष भने ओझेलमा परेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।