‘दशैँअघि परीक्षा हुने/नहुने निश्चित छैन’

|
फाइल तस्बिर

काठमाडौं : साउन ३१ गतेबाट शुरू गर्ने भनिएको कक्षा-१२ को परीक्षा हालसम्म रोकिएको छ।

सरकारले कोरोना संक्रमण जोखिमलाई कारण देखाउँदै परीक्षा सञ्चालनमा रोक लगाएको हो। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको थियो।

तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा रोक्न बोर्डलाई प्रस्ताव गरेपछि बोर्डले साउन २३ गते अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

अभिभावक र सरोकारवाला लगायतले परीक्षाअगावै कक्षा १२ का सबै परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाइदिन माग गरिरहेका थिए। अहिले पनि माग गरिरहेकै छन्‌। खोप लगाएपछि मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ।

सोही मागअनुसार नै सरकारले विद्यार्थीहरूलाई खोप लगाउन शुरू गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार गत शुक्रबारदेखि कक्षा-१२ को परीक्षार्थीलाई मध्यनजर गरी काठमाडौं जिल्लाबाट १८ वर्ष माथिकालाई पहिलो मात्राको भेरोसेल खोप लगाउन शुरू गरिएको छ। 

उनले भने, ‘काठमाडौंमा १८ वर्ष माथिकालाई खोप लगाउन शुरू भइसकेको छ। भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा पनि लगाइँदैछ।’

अन्य जिल्लामा पनि यी उमेर समूहलाई खोप लगाउन निर्देशन दिइसकेको गौतमले बताए। परीक्षाअगावै सबै परीक्षार्थीलाई खोप लगाउने योजना रहेको उनको भनाइ छ।

कहिले सञ्चालन होला परीक्षा ?

कोभिडले रोकिएको कक्षा-१२ को परीक्षा हुने/नहुने अन्योलता भने अझै कायमै छ। बोर्डले समेत तत्काल केही भन्न सकेको छैन।

बोर्डका सदस्य-सचिव दुर्गाप्रसाद अर्यालले दशैँअघि परीक्षा सञ्चालन होला भन्न नसकिने बताए। भने, ‘हामीले भनेर हुँदैन, सीसीएमसीले भने पछि मात्रै परीक्षा हुन्छ, हामी त तयारी अवस्थामै छौँ।’

उनका अनुसार सीसीएमसीले तत्कालै निर्णय लिए १५ दिनको समय मिलाएर तालिका सार्वजनिक गरी परीक्षा सञ्चालन गर्न सकिन्छ। तर, हालसम्म सीसीएमसीले केही निर्णय लिन सकेको छैन।

‘यो अवस्था हेर्दा दशैँअघि परीक्षा सञ्चालन हुन्छ भन्न पनि सकिन्न, हुँदैन पनि भन्न सकिन्न,’ सदस्य-सचिव अर्यालले भने।

सबै परीक्षार्थीलाई खोप लगाइसकेपछि मात्रै परीक्षा सञ्चालन गर्ने बोर्डको योजना छ। अर्यालका अनुसार १२ को परीक्षा दिने परीक्षार्थी करिब चार लाख छन्‌।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको  बैठकमा प्रतिनिधिसभाका सांसदहरूले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ।

सांसद जयपुरी घर्तीमगरले विकल्प बिनै कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताउँदै तत्काल विकल्प खोज्न माग गरेकी छिन्‌।

समितिका अर्का सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.