कस्ता मजदुर  प्राथमिकतामा ?

|

काठमाडौं :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण रोजगारी गुमाएका पर्यटन मजदुरलाई सरकारले रोजगारी उपलब्ध गराउने भएको छ।

पर्यटन क्षेत्र लकडाउनले सबैभन्दा प्रभावित भएकाले मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाेर्डले रोजगारी गुमाएका मजदुरका लागि परियोजना संचालन गरेर रोजगारी उपलब्ध गराउन लागेको जनाएकाे छ।

पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएका करिब ५ हजार मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको पर्यटन बोर्डका सुचना अधिकारी मणि लामिछानेले जानकारी दिए। कोरोनाका कारण सबैजसो क्षेत्र प्रभावित भए। त्यसमा पनि पर्यटन क्षेत्र लामाे समयसम्म लयमा फर्कन नसकेकाले मजदुरहरु समस्यामा छन्। 

सुचना अधिकारी लामिछानेले भने,‘समस्यामा रहेका मजदुरको जिविकोपार्जन पुन:उत्थानका लागि दिगो पर्यटन परियोजना सञ्चालन गर्न लागेका हौ।’ पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालन गर्न लागेको हो। 

सो कार्यक्रमको अवधि ६ महिनाको हुने छ। कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्न लागिएको छ। जसमा बोर्डले १० लाख डलर र युएनडिपीको १० लाख ५० हजार सहलगानी गर्ने भएको छ। बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको बोर्डले जनाएको छ। 

कस्ता मजदुर प्राथमिकतामा?

लामिछानेकाअनुसार कोरोना महामारीबाट अति प्रभावितलाई पहिलो प्राथमिकता दिइने भएको छ। परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (र्‍याफ्टिङ) गरिने नदी, ट्रेकिङ, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाका क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने परियोजनाका राष्ट्रिय संयोजकसमेत रहेका लामिछानेले जानकारी दिए।

उनकाअनुसार पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित १ हजार ६ सय  जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, संकेत चिन्हको स्थापना तथा मर्मत सम्भारलगायत कार्यमा संलग्न गराइने भएको छ। उनीहरुलाइ ४० दिन बराबरको रोजगारी प्रदान गरिने भएको छ।

१० स्थानीय तहसँग दिगो पर्यटन परियोजना शुरु

नदीमा जलप्रवाह बढी रहेकोले असोज १ गतेबाट मजदुरलाई काममा लगाइने उनले जानकारी दिए। कीर्तिपुर, चाँगुनारायण, थाहा नगरपालिका, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ ,सोलुखुम्बु, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङ्गाका एक/एक गरी १० स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेकोसमेत जनाएको छ।

महामारीमा कतिले गुमाए रोजगारी?

पर्यटन क्षेत्रलाई मुख्य पेसा बनाएर काम गर्दै आएका ८० प्रतिशत मजदुर यतिबेला बेरोजगार बनेका छन्। पर्यटन बोर्डकाअनुसार क्षेत्र होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर तथा ट्रेकिङ लगायतमा काम गर्नेहरुले पर्यटन क्षेत्र ठप्प भएसँगै रोजगारी गुमाएका हुन्।

कोभिड अगाडि २ लाख ८३ हजारले यस क्षेत्रमा रोजगारी पाएका थिए। कोरोनाले ती मजदुरको रोजगारी खोसेको प्रवक्ता लामिछानेले बताए। उनी भन्छन्,‘२० प्रतिशतले आधा तलब लिएर बसेका छन्,त्यो पनि समयमै तलब पाउने अबस्था छैन।’  

यसै बीचमा ४ सय ७३ वटा साना ठूला होटल बन्द भए। जसले गर्दा होटल व्यवसायको आम्दानी पूर्णरुपमा ठप्प भयो। पर्यटन विभागकाअनुसार ३ हजार ७ सय ४३ ट्राभल एजेन्सी, २ हजार ७ सय ९७ ट्रेकिङ एजेन्सी, ४ हजार २ सय ४१ टुर अपरेटर र १७ हजार ६ सय २६ ट्रेकिङ गाइडलगायत पूर्णरुपमा ठप्प भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.