तत्काल सडक कालोपत्रे गर्नुपर्ने स्थानीयकाे माग

|

काठमाडौं : पुरानो सिनामंगल (पेप्सीकोला) टाउन प्लानिङको धौलागिरि–महेन्द्र एकता मार्ग ४ वर्षदेखि हिँड्नै नसक्ने गरी बिग्रिएको भएपनि मर्मत गर्न र कालोपत्रे गर्न कसैले पनि चासो दिएको छैन। काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाले बनाउने आश्वासन दिएपनि अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको हो। 

वर्षौंदेखि सडक अलपत्र छ। खाल्डाखुल्डीले स्थानीयलाई सकस छ। स्थानीय नवराज आचार्यले भताभुंग सडकले दैनिकी प्रभावित हुँदा पनि सम्बन्धित निकाय रमिता हेरेर बसिरहेको गुनासो गरे। 

उनले भने, ‘करिब एक किलोमिटरको धौलागिरि मार्ग झण्डै ४ वर्षदेखि लथालिंग छ तर कसैले वास्ता गरेको छैन। सडक बनाउने निकायमा अनेकौं बिन्ती बिसाइयो तैपनि बनेन।’ उनका अनुसार अहिले वर्षातको याममा सडकमा खाल्डाहरूमा पानी भरिँदा कतै दह जमेका छन् भने कतै पोखरी बनेका छन्। सवारीसाधन होस् या सर्वसाधारण आवातजावत गर्न पौडनुपर्ने अवस्था छ।

‘महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, यो वडा ३२ का अध्यक्ष नवराज पराजुलीसँग सयौं पटक बनाउन आग्रह गर्‍यौं, जहिले पनि मीठा कुरा गर्छन् र भन्छन्–छिट्टै बन्छ,' उनले भने, 'खै त बनेको? तत्काल बनाउनु पर्‍याे।’ 

०७७ फागुन ७ गते पेप्सीकोलामा महानगरपालिका–३२ को साधारणसभा आयोजना गरिएको थियो। त्यसमा सहभागी महानगरका अधिकारी र जनप्रतिनिधिले पेप्सीकोलाका भित्री सडक कालोपत्रे गर्ने आश्वासन दिएका थिए।

त्यसपछि भद्रगोल र भत्किएको सडकमा सास्ती खेप्दै आवतजावत गर्न बाध्य स्थानीय यो आश्वासनपछि निकै प्रसन्न भएका थिए। तर आश्वासनमा मात्रै सीमित हुनपुग्यो उनीहरूको प्रसन्नता। स्थानीय आचार्यका अनुसार त्यही बाटोबाट मनोहरा पुल,सूर्यमुखी चोक,कागेश्वरी पुग्न सकिन्छ। 

किन बनेन सडक ?

उक्त सडक मर्मतका लागि सेरा कन्स्ट्रक्सन कम्पनीसँग ०७४ वैशाख १३ गते करिब ९६ लाख २४ हजार रूपैयाँमा ठेक्का भएको थियो। ठेक्काअनुसार ठेकेदारले ०७५ सम्ममा पुरानो सिनामंगल क्षेत्रको सडक कालोपत्रे गरिसक्नुपर्ने थियो।

तर काम भएन। महानगरपालिका वडा-३२ का अध्यक्ष पराजुलीले सुरुमा ठेक्का लिएको ठेकेदारले काम नगरेकाले समयमा बन्न नसकेको दाबी गरे।

उनले भने, ‘३ वर्ष अगाडि  टेन्डर पाएको ठेकेदारले काम गरेन। उसलाई कारबाही गर्दैमा एक वर्ष बित्यो। फेरि अर्को टेन्डर आह्वान गरी नयाँ ठेकेदारलाई ल्यायौँ तर उसले पनि काम गर्दागर्दै सडक पिच गर्न नसक्ने भनी पत्र दिएर नै छोड्यो। त्यही भएर काम हुनै सकेन।’

‘नयाँ ठेक्का लगाएपछि सडक पिच हुन्छ’

अध्यक्ष पराजुलीले फेरि नयाँ टेन्डर आह्वान गर्न लागेको बताए। ‘एकदुई दिनमा फेरि नयाँ टेन्डर आह्वान गर्दै छौँ,’ उनले भने, ‘यसका लागि ३ महिना लाग्छ,त्यसपछि सडक विस्तार हुन्छ।’

उनका अनुसार यस वर्ष सडक मर्मत र विस्तारका लागि ३ करोडको योजना बनाइएको छ। उनले भने, ‘प्लानिङ क्षेत्रको सडक चौडा हुनेछ, सबै भित्री सडक पनि मर्मत गर्ने हाम्रो योजना छ।’

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.