|

कञ्चनपुर : कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष दुईजना पर्यटक मात्रै भित्रिएका छन्।

भारतस्थित नेपाली राजदुतावासबाट अनुमति लिएर आएका दुईजना भारतीय पर्यटक अगस्ट महिनामा भित्रिएका हुन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमा नाका हुँदै भारततर्फ गएका छन्।

कोरोनाको दोस्रो लहर सुरु भएपछि सीमा नाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए। उनका अनुसार सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सीमा नाका भएर ६२० जना पर्यटक नेपाल भित्रिएका थिए। सोही अवधिमा ५१९ पर्यटक भारततर्फ गएका थिए।

कोरोनाको पहिलो लहर सुरु हुनुभन्दा अघि सीमा नाका हुँदै प्रतिवर्ष दुई हजारको हाराहारीमा पर्यटक नेपाल भित्रिने गरेका थिए। सोही संख्यामा पर्यटक भारततर्फ जाने गरेका थिए।

‘कोरोना भाइरसको संक्रमण बढन थालेपछि सीमा नाका बन्द गरिदा पर्यटक आउन पाएनन्‚’ सूचना अधिकारी भट्टले भने, ‘हाल सीमा नाका भएर नेपाल र भारतका व्यक्तिहरुलाई मात्रै जान दिइने गरेको छ। दुतावासबाट अनुमति लिएर आएका विदेशीलाई मात्रै सीमा प्रवेश दिइने गरेको छ।”

अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१९ मा सीमा नाका भएर दुई हजार ९३४ पर्यटक भित्रिएका थिए। सोही अवधिमा दुई हजार २९२ पर्यटक सीमा नाका हुदै बाहिरिएका थिए।

सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रएकोमा दुई हजार २२२ पर्यटक बाहिरिएका थिए। सन् २०१७ मा दुई हजार ७४५ आएका, एक हजार ७८९ बाहिरिएका थिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.