भक्तपुर : हास्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा आठ रात नौ दिन मनाइने साँया (गाईजात्रा) पर्व आज बिहान तलेजु भवानीको साँया निकालेसँगै सुरु भएको छ। तलेजुको साँया निकालेपछि मात्र सर्वसाधारणले दिवंगत भएका आफन्तको सम्झनामा साँया निकाल्ने परम्पराअनुसार बिहान भालेको डाँकोसँगै तलेजु भवानीको साँया नगर परिक्रमा गरिएको हो।
साँपारु धार्मिक तथा सांस्कृति महत्व बोकेको पर्व हो। भक्तपुरमा साँपारुको औपचारिक सुरुवाट जनै पूर्णिमाको साँझ नै गरिन्छ। साँपारुको पूर्व सन्ध्यामा जनै पूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा साँपारु पर्व सुरु हुने परम्परा छ।
यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण साँपारु पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायहरुको आग्रह र निर्णयका कारण आइतवार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ।
भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्राभन्दा भिन्न र विशेषको जात्राको रुपमा लिइन्छ। भक्तपुरमा यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिनदेखि कृष्णाष्टमीसम्म आठ रात नौ दिन मनाइन्छ।
गाईजात्राको मुख्य दिन वर्ष दिनभित्र मरेकाहरुको आत्माले मोक्ष प्राप्त गरून् भनी तहामचा (बाँसको चारखुट्टे रथ जस्तो जसमा कपडाले बेरेर मृतक व्यक्तिको तस्विर र टुप्पामा गाईको प्रतीक चित्र र परालको सिङ राखिएको हुन्छ)लाई काँधमा बोकेर नगर परिक्रमा गरिन्छ। तहामचासँगै धाँ बाजा, ताःबाजा र धिमाय् बाजाको संयुक्त तालमा नाच्ने घिन्ताङघिसीले नाचले जात्राको रौनक नै बदलिने गर्दछ। जात्राको मुख्य आकर्षण नै यो नाच हो।
नेवारी मृत्यु संस्कारअनुसार मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाहरुको भने डोकोमा गाईको प्रतीक चित्र र परालको सिङ राखेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको मात्र तहामचा बनाई नगर परिक्रम गर्ने प्रचलन रहेको संस्कृतिविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए। तहामचा नगर परिक्रमा गर्नुअघि घरको मुल ढोकाअगाडि पुरोहितले क्रियापुत्रद्धारा पूजा संकल्प गराई विधि बमोजिम पूजा गरी मृतकको आत्मा सजिलैसित स्वर्गलोकमा पुगोस् भन्ने कामना गरिन्छ। कसैकसैले मृतकको स्मृति झल्काउने करुण रसका गीति लीला रामायणहरु समेत प्रदर्शन गर्ने प्रचलन छ।
भक्तपुर कै तालाकोस्थित कुमालेहरुले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गर्दछन्। ‘कुमालेहरुको पुर्ख्यौली पेशा माटोका भाँडा बनाउनु हो। त्यसैले उनीहरुले आफ्नै मौलिक पुर्ख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गर्ने परम्परा बसेको हो,’ प्राडा श्रेष्ठले भने, ‘केटाकेटीहरुलाई आकर्षक तवरले महादेव पार्वतीको भेषमा सिँगारी बाजागाजाका साथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलन पनि छ।’
गाईजात्राको दिन विधिवत रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ।
राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन छैन। मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौं उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्राडा श्रेष्ठले बताए।
किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपछि रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको हो। यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यग्य, ख्याल ठट्टा समेत प्रदर्शन गर्न राजाले आदेश दिएकाले गाईजात्राको अवसरमा हास्य व्यंग्य समेत प्रदर्शन गरेको मान्यता छ।
तर‚ प्राडा श्रेष्ठ भने राजा जयस्थिती मल्लभन्दा पहिल्यै गाईजात्रा मनाउँदै आइएको दावी गर्छन्। राजा जयस्थिती मल्लले सम्पादन गरेको गोपालवंशालीमा साःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाईन्छ भन्ने मान्न सकिने उनको भनाइ रहेको छ। उनले भने‚ ‘विक्रमको १४ औं शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु रहेको छ।’
भक्तपुरमा यो पर्व नौ रात आठ दिन दैनिक जस्तो साँझ पख घिन्ताङघिसी नाचसँगै विभिन्न हास्य व्यंग्य, ख्याल ठट्टायुक्त प्रहसन, धार्मिक र ऐतिहासिक महत्वका सांस्कृतिक नाचहरु देवी प्याखँ, माक प्याखँ, नागाचा प्याखं, लाखे प्याखं, देवी नाचलगायतका नाच प्रदर्शन गर्ने परम्परा रहे पनि यस वर्ष कोरोनाका कारण ती नाचहरुको प्रदर्शनलाई स्थगित गरिएको छ। साथै दत्तात्रय जात्रा, भैल द्य जात्रा, भिन्द्य जात्रा, बाराही जात्रा, कृष्ण जात्राहरुलाई नगर परिक्रमा गराइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।