|

काठमाडौं :  वैदेशिक रोजगार विभागले इजरायल वैदेशिक रोजगारीमा जानका लागि आवेदन दिएकाहरूकाे परीक्षा भदौ अन्तिम सातामा गर्ने तयारी गरेको छ।

इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा १ हजार  सहयोगी माग गरेको छ। जसका लागि आवेदन दिएकाहरूकाे परीक्षा गर्ने तयारी गरेको हो। स्थानीय प्रशासन, सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परीक्षा केन्द्र र मिति तोक्नका लागि पत्राचार गरिसकिएको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी दिए।

उनले भने,‘इजरायल रोजगारीका लागि लिइने परीक्षा भौतिक उपस्थितिमै गरिने छ’ सीसीएमसीले उपलब्ध गराएको समयमा परीक्षा गरिने छ। उनले थपे,‘स्वास्थ्य मापदण्ड पुरा गरी भदौ अन्तिमसम्ममा परीक्षा गर्ने तयारीमा छौ।’ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आफैले परीक्षा तालिका तोक्न समस्या भएको विभागले जनाएको छ। 

इजरायलमा रोजगारीका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंक ल्याउने उत्तीर्ण हुने छन्। तर मेरिटका आधारमा छनोटमा परेकालाई अन्तरवार्ताका लागि बोलाइने छ।

इजरायलले पहिलो चरणमा १ हजार कामदार माग गरेको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिला गरी ९ हजार ६ सय ९९ आवेदन परेको विभागकाे इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।

उनकाअनुसार माग भन्दा ९ गुणा बढी आवेदन परेको छ। आकर्षक तलब सुविधा भएकाले धेरै आवेदन परेको विभागको भनाइ छ। इजरायल रोजगारीमा परेका आवेदनको भेरिफिकेशन भइरहेको उनले जानकारी दिए।

पहिलो चरणमा शैक्षिक योग्यता, सीप तथा तालिम, तौल, उचाइलाई हेरिन्छ। साथै अनलाइन फारम भर्दा प्रमाणपत्र स्पष्ट नदेखिएकालाई मौका दिइने विभागले जनाएको छ। २४ घण्टा समय दिएर आवेदकलाई फोन वा इमेलबाट जानकारी गराइने उनले बताए। 

उनकाअनुसार रोजगारीका लागि इजरायल जानेको मासिक तलब करिब १ लाख ९३ हजार रूपैयाँ हुन्छ। कामदारले खाने व्यवस्था आफैं गर्नुपर्छ भने आवासको व्यवस्था रोजगारदाताले नै मिलाउँछ। इजरायलमा ३ सय जना पुरुष (३० प्रतिशत) र ७ सय (७० प्रतिशत) महिला गरी हजार जनाले रोजगारी पाउने शाखा प्रमुख सुनुवारले जानकारी दिए। सम्झौतासँगै इजरायलले स्याहारसुसार, कृषि, होटल/रेस्टुरेन्ट, निर्माण लगायत विभिन्न क्षेत्रमा नेपालीलाई रोजगारी दिने छ।

सरकारले इजरायल जान चाहने कामदारका लागि मापदण्ड  बनाएको छ। कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, डेढ मिटर उचाइ र कम्तीमा ४५ किलाेग्राम तौल भएको हुनुपर्ने छ। इजरायलको स्थानीय भाषा जान्नै पर्ने बाध्यता छैन। अंग्रेजी भाषा भने जानेकाे हुनुपर्ने छ।  

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङ सम्बन्धी तीन महिनाको तालिम लिएको व्यक्तिले कामदारका लागि आवेदन दिन पाउने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.