|

धनकुटा : सोमबार देशभर गाईजात्रा पर्व मनाइँदै छ। नेवार समुदायले मनाउने यो पर्व भदौ कृष्ण प्रतिपदाका दिन मनाइन्छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई वा मानिसलाई गाईका रुपमा सिँगारी आ–आफ्नो ठाउँमा परिक्रमा गराइने र उनीहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ।

मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप हांस्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

धनकुटामा सोमबार विभिन्न टोलबाट निकालिएको छ। धनकुटामा निकालिएको गाईजात्रालाई गएका वर्षहरुमा एकैपटक बजार परिक्रमा गराउने गरिन्थ्यो भने योपटक कोरोना वडा वडाका मात्रै जम्मा गरेर वडा क्षेत्रभित्र मात्रै परिक्रमा गरिएको स्थानीय नविनकिशोर शाक्यले बताए। यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको कारणले खासै रौनक देखिएन।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। सरकारले चाडपर्व मनाउँदा भिडभाड नगर्न सूचना जारी गरेको र कोरोना संक्रमणकै कारण गाईजात्रामा पहिलेजस्तो रौनक नभएको शाक्यले बताए।

मृत्यु शोकको अनौठो उत्सव

हुन त गाईजात्रामा पहिले र अहिलेको परम्परामा धेरै फरक आइसकेको छ। पहिले गाई नै चाहिन्थ्यो भने अहिले मानिसलाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको छ। अहिले गाईजात्रालाई दिवंगत आफन्तको नाममा गाईजस्तो आकृति बनाएर नगर परिक्रमा गराउने पर्व भनेर बुझ्न थालिएको प्रदेश संसद कुशुम कुमारी श्रेष्ठले बताइन्। तर, गाईजात्रा यति मात्र त हुँदै नभएको जानकारहरु उनको भनाइ छ। संस्कृतिविदहरु गाईजात्रालाई शोक र उल्लासको संगम मान्छन्।

हास्यव्यंग्यका रुपमा गाईजात्रा

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिक रुपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना समेत हुने गरेको छ।

पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य अंक प्रकाशन गरिन्छ। पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.