|

चितवन : दुर्लभ एकसिंगे गैंडाको खाग तस्करीमा नेपाल प्रहरीका घुमुवा नै संलग्न रहेको पाइएको छ। प्रहरीका उच्च अधिकारी र नेताहरुसँग राम्रो सम्बन्ध बनाएका घुमुवा प्रहरीले तल्लो तहका मान्छेलाई धम्क्याएर खाग तस्करीमा संलग्न गराउने र खाग बेचबिखन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जको अनुसन्धानबाट खुलेको हो।

२०७६ भदौमा गैंडाको शिकार गरी खाग तस्करीमा संलग्न रहेको अभियोगमा निकुञ्जले जाजरकोट शिवालय गाउँपालिका–२ डुंग्रा स्थायी घर भई नेपाल प्रहरीको काठमाडौं दरबारमार्गमा घुमुवा प्रहरीमा कार्यरत २७ वर्षीय वीर बहादुर बस्नेतलाई साउन २६ गते पक्राउ गरेको छ।

बस्नेतसँगै मकवानपुर बागमती गाउँपालिका–३ पाँचपाण्डव बस्ने ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, चितवन खैरहनी नगरपालिका–६ रिजालटोल बस्ने २५ वर्षीय आरोष उप्रेती, भरतपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रण बहादुर भन्ने जीत बहादुर कुमाल र कालिका नगरपालिकाका तारा चेपाङलाई पक्राउ गरेको छ।

उनीहरुविरुद्ध सोमबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । कुमाल र चेपाङ यसअघि नै खाग तस्करीमा संलग्न रहेको आरोपमा कारागार चलान भएका हुन्। नवलपरासीस्थित बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा २०७६ भदौमा वयस्क भाले गैंडा मारी त्यसको खाग तस्करी गरेको अर्काे घटनाको अनुसन्धानका लागि उनीहरुलाई कारागारबाट झिकाइएको हो।

खाग तस्करी गर्न आउँदा चितवनका तत्कालिन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लसँग भेटघाट हुने गरेको प्रतिवादी वीर बहादुर बस्नेतले पत्रकार सम्मेलनमा स्वीकारे। तल्लो तहका व्यक्तिलाई धम्क्याएर काम लगाउनका लागि वीर बहादुरले आफु कार्यरत प्रहरी कार्यालयबाट नै पेस्तोल र हतकडी ल्याएको स्वीकार गरेका छन्। उक्त घटनामा १५ जना प्रतिवादी संलग्न रहेको अनुसन्धानबाट खुलेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

१५ जनामध्ये पाँच जनालाई मात्रै प्रहरीले सोमबार सार्वजनिक गरेको हो। अरु १० जना प्रतिवादी फरार रहेको उनले जानकारी दिए। ‘वीर बहादुर बस्नेत र मेख बहादुर नेपाली त्यतिबेला पनि जिल्ला प्रहरी कार्यालयमा बस्ने र आरोष उप्रेतीलाई बोलाई कुराकानी गरेको पाइन्छ। प्रहरी अधिकारीसँग भेटेर माथिल्लो तहका प्रहरीसँग सम्बन्ध रहेको देखाउन खोजेको जस्तो देखिन्छ’, उनी भन्छन्, ‘आरोषलाई यहाँ खाग किनबेच गर्न मान्छे बुझ्न र ओसारपसार गर्न खटाउने गरेको पाइएको छ।’

खाग तस्करी मुद्दाका अभियुक्त मेख बहादुर नेपाली यसअघि पाटन उच्च अदालत हेटौंडा इजालसबाट धरौटीमा छुटेका थिए। मुद्दाको फैसला भएको छैन। मेख बहादुरले घुमुवा प्रहरी वीर बहादुरको सुराकीका रुपमा काम गरेको अनुसन्धानबाट खुल्न आएको छ’, बरालले भने। दुई जना मिलेर नै विभिन्न गतिविधि गर्ने गरेको पाइएको उनी बताउँछन्।

मेख बहादुर खाग तस्करीमा योसहित दुई वटामा संलग्न भएको पाइएको छ। यी बाहेक अन्य दुई वटा घटनामासमेत संलग्न रहेको कुरा उनले स्वीकार गरेको बरालले बताए। ‘यससँगै मेख बहादुरले कम्तिमा चार वटा खागको किनबेच गरेको भन्ने खुल्छ’, उनले भने।

घटनाक्रम यस्तो 

जित बहादुर नेपाली र फरार प्रतिवादीहरु रामकुमार प्रजा र बम कुमार प्रजा लगायतले २०७६ भदौमा गैंडा मारी बञ्चरोले खाग काटी आफ्नो घरमा लगे। घरमा लगेर खागलाई पकाए। त्यसपछि कालिका नगरपालिका–९ मा पर्ने पुलपारी काँसघारीमा पुगेर प्रतिवादी घुमुवा प्रहरी वीर बहादुरलाई खाग बिक्री गरे।

वीर बहादुरले मेख बहादुरलाई छलेर काठमाडौं पुगी तिब्बतीयन नागरिक योन्जन छिरिङलाई बेचे। आफुलाई छलेर खाग बेचेको थाहा पाएपछि मेख बहादुर काठमाडौं पुगेर तिब्बतीयन नागरिकलाई धम्क्याएर खाग फिर्ता लिए।

पछि पुनः उनै व्यक्तिलाई ५५ लाख रुपैयाँमा खाग बेचे। वीर बहादुरको बयानअनुसार मेख बहादुरले पाँच लाख राखेर बाँकी ५० लाख वीर बहादुरलाई दिए। त्यसपछि १० लाख आफुले राखेर ४० लाख रुपैयाँ तल्लो तहमा खटिने व्यक्तिहरुलाई दिएको कुरा वीर बहादुरले बताएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल बताउँछन्।

‘तल्लो तहमा खटिनेले पैसा नपाए मार्ने काट्ने बताएपछि उनीहरुलाई पैसा दिएको वीर बहादुर बताउँछन्’, बरालले भने, ‘लोकल एजेन्टका रुपमा आरोष उप्रेती खटिएको देखिन्छ।’ सुराकीको काम गर्दै आएका व्यक्तिसमेत खाग बेचेर पैसा आउने रहेछ भन्ने थाहा पाएपछि यसमा संलग्न हुने गरेको पाइएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.