|

झापा : बिर्तामोडस्थित होटलमा कोरोनाविरुद्धको खोप लुकाएको आरोप पुष्टि नभएको छानबिन समितिले ठहर गरेको छ।

छानबिन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले आरोप पुष्टी नभएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार तिमिल्सिनालाई सोमबार बुझाएका छन्। 

छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले खोप बुझ्ने र बुझाउने सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने रायसहित प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदन बुझ्दै प्रजिअ तिमिल्सिनाले छानबिन समितिलाई धन्यवाद दिँदै डिसिएमसीको बैठकमा प्रतिवेदन पेस गर्ने र उसको निर्णयअनुसार कानुनी प्रक्रिया अघि बढाउने बताए। छानबिन समितिले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोषाध्यक्ष रञ्जित प्रसाईं, राससका झापा प्रमुख अम्बिका भण्डारीको उपस्थितिमा प्रतिवेदन बुझाएको थियो।

यता प्रतिवेदनमा बिर्तामोड नगरपालिकालाई सो खोप कानुनी प्रक्रिया पूरा गरी विधिसम्मत जिल्ला स्वास्थ्य कार्यालय झापाले पठाएको उल्लेख छ। समिति संयोजक रिमालले गलत मनसायबाट होटेलमा खोप नपुर्‍याएको देखिएको बताए।

‘बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खडकाले होटलमा खोप बुझ्नु चरम लापरबाही गरेकै हो,’ उनले भने, ‘तर मनसाय गलत थिएन ।’ उनका अनुसार छानबिन समितिले स्वास्थ्य कार्यालय, नगरपालिका, प्रत्यक्षदर्शी र होटल सञ्चालकसँग सोधपुछ गरेको थियो।

समितिले स्वास्थ्य कार्यालयबाट खोप प्रक्रिया पूरा गरेर वा नगरी पठाएकोबारे खोजी गरेको बताउँदै समितिका एक सदस्यले भने, खोप लुकाइएको भन्ने प्रमाणित भएन, होटलमा लगिएको विषयलाई मात्र गलत भनिएको छ।’ होटलमा लैजानु गलत भए पनि कुनै नियत नदेखिएको उनले बताए।

गत साउन १५ गते बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्काले होटल टाइमलेस मोमेन्टमा १ सय ३ भाइल खोप लुकाएको आरोप लागेको थियो। त्यसपछि बिर्तामोडका विभिन्न संघसंगठन, राजनीतिक दलहरूले त्यसको विरोध गर्दै कारबाहीको माग गरेका थिए।

साथै उनीहरूले बिर्तामोड नगरपालिकामा समेत तालाबन्दी गरेका थिए। त्यसपछि प्रशासनले सहायक प्रजिअ रिमालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.