|
फाइल तस्वीर

धनगढी : टीकापुर घटना भएको ६ वर्षपछि पनि थरुहट/थारुवान संयुक्त मोर्चा अधिकार प्राप्तिका लागि भन्दै शान्तिपूर्ण आन्दोलन जारी नै छ। थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस ‘कालो दिन’का रूपमा मनाएका छन्। आन्दोलन जारी राखेको मोर्चाले मंगलबार पनि ‘कालो दिन’ का रूपमा मनाएको छ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै थारुवान/थरुहटको आन्दोलनमा कैलालीको टीकापुरमा भएको घटनाको सोमबार ६ वर्ष पुगेको छ। ०७२ भदौ ७ गते टीकापुर घटना घटेको थियो। ​थरुहट/थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले घटना भएको ६ वर्ष पुगेको अवसरमा सोमबार लम्कीमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए। 

६ वर्षअघि भएको आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक डेढ वर्षीय बालक टेकबहादुर साउदको ज्यान गएको थियो। घटनामा अदालतले मुख्य दोषी ठहर गरेका रेशम चौधरीले आजीवन कैद भोगिरहेका छन्।

थारु समुदायको अधिकार र रेशम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको माधवले बताए। मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म र्‍यालीसहित टीकापुर विद्रोह दिवस ‘कालो दिन’ मनाएको हो।

करिब साढे ३ वर्षपछि टीकापुर घटनासम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र १ बाट विजयी सांसद रेशमसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

अदालतले रेशमसहित हरिनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो। श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० वर्ष जेल सजाय तोकिएको थियो।

यस्तै लक्ष्मण थारू, लाहुराम चौधरीलगायत १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरू कैद भुक्तान गरेर छुटेका थिए। तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारूलाई पनि जन्मकैद हुुने फैसला सुनाइएको थियो। अहिले उनी फरार छन्।

६ महिना कैद सजाय तोकिएका करन चौधरी रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए। अझै फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुल्तवीमा राखेको छ।

अदालतबाट थारू समुदायमाथि अन्याय भएको भन्दै रेशम चौधरी सहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट/थारुवान मोर्चाले राख्दै आएको छ। उसले काठमाडौंको माइतीघरमण्डलमा विभिन्न कार्यक्रम गरी तेस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ। टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियानअन्तर्गत विरोध कार्यक्रम थालिएको मोर्चाले जनाएको छ।

पीडित परिवारको पिरलो दोषी छुट्ने हुन कि ?
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का प्रेमसिंह बोहरा दिनहुँ हरक्षण टीकापुर घटना सम्झिन्छन् र त्यसमा रुमलिन्छन्। त्यो घटनामा आफ्नो बुढेसकालको भरोसा छोरा गुमाएका उनी त्यसलाई प्रयास गरे पनि बिर्सनै सक्दैनन्।

घटनामा मारिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहराका बुबा हुन्, प्रेमसिंह। ०७२ भदौ ७ मा भएको टीकापुर घटनामा जेठो छोरा गुमाएका प्रेमसिंहले केही महिना अगाडि वैशाख ४ गते माइलो छोरा पनि गुमाए। माइलो छोरा महेशको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।

अकालमै दुई छोरा गुमाएका प्रेमसिंह अहिले अर्को चिन्तामा छन्। जेठो छोराको हत्यारालाई कारबाही भएको हेर्ने उनको धोको थियो। अदालतले फैसला पनि सुनाएको छ। तर जेठो छोराको हत्यामा संलग्न दोषी छुट्ने हुन् कि ? भन्ने चिन्तामा छन्, उनी। टीकापुर घटनाको मुद्दा फिर्ता हुनेबारे बेलाबेला चल्ने चर्चाले उनलाई चिन्तित बनाउँछ।

यसअघिको ओली सरकारले गठन गरेको सरकारी टोली र थरुहट–थारूवान संयुक्त संघर्ष समितिबीच भएको वार्तामा रेशम चौधरीलाई छाड्न सरकारले वचन दिइसकेको थियो। ‘अब सरकारले नै मुद्दा फिर्ताका लागि पहल गर्ने सहमति गरेपछि हामी पीडितमाथि कसले न्याय गर्छ ? यस्तो देशमा हामी न्याय खोज्न कहाँ जाऔँ ? न्याय मर्छ जस्तो लाग्दैछ,’ त्यसबेला प्रेमसिंहले भनेका थिए। उनको भनाइ छ– छोराको हत्यामा संग्लन दोषी नछुटुन्, न्याय नमरोस्।

के थियो टीकापुर घटना ?
थरूहट आन्दोलन चर्किंदा ०७२ साल भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भीडको आक्रमणमा परेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी क्रुर किसिमले मारिएका थिए। एक नाबालक पनि मारिएका थिए। घटनापछि कैलालीमा एक महिनाभन्दा बढी समय कर्फ्यु लाग्यो भने ५८ जनाविरुद्ध मुद्दा चल्यो।

घटनापछि फरार रेशम चौधरी ०७४ सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट कैलाली १ बाट सांसद निर्वाचित भए। चुनाव जिते पनि उनी फरार थिए। तर पछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे। टीकापुर घटनाका मुख्य योजनाकार भएको अभियोग खेपेका रेशमको सजाय घटाउनुपर्ने दबाब त्यतिबेलादेखि नै परेको थियो। तर देशभरि चर्किंदो विरोधका कारण उनको सजाय घटेन, उल्टै बढ्यो।

राजपाले संसदमा बारम्बार आवाज उठाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई सांसदको शपथ गराए। त्यसअघि सर्वोच्च अदालतले रेशमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला र उच्च अदालतले दिएको आदेश सदर गरेको थियो।

तर उनको पक्षमा राजपाले आवाज उठाउन छाडेन। राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दा पनि रेशमलाई रिहा गर्नुपर्ने सहमति गरेको थियो। तर ओलीले त्यो सहमति कार्यान्वयन नगरेपछि राजपा सरकारबाट बाहिरिएको थियो।

जिल्ला अदालत कैलालीले रेशमसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यही फैसला उच्च अदालत र सर्वोच्चले सदर गरेपछि रेशम रिहा हुने बाटो बन्द भएको थियो।

रेशमसहित हरिनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद सुनाइएको थियो। 

करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भइसकेकाले थुनामुक्त गर्न आदेश भयो। जिल्ला अदालतको फैसलाविरुद्ध दोषी ठहर भएकाहरूले उच्च अदालत दिपायलमा पुनरावेदन गरे। रेशमसहित ८ जनालाई उच्च अदालत दिपायलले पनि जिल्ला अदालतकै फैसला सदर गरिदियो। ४ जनाको भने सजाय घटाएर फैसला सुनायो।

यसअघि ३ वर्ष जेल तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको फैसला सुनायो। जन्मकैद हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी थिए।

सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष कैद गर्न आदेश दिएको थियो। टीकापुर घटनाको दिनदेखि नै कैलालीमा कर्फ्यु आदेश जारी भएको थियो। दोस्रो दिन थारू समुदायका ८० भन्दा बढी घर, पसलमा आगजनी भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.