|

काठमाडौं : तपाईंको घरमा पाहुना किन आउँछन्? पाहुना आगमनले घरमा ल्याउन उल्लास के हो? हामी किन पाहुना हुन आफन्तको घरमा जान्छौँ? पाहुनाले बोकेको सामाजिक महत्व के छ?

यो कन्टेन्टमा हाँस्यरस मिसाएर कमेडी च्याम्पियनका कैलाश कार्कीले टप ५ मा पुग्ने सपना देखेका थिए। रिहर्सल चलिरहेको थियो। उनी कन्टेन्ट सम्पादन गरिरहेका थिए।

तर, च्याम्पियनको व्यवस्थापनका एक सदस्यले उनलाई फोन गरेर भने, ‘एकछिन भेटौँ, कता हुनुहुन्छ?’ उक्त सन्देश कार्कीलाई मात्र आउनु भनेको सायद आउट हुनुको कारण थियो। त्यसपछि कार्कीलाई लाग्यो, ‘सायद म च्याम्पियनको होडबाट बाहिरिएँ।’

उनले सही अड्कल काटे। नभन्दै उनी आउट भएको खबर आयो। खबरले पक्कै उनलाई खुशी मिलेन। तर, वास्तविकता त्यही थियो, जे उनले सुने। उनलाई अहिले पनि थकथक लाग्छ, ‘मैले पाहुनाको त्यो कन्टेन्ट च्याम्पियनको स्टेजबाट सुनाउन पाइनँ।’

दर्शकको मायाले म कमेडियन बनेँ नि त! उपाधि होडमा थिएँ, बाहिरिएँ। तर, मैले च्याम्पियनको माध्यमबाट केहि हदसम्म दर्शक हँसाउन सकेँ कि भन्ने लाग्छ।

एकदिन कुनै स्टेजमा उनले यो कन्टेन्ट दर्शकलाई सुनाउने नै छन्। च्याम्पियनबाट बाहिरिँदै गर्दा उनले दर्शकको खुबै माया पाएका छन्। त्यो भन्दा बढी कुनै पनि काममा निरन्तरता ठूलो हो भन्ने बुझेका छन्। उनी भन्छन्, ‘मलाई कमेडी च्याम्पियनले कुनै पनि काममा निरन्तरता दिनुपर्छ भन्ने कुरा सिकायो।’

उनी दुई वर्ष अघि केवल कैलाश कार्की थिए। अब उनको परिचय फैलिएको छ। कमेडियन बनेका छन्। ‘दर्शकको मायाले म कमेडियन बनेँ नि त!’ उनी भन्छन्, ‘उपाधि होडमा थिएँ, बाहिरिएँ। तर, मैले च्याम्पियनको माध्यमबाट केहि हदसम्म दर्शक हँसाउन सकेँ कि भन्ने लाग्छ।’

‘मान्छे हँसाउनु दामी काम हो’

सोलुखुम्बुमा एसएलसी दिए उनले। प्रथम श्रेणीमा पास भए। विज्ञान विषय लिएर पढ्ने लक्ष्यसाथ काठमाडौं आए।

काठमाडौं आएपछि उनले विज्ञान होइन मानविकी लिए। उनी भन्छन्, ‘विज्ञान पढ्ने कि मिश्रित विज्ञान पढ्ने भन्नेबारे दोमन थियो। शुद्ध विज्ञान पढ्ने हो भने भविष्यमा एमबीबीएस पढ्नुपर्छ भन्ने लाग्थ्यो। तर म औधी नै अब्बल विद्यार्थी होइन। मलाई समाज बुझ्नु थियो। त्यसैले मैले मानविकी विषय लिएँ।’

बाल्यकालदेखि नै हँसाइरहनु पर्ने र गम्भीर कुरालाई पनि रमाइलो पारामा भनेर खुसहाल माहोल बनाउने उनको बानी थियो। तर, प्लस टु पढ्दासम्म उनलाई मनोरञ्जन दुनियाँमा आउँछु भन्ने लागेको थिएन। उनी डान्सर बन्न चाहन्थे।

तर, सामाजिक संजाल वा युट्यूबमा आएका कमेडी विधाका सामग्रीले उनलाई लोभ्याउन थाल्यो। उनलाई लाग्न थाल्यो, ‘मसँग पनि अलिअलि हँसाउने कला छ। शुरू गरिदिनुपर्छ कि के हो?’

आफूले कन्टेन्ट सुनाउँदा पनि अगाडिको मान्छे हाँसेन भने त लास्टै तनाव हुने रहेछ। जोक सुनाउँदा मान्छे हाँसेनन् भने यो भन्दा अर्को कमेडी के हुन सक्छ?

त्यसपछि हँसाउने कला साथीभाइ माझ प्रस्तुत गर्न थाले। साथीहरू पीडामा पनि मुस्कुराउन थाले। परिवारका सदस्यलाई सुनाउन थाले। परिवारका सदस्यले पनि मुस्कान दिन थाले। गाउँघरतिर पनि हल्का डोज फ्याँके। गाउँले पनि हाँस्न थाले।

त्यसपछि उनलाई मान्छे हँसाउने लत लाग्यो। ‘आफू अगाडिका मान्छे हाँस्नु भनेको दामी कुरा हो। पीडामा भइरहेको मान्छेलाई एकैछिन भएपनि हँसाउने अवसर पाइयो भने त आफूलाई भाग्यमानी माने हुन्छ,’ उनले रमाइलो तरिकाले गम्भीर वाक्य बोले, ‘त्यसपछि मैले कमेडी च्याम्पियनमा जाने निर्णय गरेँ।’

‘जोक सुनाउँदा मान्छे हाँसेनन् भने त...’

युट्यूब वा स्टेजमा अर्काले गरेको कमेडी देख्दा म पनि सकिहाल्छु नि भन्ने लाग्थ्यो उनलाई। रुवाउनुभन्दा हजारौं गुणा गाह्रो हँसाउने काम हो भन्ने कुरा उनले भोग्नै बाँकी थियो। किनभने, उनी आफैँ स्टेजमा पुग्न बाँकी थियो। आफैँ स्टेजमा पुगेर हँसाउन कति गाह्रो हुने रहेछ भन्ने अनुभव गराउन च्याम्पियन सिजन-१ आयो।

उनले स्टेज पर्फम गरे। अलि अलि डर र अलि उत्साह बोकेर उनी च्याम्पियन सिजन-१ को स्टेज चढे। ‘अर्काले गर्ने कमेडी र आफैँले स्टेजमा गर्ने कमेडी त आकाश-पाताल फरक रहेछ नि!’ उनी स्टेज पर्फमको अनुभव सुनाउँछन्, ‘आफूले कन्टेन्ट सुनाउँदा पनि अगाडिको मान्छे हाँसेन भने  के गर्ने? भन्ने कुराले लास्टै तनाव हुने रहेछ। सम्झनुस त! जोक सुनाउँदा मान्छे हाँसेनन् भने यो भन्दा अर्को कमेडी के हुन सक्छ?’

च्याम्पियनको फर्म्याटअनुसार कुनै विषयमा कन्टेन्ट तयार गर्नु, एउटा समय सीमामा बसेर प्रस्तुती दिनु र निर्णायकको मन जित्नु सहज काम पक्कै होइन। त्यसमाथि अब्बल प्रतिष्पर्धीसँग प्रतिष्पर्धा गर्नु सहज काम पक्कै होइन। यसका लागि मिहिनेत र अध्ययन चाहिने उनी सुनाउँछन्।

मैले बुझेको कमेडी चाहिँ सामाजिक, राजनीतिक तथा विभिन्न प्रवृति मिसिएको होस्, तर व्यक्तिगत नहोस् भन्ने हो।

सिजन-१ मा भन्दा सिजन-२ मा भने उनले दर्शकको खुबै माया पाएका छन्। सिजन-१ मा टप-१५ बाट उनी बाहिरिएका थिए। त्यसपछि उनी सिजन-२ मा आए। टप-६ बाट बाहिरिए। उनी मुसुक्क मुस्कुराउँछन्, ‘उपाधि जित्ने त एक जनाले हो, कोही त आउट हुनै पर्थ्यो, म भएँ।’

मनोरञ्जन भित्र सन्देश पनि हुन्छ। कमेडियनहरूले आफ्नो भूगोल, समाज तथा देशको बिग्रँदो राजनीतिक परिवेशलाई मिहिन ढंगले प्रस्तुत गरिरहेका छन्। आफ्नो क्षमताले भ्याएसम्म कमेडीको मर्मलाई दर्शकमाझ पुर्‍याएको कार्की सुनाउँछन्।

‘हामी सभ्य र हाँस्यरस मिसाएर विभिन्न विषयमा कमेडी गर्नसक्छौं। हामीले प्रस्तुत गरेको विषयमा कुनै विषयमा वा प्रवृत्तिमा हुन जरूरी छ,’ उनी भन्छन्, ‘मैले बुझेको कमेडी चाहिँ सामाजिक, राजनीतिक तथा विभिन्न प्रवृति मिसिएको होस्, तर व्यक्तिगत नहोस् भन्ने हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.