|

धनकुटा : नेकपा (एकीकृत समाजवादी) गठनमा माधवकुमार नेपाललाई पूर्वपार्टी नेकपा (एमाले) का ९ केन्द्रीय सदस्य र २ संघीय संसदले साथ दिएका छन्‌।

एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश १ का ९ जना केन्द्रीय सदस्यहरू एकीकृत समाजवादी गठनमा सहभागी भएका हुन्‌।

एमालेभित्र चलेको अन्तरसंघर्षमा माधवकुमार नेपाल समूहमा आवद्ध भएका प्रदेश १ का १६ जना केन्द्रीय सदस्यहरू मध्ये ९ जनाले बुधबार निर्वाचन आयोगमा उपस्थित भई नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्‌।

नवगठित पार्टीमा प्रदेश १ बाट २ जनामात्र संघीय सांसदहरूले साथ दिएका छन्‌। संघीय सांसदहरूमा वरिष्ठ नेता झलनाथ खनाल र तेह्रथुमका भवानी खापुङ मात्रै नयाँ पार्टीमा आबद्ध भएका हुन्‌।

​वरिष्ठ नेता झलनाथ खनाल भारतको दिल्लीमा उपचाररत रहेकोमा निर्वाचन आयोगले दिल्लीस्थित नेपाली दुतावासमार्फत उनको सनाखत लिएको हो भने खापुङ आफैँ उपस्थित भएका थिए।

यता, केन्द्रीय सदस्यहरूमा खनालबाहेक भोजपुरकी जयन्ती राई, उदयपुरका जगन्नाथ खतिवडा, झापाकी गौरा प्रसाई, मोरङका घनेन्द्र वस्नेत, भोजपुरका राजेन्द्र राई, उदयपुरका बलदेव चौधरी, मोरङका डा. देउमान सम्बाहाम्फे र सुनसरीका महमत महफुज अन्सारी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्न निर्वाचन आयोगमा सहभागी भएका छन्‌। 

खोटाङका राजन राई सनाखतको लागि निर्वाचन आयोगमा पुगेपनि यसअघि नयाँ पार्टी दर्ताको लागि दिएको निवेदनमा नाम नभएको भन्दै आयोगले उनको सनाखत गराएन।

एमालेभित्रको अन्तरसंघर्ष क्रममा माधव समूहमा रहेका एमाले सचिवद्वय भीम आचार्य र योगेश भट्टराईसहित केन्द्रीय सदस्यहरू रविन कोइराला, भाष्कर काफ्ले, जीवन घिमिरे, यज्ञराज सुनुवार र धर्मराज निरौलाले नयाँ पार्टीलाई साथ दिएका छैनन्‌। सचिवद्वय भट्टराई र आचार्य भने एमाले बैठकमै सहभागी भइसकेका छन्‌ भने अन्य केन्द्रीय सदस्यहरू पनि नयाँ पार्टीको पक्षमा उभिएका छैनन्‌।

​यसअघि भाष्कर काफ्लेले निर्वाचन आयोगमा विभाजनको लागि दिएको निवेदनमा हस्ताक्षर गरेका भएपनि सनाखत गर्न भने उपस्थित भएनन्‌।

​प्रदेश १ बाट नेपाल समूहमा रहेका संघीय सांसदहरू योगेश भट्टराई, पवित्रा निरौला, पर्शु मेघी गुरुङ, जयकुमार राई र यज्ञराज सुनुवार नेपालले गठन गरेको नयाँ पार्टी गठनमा सामेल भएनन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.