नीतिगत भ्रष्टाचार मौलाउँदै

|

बर्दिया : गाउँगाउँमा सिंहदरबार भन्दै निकै तामझामका साथ स्थापना गरिएका स्थानीयतहरूले नगरलाई समृद्ध बनाउन निकै प्रयास थालेका छन्। त्यमध्येको एक पालिका हो, बर्दियाको ठाकुरबाबा नगरपालिका। ठाकुरबाबा नगरपालिकाले स्थापनाको ४ वर्षमा नगरलाई समृद्ध बनाउन निकै प्रयास गरेको छ। तर उपलब्धि भने सोचेजस्तो हात पर्न सकेको छैन।

गएको वर्ष कोरोना महामारीपछि धेरै युवाहरू रोजगारी गुमाएर गाउँ फर्किए। आफ्ना नगरका युवालाई गाउँमै रोजगारी सिर्जना गराउने भन्दै नगरले कृषि तथा पशुपालनमा ठूलो रकम छुट्यायो। जसमा सबै लाभ वास्तविक लाभग्राहीले लिन पाएनन्। अनुदानका कार्यक्रममा ठाटाबाठा अगाडि पुग्छन्, अनुदान हात पार्छन्, यसले गर्दा पनि नगरको योजना सफल पार्नमा समस्या उत्पन्न भइरहेको बताइन्छ।

ठाकुरबाबा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनदेखि प्रविधिसम्मलाई आफ्नो ध्यानमा राखेको जनाएको छ। नगरमा आयोजित गत वर्षको वार्षिक कार्यक्रम समीक्षा कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताए।

समृद्धिका लागि जनसहभागिता भन्ने मूलनाराका साथ नगरका सम्पूर्ण गतिविधिहरू स्थानीयलाई जानकारी गराउने उद्देश्य लिएको नगरले नगरपालिकाका सम्पूर्ण गतिविधिहरूका स्थानीयबासीले समेत निगरानी राख्न आवश्यक रहेको जनाएको छ।

बटोघाटो र पुल पुलेसामा जोड

ठाकुरबाबा नगरपालिकाले नगरका हरेका गाउँटोलमा बाटो पुर्‍याउने, पुलपुलेसा निर्माण गर्ने उद्देश्यसहित काम गरिरहेको छ। हरेक वडामा एउटा भए पनि गौरवका योजना नगरले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ। नगरले विकास निर्माणका कामहरू गुणस्तरीय बनाउने प्रयास थाले पनि कतिपय योजनामा गुणस्तरियतामाथि प्रश्न चिन्ह खडा हुने गरेको छ।

केही योजनाहरू निर्माण सम्पन्न नहुँदै बिग्रिने भत्किने गरेका छन्। कम गुणस्तरीय योजना निर्माण गरेको भन्दै स्थानीयले गुनासो पनि गर्ने गरेको पाइन्छ। ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख तथा अनुगमन समितीका अध्यक्ष कृष्णा कुष्मा थारूले प्राविधिक कुराहरू आफूलाई जानकारी नहुने भएकाले समस्या हुने गरेका बताइन्।

उनले भनिन्, ‘आफूलाई प्राविधिक कुराहरू थाहा हुँदैन, प्राविधिकले भनेपछि स्वीकार्नुपर्छ, जसले पछि योजनाहरू कम गुणस्तरीय निस्किन्छन्’, यसमा हाम्रो मिलेमतो छैन। नगरको वडा नम्बर ५ वनवीरको सडक निर्माण सम्पन्नपछि कम गुणस्तरीय भएपछि भत्काइएको थियो उक्त सडक अझै कालोपत्रे गरिएको छैन।

ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नगरपालकाले सम्पर्कमा ल्याउन सकेको छैन। मानव वन्यजन्तुबीचको बढ्दो द्वनद्व न्यूनीकरणका लागि पनि नगरले प्रयास थालिरहेको छ।

१७० पक्की घर, ८३ का फेरिए छाना

ठाकुरबाबा नगरपालिकाले २ आर्थिक वर्षमा १ सय ७० जनाका पक्की घर बनाउन सहयोग गरेको छ। लामो समयदेखि कच्ची घरमा बस्दै आएका १ सय ७० स्थानीयका घर बनाउन नगरपालिकाले प्रतिघर १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

आर्थिक वर्ष २०७६-७७ मा ९० घर निर्माण गरिएको थियो भने ७७-७८ मा ८० घर निर्माण गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए। यस्तै, ठाकुरबाबा नगरपालिकाले गएको आर्थिक वर्षमा ८३ परिवारका खरका छानो हटाएर टिन लगाउन सहयोग गरेको छ।

सबै वडा स्वास्थ्य सेवाको पहुँचमा

स्थानीय सरकार आउनुभन्दा पहिला एउटा सिटामोल लिनकै लागि निकै टाढा पुग्नु पर्ने, अस्पताल पुग्दा सिटामोल नपाईकन फर्किनुपर्ने बाध्यता स्थानीयमा थियो।

अहिले त्यसको अन्त्य भएको छ। ठाकुरबाबा नगरपालिकाका सम्पूर्ण वडाहरूमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको नगरप्रमुख घननारायण श्रेष्ठले दाबी गरेका छन्।

नेपाल सरकारले तय गरेको एक वडा एक स्वास्थ्य चौकी कार्यक्रमअनुसार नै सबै वडामा सहरी स्वास्थ्य क्लिनीकहरू स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन्। स्थापना गरिएका स्वास्थ्य क्लिनिहरूबाट स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा लिइरहेका छन्।

तिगत भ्रष्टाचार मौलाउदै

नगरपालिकाले भ्रष्टाचाररहित नगर बनाउन प्रतिबद्ध रहेको बताए पनि नगरमा भ्रष्टाचार मौलाउँदै गएको पाइएको छ। ठाकुरबाबा नगरपालिकाकी नगरउपप्रमुख कृष्णा कुष्मा थारूले नीतिगत भ्रष्टाचार अझै रोक्न नसकेको बताएकी छन्। उनले भ्रष्टाचार रोक्ने आफूहरूको प्रतिबद्ध रहे पनि नीतिगत भ्रष्टाचार रोक्न नसकेको स्वीकार गरिन्।

शिक्षालाई प्रविधिग जोडिदै

ठाकुरबाबा नगरपालिकाले शिक्षालाई प्रविधि संग जोडिरहेको छ। आफ्नै नगरको पाठ्यक्रम निर्माण गरेर लागू गरेको नगरपालिकाले अब प्राविधिक शिक्षा आवश्यक रहेको औँल्याएको हो। किताबी ज्ञान मात्रै नभएर अब बालबालिकालाई व्यावहारिक ज्ञान दिनुपर्ने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले औँल्याए।

यस्तै बर्दियाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेको ठाकुरद्वारा क्षेत्रको भौतिक पूर्वाधा लगायत पर्यटन प्रर्वद्धनका लागि ठाकुरबाबा नगरपालिकाले चासो देखाएको छ। नगरपालिकाले पूर्वाधार निर्माण र यस क्षेत्रको प्रचारप्रसारमा समेत पहल गरेको छ। बर्दिया एसियामै प्राकृतिक वाइल्ड लाइफ टुरिज्मको गन्तव्य बन्न सफल भएको पर्यटन व्यवसायीले बताएका छन्।

देशको शान, अन्तर्राष्ट्रिय पहिचान बोकेको बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तुहरू र थारू समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताए।

कोभिड नियन्त्रणमा महत्वपर्ण भुमिका

अहिलेको विश्वव्यापी कोभिड–१९ सङ्कटको बेलामा बढ्दो कोरोना महामारी नियन्त्रणका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

कोरोना महामारी सुरु भएयता क्वारेन्टाइन व्यवस्थापन होस् वा तथ्यांक सङ्कलन, कनट्र्याक्ट ट्रेसिङ् होस् वा राहत वितरण, समग्र महामारीको व्यवस्थापनमा स्थानीय सरकारले फ्रन्टलाइनमा रहेर सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

कोरोना महामारीका कारण ठाकुरबाबाका मात्रै २८ जनाले ज्यान गुमाएका छन्। कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई नगरपालिकाले २० हजार रुपैयाँ राहतसमेत प्रदान गर्दै आएको छ।

अहिलेसम्म नगरका १८ जनालाई २० हजारका दरले राहत हस्तान्तरण गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताए।

स्थानीय मेलमिलाप र मध्यस्थकर्ता

टोलस्तरबाट योजना र कार्यक्रमको तर्जुमा गरिने तथा कार्यान्वयनमा लाभग्राहीको प्रत्यक्ष र अर्थपूर्ण सहभागिता सुनिश्चित गराई स्वामित्व बोध गराउन ठाकुरबाबा नगरपालिका प्रतिबद्ध छ। ‘घरघरमा सिंहदरबार को परिकल्पनालाई साकार पार्न र सङ्घीय तथा प्रदेश सरकारका कार्यक्रम वास्तविक लाभग्राही जनतामाझ पुर्‍याउनसमेत ठाकुरबाबा नगरपालिकाले भूमिका निर्वाह गरिरहेको छ।

तल्लो तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिञ्‍चाइ जस्ता पूर्वाधार होस् वा स्थानीय मेलमिलाप र मध्यस्थकर्ता विषयमा स्थानीय तहलाई एकल अधिकार दिनु लगाएतका काम ठाकुरबाबा नगरपालकाले गरिरहेको छ।

न्यायिक समितिमार्फत गएको आर्थिक वर्षमा मात्रै नगरले झण्डै १०० बढी घटनाहरू मेलमिलाप गराइएको छ। प्रहरीकहाँ पर्ने उजुरी अहिले न्यायिक समितीमा आउने गरेका छन्।

राजनीतिक खिचातानी

बिना राजनीतिक हस्तक्षेप, कर्मचारी उत्प्रेरित हुने र काम गर्ने वातावरण बनाइराख्नु स्थानीय तहको अर्को चुनौती रहेको छ। ठाकुरबाबा नगरपालिकाले समय सयमका राजनीतिक आडका भरमा रोजगार प्रदान गरिरहेको आलोचना समेत खेप्ने गरेको छ। संघ र प्रदेशमा भइरहेका राजनीतीक तडकभडकको केही प्रभाव स्थानीय तहमा पनि गरेको देख्न सकिन्छ।

अहिले नगरप्रमु र उपप्रमुखबिच नै समन्वय नहुने गरेको पाइएको छ। नगरउपप्रमख आफैँले नगरका कतिपय कार्यक्रमहरू आफुलाई जानकारी नगराईकनै गर्ने गरेको बताइन्।

विदेशमा गई जोखिमपूर्ण काममा श्रम पसिना बेचिरहेका युवायुवतीहरूलाई देशको राजनीतिक परिवर्तनले छुन सकेको छैन, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख श्रेष्ठले भने, हाम्रो माटोले आफ्नै जनताको पसिनाको महक चाहेको छ। उनीहरूलाई यहीँ ठाउँमा अवसर सृजना गरी व्यवस्थापन गर्नुपर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.