|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरूमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा कृषि पेशा फस्टाउँदै गएको सजिलै थाहा हुन्छ।

गाउँका टोलैपिच्छे प्लाष्टिकका टनेलमात्रै टल्किएका होइनन्, टनेलभित्र लटरम्म तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरूले चासो दिन थालेका छन्।

ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन्। अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारीहरू फलिरहेका देखिन्छन्।

व्यवसायिक तरकारी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएपछि घरघरमा टनेल टल्किएका हुन्। म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिंगा, पात्लेखेत, खबरा र बगरफाँट लगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडा कृषकहरूले सदरमुकामसम्म ल्याएर प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका-२, खबराका कृषक शोभित शर्मा सापकोटाले बताए।

उनले भने, ‘प्लाष्टिकको टनेलभित्र गोलभेँडा, काँक्रो, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलेको छ। टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकहरूले राम्रै आम्दानी लिएका छौँ।’

जिल्लामा नै अगुवा कृषकको रूपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकहरूले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी लिन थालेका छन्। एउटा टनेल राख्न ३० देखि ४० हजार रुपैयाँसम्म खर्च हुने उनी बताउँछन्।

एउटा टनेलले एक सिजनमा ५०/६० हजार रुपैयाँसम्म आम्दानी हुने र दोस्रो वर्षदेखि राम्रो कमाई हुने कृषक सापकोटाको भनाइ छ। 

छैन बजार अभाव

कोरोनाका कारण मानिसहरूले प्राङ्‌गारिक उत्पादनको खोजी गर्न थालेपछि आयातित तरकारी र फलफूलभन्दा जिल्लाका ग्रामीण भेगका कृषकहरूले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ।

पश्चिम म्याग्दीका कृषकहरूको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बावियाचौरका किसान रामहरि पौडेलले बताए। त्यसैगरी उत्तरी म्याग्दीका कृषकहरूले फलाएको तरकारी र फलफूल पोखरेबगर, भूरुङ तातोपानी, गलेश्वर लगाएतका बजारमा बिक्री हुने गरेको छ।

ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार नै रहँदै आएको छ। ‘व्यापारीहरूको पहिले नै अडर आउछ, गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइदिन्छु,’ पाँच वटा टनेलमा तरकारी खेती गर्दै आएका खबराका कृषक चन्द्रबहादुर कार्कीले भने, ‘बिक्री गर्न कुनै समस्या छैन, कमाई पनि राम्रै भइरहेको छ।’

जिल्लाका ६ वटै स्थानीय तहले कृषकहरूलाई अनुदान र निःशुल्करूपमा समेत कृषि औजार र बीउबिजन उपलब्ध गराउन थालेपछि कृषि पेशामा धेरैको आकर्षण बढेको बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए।

जिल्लामा क्रियासिल विभिन्न गैर सरकारी संघ सस्थाले कृषकहरूलाई बेमौसमी तरकारी खेतीको तालिम दिइ आवश्यक प्रविधि तथा बीउबिजन उपलब्ध गराएपछि गाउँगाउँमा प्लाष्टिकको टनेल भित्रिएको हो।

केही वर्ष पहिलेसम्म काम विशेषले सदरमुकाम बेनीबजार जाँदा प्लाष्टिकको झोलामा एक/दुइ किलो गोलभेँडा किनेर ल्याइ छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेल भित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको सानालेखका हरिप्रसाद शर्माले बताए। गाउँगाउँमा यातायातको पहुँच पुगेसँगै कृषकहरूको प्लाष्टिकको टनेल भित्रको बेमौसमी तरकारी खेती प्रति आकर्षण बढेको उनी बताउँछन्‌।

सदरमुकाम बेनीबजारमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेँडा लगायतको तरकारी आयात हुँदै आएकोमा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्य उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारीहरू बताउँछन्।

जिल्लाका स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार विगत दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका २०० भन्दा बढी युवाहरूले अहिले व्यवसायिक कृषि पेशा अपनाएका छन्।

उनीहरूले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर व्यवसायिक रूपमा कृषिमा लागेका मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.