|

कञ्चनपुर : दोदा खोलामा आएको बाढीले लालझाडी गाउँपालिका–३ मा रहेका बल्मी, डुंगालगायतका गाउँमा ४० घर डुबानमा परेका छन्।

चुरे क्षेत्रमा भएको वर्षाका कारण खोलामा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दाले घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। बिहीबार राति २ बजे बाढी बस्तीमा पसेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको वडा नम्बर ३ का वडा अध्यक्ष टीकाराम चौधरीले बताए। बाढीले केही घर भत्किने अवस्थामा रहेका चौधरीले बताए।

बाढीबाट भएको क्षति संकलन गरिरहेको अध्यक्ष चौधरीले बताए। बेलैमा बाढी आएको थाहा पाएकाले मानवीय क्षति नभएको उनको भनाइ छ।

बाढीले करिब १० बिघा लगाइएको उखुमा क्षति गरेको छ। स्थानीय झक्कुप्रसाद चौधरीले बाढीले लाखौंको उखु क्षति भएको बताए। यस्तै‚ बाढी खेतमा पस्दा धानमा समेत क्षति गरेको छ। बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमाथि बन्दै गरेको पुलका निर्माण सामग्री समेत बाढीले बगाएको छ।

अहिले बाढी सतह घट्दै गएकाले कटान तीव्र बनाएको स्थानीय तुलाराम चौधरीले बताए। पानी गर्ने क्रम जारी रहेकाले स्थानीय बासिन्दा बाढीको त्रासमा छन्।

यसैगरी, दोदा खोलामा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित झोलुङ्गे पुल बचाउन निर्माण गरिएको तटबन्ध भत्किएको छ। तटबन्ध भत्किँदा झोलुङ्गे पुल जोखिममा परेको वडा अध्यक्ष बाले रानाले बताए। स्थानीय खोलामा आएको बाढीका कारण शुक्लाफाँटा–८ मा रहेको बैजनाथ सामुदायिक वनले घाटगद्दी गरेर राखेको काठ र दाउरा बगाएको छ। यस्तै‚ वहरा नदी तटीय क्षेत्रमा बस्दै आएका सुकुम्बासी परिवार समेत बाढीको चपेटामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.