|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पानी पर्ने बित्तिकै पहिरो जाने गर्छ। सडक विस्तारपछि करिब दुई वर्ष शान्त बनेको यो सडकमा पुनः पहिरो जाने समस्या दोहोरिएको छ। सडक विस्तार हुनुअघि पाएको दुःख बिर्सिन नपाउँदै यात्रुहरुले पुनः उही दुःख व्यहोर्नुपरेको छ।

बिहिबार राति पनि यात्रुहरुले उही दुःख पाए। सडक खण्डको भरतपुर महानगरपालिका–२९ सेती दोभानमा लेदोसहितको ठूलो पहिरो गएर सडक पूर्ण रुपमा अवरुद्ध भएपछि यात्रुहरु रातभर जाममा फसे। १३ घण्टापछि शुक्रबार बिहान मात्रै सडक खुल्यो। यद्यपी पहिरोको जोखिम भने कायमै छ। यात्रुहरु जोखिम मोलेरै यस सडकखण्डमा यात्रा गर्न बाध्य छन्।

बिहिबार काठमाडौँदेखि सुर्खेत हिँडेका सविन पोख्रेल घरपुग्ने बेलासम्म पनि जाममै अड्किएको गुनासो गरे। शुक्रबार सडक खुल्ने संकेत मिलेपछि उनले भने–‘यतिबेला त घरै पुगिसकिन्थ्यो। पहिरोले गर्दा अझै यहि छु। यसअघि पनि यो सडकमा ३१ घण्टा जाममा परेको छु। यो बाटो संधैको यस्तै हुने भो।’

यस खण्डमा यात्रा गर्नु भनेको खुकुरीको धारमा ज्यान राखेर हिँड्नु सरह भएको उनले गुनासो गरे। बिहिबारदेखि वर्षाका कारण यस खण्डको चौध किलो नजिक सडक भासिएको छ भने विभिन्न स्थानमा पहिरो खसेको छ। मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिन सम्म देशभर वर्षा हुने बताएको छ।

असार पहिलो साता भएको वर्षामा पनि यस खण्डको विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो। पहिरोमा परेर केहि यात्रु घाइते समेत भएका थिए। पानी पर्दा यस खण्डमा पहिरो जाने जोखिम उच्च हुने भएकाले सजगता अपनाएर यात्रा गर्न चितवन ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले आग्रह गरे।

नारायणगढ–मुग्लिन सडकलाई देशकै लाइफ लाइनका रुपमा लिइन्छ। भारतमा सामान लोड गरी पूर्व र पश्चिमबाट आएका मालबहाक सवारी साधनहरु यहि सडक भएर काठमाडौँ पुग्छन्। पूर्वी र पश्चिमी जिल्लाका हजारौँ यात्रुहरु यो सडक भएर दैनिक आवतजावत गर्ने गर्छन्। यसअघि गएको पहिरोका कारण ठाउँ–ठाउँमा सडक भत्किएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.