देशमा गणतन्त्र आएको पनि निकै भइसक्यो। हाम्रो देशमा गणतन्त्र आएपछि संसारमा अनेक परिवर्तन भइसके। हाम्रै देशमा पनि चरीको आहारासमेत बुत्याउन नसक्ने हाम्रा नेताका भुँडीमा समेत कत्राकत्रा हात्तीहरू सजिलै अटाउने भइसके।
देशले विकासको काँचुली फेर्दा फेर्दा दिक्क भएर दुई तिहाई बहुमतका सरकार समेत फेर्न थालिसक्यो। तर, जग हँसाएर स्वास्नी केटाकेटी पाल्नेहरूले भने अहिलेसम्म पनि हामी केटाकेटी नै हुँदाको जस्तो गाईजात्रा नै मनाउँदै रहेछन्।
राजतन्त्रका पालाको गाईजात्रा गणतन्त्रको उत्तरार्द्धमा पुग्दासमेत यौटा नामसम्म पनि फेर्न नखोज्ने यिनीहरूको कत्रो प्रतिगामी आँट? मलाई लाग्यो-यिनीहरूले पनि गाईजात्रा मात्र नमनाएर गोरुजात्रा, बाच्छोजात्रा, भैँसीजात्रा र राँगोजात्रालगायत बहुभाषिक, बहुसांस्कृतिक, बहुपारिवारिक, बहुआयामिक, बहुधार्मिक, बहुराष्ट्रिय र बहुजातीय जात्राहरू मनाउनुपर्छ। नत्र त देशमा यत्रो क्रान्तिकारी परिवर्तन भएको के काम?
हुन त गाई पुज्ने देशमा यत्रो भयंकर परिवर्तन भइसक्दासमेत अहिलेसम्म भैँसी पुज्ने प्रथा शुरू नहुनु भनेको पनि सरासर प्रतिगमन नै त हो। देशमा कति ठूला ठूला अग्रगामी क्रान्तिहरू भइसके। म भने बबुरो प्रतिगमनको पहरेदारमात्र बन्नु त भएन नि! गाईलाई आमा भनेर सम्मान दिने संस्कारका मान्छे हामी, भैँसीलाई सानिमा भन्न समेत हिच्किचाएर पनि होला त?
लौ! आमा सानिमा केही भन्न नसके नि भैँसी र भैँसीका सन्तानका लागि वर्षमा एकदिन भैँसीजात्रा वा राँगोजात्रासम्म चलाइदिन सके भैँसी, भैँसीवादी र भैँसी अधिकारकर्मीहरूले नि गणतन्त्र आएको महशुस गर्थे कि!
आफू त ठूलो मन भएको मान्छे परियो। मन ठूलो हुनु पनि एक प्रकारको समस्या नै रहेछ, जब मनमा कुरा खेल्न थाल्छन्-मनभित्रै कुराहरूको विश्वकप आयोजना गरिदिन मन लाग्छ। आज पनि मनमा कुराहरू वार्मअप गर्दै थिए। यो कुबेलामा वर्ल्डकप त त्यस्तै हो, एक्कासी टोलकप आयोजना गरिदिने जोश आयो। टोलकप भन्नासाथ हाम्रो टोलमा अस्ति भर्खर बनेको भ्यूटावर सम्झेँ। देश विकासका सारा काम सकिएर सरकारले खाली डाँडामा टावरहरू ठड्याउन थालिसक्यो।
सरकारले अब भने गर्न बाँकी काम खासै बाँकी छैनन्। यस्तो बेलामा त फ्याट्ट दोबाटोका ज्योतिष बाजेले मेरो निधारमा राजयोग देखेर मन्त्री हुने योग छ भनिदिए, अनि सरकारले मेरो योग जानेर झ्याप्प अल्पमतमा पर्ने मन गर्यो भने त बर्बाद! झिनामसिना मन्त्रालय त जेनतेन ठेगान लगाइएला। तर, राजयोगको कुरो हो- एक्कासी प्रधानमन्त्री नै हात लाग्यो भने त विना योजना सपथ लिँदा तातो मःमः को डल्लो मुखमा परेको हालत हुन्छ।
फेरि, विकास गर्नलाई गणतन्त्र आएपछिका सरकारले केही बाँकी राखेका छैनन्। मन्त्री भइसकेपछि सात प्रदेशमा कम्तीमा एक एक योजना त पार्नैपर्यो। जे पर्ला पर्ला! एकपटक मनमनै देश दौडाहामा लाग्ने, गर्न बाँकी र मेरा पालामा नगरी नहुने कामका योजना तयार गर्ने निधो भयो। भ्रमण भने पूर्वाभिमुख भएरै गरौँ भनेर लागेँ पश्चिम सिमानातर्फ।
दुई डाँडाको बीचमा किनाराका भित्तासँग सिंगौरी खेल्दै ओरालो लागेको महाकाली बढो भयंकर देखियो। खिया लागेका तुइनका पुराना लठ्ठाहरू अझै ठाउँ ठाउँमा झुन्डिएका रहेछन्। यसो सोचेँ-तुइनलाई पुलले विस्थापित गर्नुपर्छ। तर, झल्याँस्स सम्झेँ-देश २ वर्षअघि नै तुइन मुक्त घोषणा भइसक्यो। पुरानो सरकारका उपलब्धिलाई लात मार्नु नि भएन। बेवकुफ जनता अझै पुल तर्न छोडेर त्यही मक्किएको तुइनको डोरोमै झुण्डिन्छन्। तुइन चुँडिएर वा चुँडाइदिएर खोलामा खस्लान्, सिधै छिमेकीलाई आरोप लगाउन नि भएन। बरु डाँडामा एउटा टावर बनाएर एउटा पाले राखिदिन पाए यता रोजगारी सिर्जना हुने, उता पछि छानबिन प्रतिवेदन बनाउन सजिलो हुने, यस्तो गजब उपाय फुरेपछि त्यहाँ टावर नै बनाउने निर्णय गरेर पूर्वतर्फ लागेँ।
६ नम्बर प्रदेशमा चहार्न थालेको, गर्नुपर्ने जस्तो काम केही भेटिन्न। उद्योग कलकारखाना खोल्दिम् भने अर्को सरकारका पालामा बेच्देला भन्ने पीर, फेरि सरकारले देश पो चलाउने हो। उद्योग चलाउन थालेपछि त व्यवसायी र व्यापारी भइन्छ, सरकारको मर्यादा घट्ला। कर उठाएर बस्न छाडेर के उद्योग खोल्ने तनाव लिनु? मन्त्री हुन्जेल केही नबोले नि सत्ताले लात हानेपछि त घोटाला गर्यो भनेर रमिता गर्छन्।
त्यसैले त्यो झन्झटमा फस्न मन पनि लागेन। बाटोघाटो बनाइदिम् कि भनेको, जमिनमा नदेखिने बाटोसमेत नक्सामा देखिँदा रहेछन्। कागज बोल्ने जमानामा कागजमा भएपछि काम पुगिहाल्यो। सोच्दै सोच्दै उकालो लाग्दै गर्दा जुम्लाको डाँडामा स्याउको एउटा भव्य शालिक बनाइदिने मानसिक निर्णय भयो। मुगुमा रारा छँदैछ। हुम्लाको ताक्लाकोटमा एउटा गणेशको मूर्ति ठड्याइदिनसके मानसरोवरबाट महादेव चिसो छल्न ओरालो लागिहालेछन् भने पनि गणेशले बाटो छेक्लान् र अल्लारे केटा नबिग्रेलान् कि भन्ने लागेर योजनामा पारिदिएँ।
जुम्लाकै चिसोले अघाइयो। अब डोल्पातिर भने मन्त्री भइसकेपछि यार्सागुम्बाको सिजनमा हेलिकप्टर चढेर निरीक्षणमा आउने निर्णय गरेर पाँच नम्बर प्रदेशमा लागेँ।
पाँच नम्बर प्रदेशमा गर्न बाँकी काम खासै केही भेटिएन। विकासको लहरले नछोएको ठाउँको नामनिशान भेटिएन। कृषिमा आधुनिकीकरणको योजना ल्याउने सोच थियो। तर, गरिखाने वर्गको प्लटिङ उद्योग बर्बाद होला भन्ने पीरले आँट आएन। त्यसपछि कपिलवस्तु छिर्ने गेटमा स्वर्ण अक्षरले 'बुद्ध वाज बर्न इन नेपाल' लेखेको बोर्ड राखिदिने योजना बुनेर चार नम्बर प्रदेशतर्फ लागेँ।
आफू जन्मेको प्रदेशमा त विशेष हेरविचार गर्नैपर्यो। आफ्नो प्रदेशमा नि विशेष गरी आफ्नै क्षेत्र हेर्नुपर्यो। तर, आफ्नो क्षेत्रमा पनि औद्योगिक क्रान्ति र विकासको पूर्वाधारसम्बन्धी गर्न बाँकी काम त केही रहेनछ। कृषिमा पनि ठूलो क्रान्ति गरेछन्, उत्पादन धेरै भएर भकारीमा नअटाउन थालेपछि व्यवस्थापन गर्न नसकेर जनताले अन्न फाल्न थालेपछि स्थानीय सरकारले खाना नफाल्न अभियान नै चलाउन थालिसकेछ। आफ्नो क्षेत्रमा केही काम गरेन भन्लान् भनेर एउटा टावर भएपनि बनाइदिम् भनेको, घर माथिकै डाँडामा टावर ठडिइसकेछ।
अब के गर्ने त भनेर गम खाँदै थिएँ, झ्याप्प घरभन्दा पारीको डाँडामा महादेवको विशालकाय मूर्ति आँखामा पर्यो। थुक्क मेरो भाग्य, मूर्तिसमेत अर्कैले ठड्याइसकेछन्। शिवजी एक्लै भए अर्को डाँडामा पार्वती ल्याइदिन पर्यो भनेको, त्यो पनि योजनामा परिसकेछ। केही सीप नलागेपछि आफ्नै घरमाथिको डाँडामा एउटा टिकटक पार्क बनाउने योजना पारित गरेँ।
देशको कार्यकारी हुने मान्छे घरमा बसेर त उँभो लागिन्न भनेर तीन नम्बर प्रदेश छिरेँ। प्रदेशहरूको पनि राजधानी प्रदेश, यहाँ केही अधुरा काम रहने त कुरै भएन। कि त धरहरा भत्काएर रानीपोखरी पुरेर सुरुङका प्वाँल थुनेर फेरि बनाउन थाल्नुपर्यो, नत्र अरू गर्न बाँकी काम त मरिगए पनि केही भेटिएन। अयोध्या नै बसाइँ सरिसकेको रामराज्यमा म बबुरोले के नै गर्न सक्ने हैसियत राख्थेँ र? त्यही भएर केही नसोची सरासर प्रदेश नम्बर दुईतर्फ पाइला अघि बढाएँ।
प्रदेश दुई त झन् जमानादेखि शानका साथ रेल गुडाएको क्षेत्र, त्यसमाथि आफ्नो पूर्वी सिमानामा पानी जहाजको झल्को मेटिने गरी स्टिमरको अनुभव पनि गरिसकेको ठाउँ। मेरा लागि भनेर यो प्रदेशमा पनि खासै केही बाँकी रहेनछ, तर, केही न केही त गरिदिनै पर्यो। यसो उत्तर फर्केको त सगरमाथाले आफ्नो उचाइ प्रदर्शन गरेर होच्याउन खोजेजस्तो महशुस भयो। म पनि के कम? उत्तरतर्फ फर्काएर सगरमाथाको एउटा भयंकर प्रतिमूर्ति बनाइदिने निधो गरेँ।
तराईमा अल्लि गर्मी बढेछ। पहाडको बाटो हुँदै प्रदेश नम्बर एकतिर लाग्नुपर्यो भन्ने विचार गरेर उकालो लागेको, बाटैमा बराह अवतारको विशालकाय मूर्तिको दर्शन मिल्यो। एक नम्बर प्रदेश त झन् आगो निस्क्यो। हुन त त्यसै कहाँ एक नम्बर हुन पाइन्छ र?
पहिलो हुन कति कठिन छ भनेर त मैले पहिलो कक्षा पढ्दादेखि नै अनुभव गरेको कुरा हो। सोच्दा सोच्दै मेरो मगज धनकुटा पुग्यो। तोङ्बाको शालिक पुरानो भएछ, जीर्णोद्धार गर्ने योजना बनाएँ। तोङ्बाको भाँडो देखेपछि राँगोको सुकुटी याद आयो। सुकुटी सम्झनासाथ मगजमा एउटा गीत गुञ्जियो:
रिङ्केबुङको राँगोलाई
चुङ्केबुङको चुलेसीले
ताप्लेजुङमा ताकेर
कालेबुङमा काटेर
अरूण तमोर तरौँला
तीते फापर छरौँला
फूल लाउँला केशरी
खाउँला बेसरी।
यो गीतले पो गर्न बाँकी काम सम्झायो, रिङ्केबुङमा राँगोको शालिक त अझै बनेको छैन। रिङ्केबुङमा एउटा चार पाँच करोडको राँगोको मूर्ति ठड्याउन सकियो भने त अर्को सालदेखि राम्रैसँग राँगोजात्रा पनि मनाउन पाइन्छ। चुङ्केबुङमा पनि यसो एक दुई करोडको चुलेसीको शालिक राखिदिनै पर्यो। रिङ्केबुङमा राँगोको शालिक बनाउने योजनालाई पहिलो प्राथमिकतामा राखेर मन्त्री भइहालिएछ भने पहिलो चरणमा यति योजनामा काम गर्न पाइयो भने त कार्यकाल गजब तरिकाले बितिहाल्छ भनेर पहिलो चरणको मानसिक देश दौडाहा कार्यक्रम समापन गर्नै लागेको थिएँ, मनमा खेल्न आएका कुराहरूले वार्मअप सकेर खेल्ने तयारीमा जुटिसकेछन्।
बाहिरबाट आमा कराउनुभयो, ‘कति मोबाइल र कम्प्युटरमा मात्र झुन्डिन्छस्, बेलैमा रोगको भकारी होलास्।’ आमाको कुरा नि हो जस्तो लाग्यो, अनि अघि भर्खर मनमा आएजस्तो मेरो राजयोग देख्ने ज्योतिष दोबाटोमा भेटिन्छन् कि भनेर बजारतिर लम्किएँ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।