|

काठमाडौं : तत्कालिन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन अर्का नेता माधवकुमार नेपालबीच अहिले पनि आरोप प्रत्यारोपको श्रृङखला चलिरहेको छ।

तीन नेता अहिले अलगै राजनीतिक बाटाे लागिसके पनि एक-अर्काविरुद्ध सार्वजनिकरूपमै आलोचनामा उत्रन छोडेका छैनन्। नवगठित नेकपा (एकीकृत) समाजवादी पार्टीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली प्रवृत्तिको विरोध भन्दै एकै स्वरमा आलोचना गरिरहेका छन्।

शनिबार ललितपुरमा आयोजित पेशागत महासंघको जिल्लास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा समाजवादीका अध्यक्ष नेपालले अदालतले एमाले र माओवादीलाई छुट्याइदिँदासमेत ओलीमा कुनै पनि सुधारको संकेत नदेखिएपछि नयाँ दल दर्ता गर्नुपरेको प्रष्टीकरण दिए।

तत्कालिन नेकपा विभाजित हुँदा रमाएको एमालेको एक गुटले अहिले एमाले फुट्दा हाइसञ्चो मानेको टिप्पणी गरे। नेपाल र प्रचण्ड तत्कालिन नेकपामा हुँदा एउटै कित्तामा उभिएका थिए। त्यसपछि एमालेमै बस्ने निर्णय गरेका नेपालले नयाँ पार्टी दर्ता गरेपछि ओली सरकार ढलेको थियो। प्रचण्ड र नेपालकै कारण संघीय सरकारबाट मात्र होइन प्रदेश सरकारको नेतृत्वसमेत गुमेको भन्दै ओलीले दुबै नेतामाथि उस्तै आक्रोश पोख्दै आएका छन्। 

शनिबार नै ललितपुरकै महालक्ष्मी नगरपालिकामा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपर्ने बताए।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले मोर्चा बनाएर चुनाव लड्ने तयारी गरिरहेको टिप्पणी गरे। एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनको भनाइ थियाे। उनले आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको हिसाब गर्ने चेतावनीसमेत दिए नेपाल समूहप्रति लक्षित गदै ओलीले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको आरोप लगाए। 

वाइसिएलको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ओलीले तत्कालिन नेकपामा हुँदा ठगी धन्दा चलाएको आरोप लगाए। 

‘नेपालमा उत्पिडित वर्ग, जाती, क्षेत्र, समुदाय र राजनीतिक जागरण ल्याउनमा माओवादी आन्दोलनले निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन्, अनि अध्यक्ष र प्रधानमन्त्रीमा पालैपालो भन्नेमा पनि सही गरेका छन्।’ उनले भने, ‘हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो, त्यो त प्रधानमन्त्री पद प्राप्त गर्ने ठगी धन्दा रहेछ, तमसुकमा सही गरेपछि त हुन्छ भन्ने ठानियो, तमसुक हेरेर बसियो उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै गरे।’

त्यसक्रममा उनले एमाले अध्यक्ष ओलीसँग एकता गर्दा धेरै ठूलो ज्ञान प्राप्त गरेको भन्दै त्यो ज्ञान अहिलेको गठबन्धनमा काम लाग्ने पनि बताए।

याे पनि

 


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.