गैंडाकोटको थुम्सीमा यात्रुको बिचल्ली

|

चितवन : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको थुम्सीमा बाढीले डाइभर्सन बगाउँदा यात्रूहरूको बिचल्ली भएको छ।

बिहीबार राति परेको वर्षाले थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बगाएको हो। निरन्तर वर्षा भइरहेकाले डाइभर्सन बनाउन नसकिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ। पूर्व र पश्चिमबाट आएका गाडीहरूको लामो लाइन लागेको छ। 

यात्रुहरूको बिचल्ली भएपछि ह्युमपाइपमाथि ढुंगा भरेर पालैपालो गाडी कटाउन थालिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।

‘जबसम्म वर्षा रोकिँदैन तबसम्म यस्तै दुःख हुने हो। ढुंगा हाल्दै छौँ, गाडी कटाउँदै छौँ। १० वटा पूर्वका गाडी कटाएर १० वटा पश्चिमका गाडी कटाइएको छ’, उनले भनिन्। दाउन्नेमा पनि पहिरो गएर बाटो अवरूद्ध भएको उनले जानकारी दिइन्।

वर्षा नरोकिँदासम्म राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने भएकाले सकभर यस सडक भएर यात्रा नगर्न उनले आग्रह गरिन्। ढुंगा हालेर गाडी कटाए पनि एकैछिनमा हिलो हुने हुँदा गाडी पास गराउन कठिन भइरहेको छ।

अहिले नारायणगढबाटै त्यसतर्फ गाडी जान रोकिएको छ। पश्चिमबाट आएका गाडीहरू चोरमारासम्म रोकिएका छन्। बिचल्लीमा परेका यात्रुहरू हिँडेर यात्रा तय गर्न थालेका छन्।

सडक फराकिलो पार्ने क्रममा पुल बनाउँदै गरेको ठाउँमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि यातायात प्रभावित भएको हो। नारायणगढ–वुटवल सडक खण्ड विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले समयमै काम नसक्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.