सन्त कबिर भन्नुहुन्छ– यो संसारमा मानिसको जीवन मुस्किलले मिल्छ। यो मानव शरीर बार–बार मिल्दैन। जसरी रुखबाट पात झरेर जान्छ‚ त्यो पात फेरि फर्केर आउन सक्दैन। त्यस्तै हो यो जीवन। त्यसैले अहोभाव व्यक्त गर। जीवनमा जे सफलता मिलेको छ या चुनौती धन्यवाद देऊ।
सफलता मिल्यो प्रसाद अस्तित्वकै हो। चुनौती आयो त सम्झ तिमी चुनौती सामना गर्न सक्षम छौ। चुनौती स्वीकार गर्न नसक्ने र हिम्मत नहुनेलाई चुनौती आउँदैन।
केही प्रतिशतलाई छोडेर भन्नुपर्दा अध्यात्म शब्दसँग त मानिस त्यसै भयभित छ। किनकि, यो शब्दले नै सांसारिक अराजकता हुन दिँदैन। अन्यथा अध्यात्म हाम्रो स्वभाव हो, हामीले जन्मँदै लिएर आएको गुणवत्ता हो।
कहीं नरोकिनु, कुनै चिज र सम्बन्धमा नबाँधिनु (बन्धन महसुस नगर्नु) बरुसतत रुपमा जीवनलाई विधायकतातर्फ अघि बढाउनु अध्यात्म हो। आफूसँग भएको समस्त स्वभाव, बुद्धिमतालाई उपयोगमा ल्याउन सम्यक मार्गमा चल्नु र अस्तित्वको नियमलाई आत्मसात गरेर दिव्यताको मुल ढोका भेट्ने हुटहुटी अध्यात्म हो।
वास्तवमा ध्यान साधनाको माध्यमबाट जीवनमा आत्मस्मरणको आवश्यकता महसुस या जागरण अध्यात्म हो।
वर्तमानमा बाँच्ने कला
नब्बे प्रतिशत मानिसको सोच हुन्छ सांसारिक इच्छा आकांक्षा पूरा गर्न सकेमा सुख र सुविधा त्यसमै पाइन्छ। तर मानिससँग मस्तिष्क मात्र होइन हृदय पनि छ। सांसारिक इच्छा, साँचो इच्छा र आध्यात्मिक खोजको रहस्य तब मिल्छ जब भौतिक आर्जनको असिमित चाहनाले घेरिँदा जीवनको उत्तरार्द्धमा पुगेको पत्तै हुँदैन। संसारका इच्छा पूर्तिमा केवल मस्तिष्कको प्रयोग हुन्छ र त्यो कसरी प्रयोग गर्ने कसैलाई सिकाउनु पर्दैन। मस्तिष्कले विगत र भविष्यलाई कोट्याइरहन्छ। जसले मानिसलाई सुख दिन चाहँदैन।
विगत जो बितिसक्यो, भविष्य जहिले आउँछ वर्तमान भएर आउँछ। भविष्यको चिन्ता भनेको के हो? भविष्यमा को बाँच्न सक्छ? वर्तमानमा जे छ त्यसमा चित्त बुझाउने र रमाउने कला अध्यात्म हो।
वर्तमान प्रतिको स्वीकार अध्यात्म हो। जीवन केवल वर्तमानमा छ भन्ने फरक जान्न र बोध हुन नसक्नुमा हाम्रो सिकाइ, संस्कार र अनुभूतिले असर गरेको होला या केवल मस्तिष्कको खेल? सबै कुरा प्राप्त भएर पनि कतै न कतै अपुर्णताको महसुस बनिरहनु, मृगतृष्णा रुपी इच्छाले सताइरहनु आवश्यकता हो या दुःख आर्जनको उपाय?
दुःखी बन्न हरदम प्रयास गर्ने मानिसले आन्तरिक सुख र आनन्द पनि आवश्यक छ भन्ने एउटा खोज निरन्तर खोजिरहेको हुन्छ। तर उसले घरभित्र हराएको सामान घरबाहिर खोजे जस्तै कहिल्यै भेट्न सक्दैन। हराएको थाहा पाउनेले न आन्तरिक स्वभाव थाहा पाउँछ न त प्रशस्त धन आर्जनपछि त्यसलाई बजारमा किनेर नै पाइन्छ।
प्रयासपछि प्रसाद
मानिस संसारको सफलताका लागि कति मिहिनेत गर्छ? आफ्नो भोक, प्यास, निष्ठा बिर्सेर सांसारिक सफलताको पछि दौडेको हुन्छ। शैक्षिक डिग्री हासिल गर्न होस् या राजनीतिमा पद प्राप्त गर्न‚ जुन साम, दाम, दण्डभेद अपनाएको हुन्छ। त्यसको एक प्रतिशत मिहिनेत अर्थात् प्रयास गर्ने हो भने स्वयंको स्वसत्ता बोध गर्न सक्दैनथ्यो होला?
मानिसलाई अपूर्णता महसुस हुने कारण आत्माको गहिरो चाहना हुन्छ मेरो स्वभावसँग मिलन होस्, मेरो स्वभावसँग सद्भाव बढोस्, मेरो मसँग मिलन होस्।
जीवनको विधायकता नदी जस्तै निरन्तर बगेर समूहमा मिल्नु हो। नदी बगेपछि बग्यो, जस्तोसुकै कठिनाइ आओस् फर्किँदैन पछाडि। मानिस किन विगतमै फर्केर दुःखी बन्ने प्रयास गर्छ?
विगतका खुसीको याद गर्नु वर्तमानमा त्यो मसँग छैन गुनासो भाव नै हो। भविष्यको चिन्ता अनावश्यक प्रयास हो। वर्तमानको सजगता आन्तरिक सुखको राज हो।
प्रयासबिना कुनै प्रसाद मिल्दैन तर के मा प्रयास गर्ने त्यो अक्कल पुगेको छ छैन थाहा पाउनु महत्त्वपूर्ण पक्ष हो। इच्छाहरु केवल सतही हुन्छन् र धेरै लालसा राख्दछन्। यदि आन्तरिक सुख र आनन्दसँग परिचित हुन चाहने हो भने त्यतिबेला थाहा लाग्छ गहिराइको खोज के हो?
हाम्रो ज्ञान र व्यवहारमा त्यसको उपयोग केवल प्रदूषित कोठामा बास्नादार अत्तर छर्केर शुद्ध बनाउन खोजे जस्तो छ। खुला आकाशमुनि स्वच्छ हावा लिएर प्राकृतिक आनन्द लिनबाट हाम्रै ज्ञानले रोकेको होइन र? कतिञ्जेल अत्तर छर्केर प्रदूषित मन, विचार र भावनालाई सक्कली देखाउन प्रयत्न गर्न सकिएला?
आन्तरिक खोज र बाहिरी भड्काव
मानिस बाहिर अरुले जे पाएको छ त्यहि चिज आफूलाई मिलोस् अनुकरण गर्दैमा जीवनको वास्तविक खोज भुल्दै गएको छ। यसो हेर्दा यही अनुकरण नै आधुनिक विज्ञानको उपज मान्न सकिन्छ।
तर, दुर्भाग्य बाहिर निस्केको व्यक्ति घर आउन भुले जस्तै, सतह मुनि कसरी पुग्ने, अन्तरिक्षमा कसरी उड्ने, सुक्ष्मतम पदार्थबारे समेत जानकारी राखिसक्यो। तर स्वयंभित्रको आत्मसम्मान र आत्म परिचय जान्न सकेको छैन। यही त सांसारिक सफलता प्राप्त हुँदा पनि अपूर्ण महसुस गर्नु दुःखको कारण हो। दुःखको कारण र सुखी हुने उपाय बाहिर खोज्दै छ जो कहिल्यै भेटिन्न।
भयंकर आँधीपछि मात्र शान्त र स्तब्धता आउँछ त्यसको मर्म जीवनमा उतार्नु जसरी छैन? जीवनमा अनेक प्रकारका बाहिरी आँधी आए र आउँछन् तर आँधीपछि नै शान्ति र स्तब्धताको बोध गर्न सकिने हुँदा त्यसको मर्मलाई अन्तर हृदयबाट बोध गर्नु जरुरी छ।
बाहिरै भड्केर बाहिरै जीवन लीला समाप्त हुने समयसम्म आन्तरिक प्राकृतिक स्वभावसँग परिचित हुने कला थाहा नपाउनु त दुर्भाग्य शिवाय के होला र! जीवनको आफ्नै स्वर छ, आफ्नै लयवद्घता छ। किनकि सुन्दर मानिस सृष्टि गर्ने अस्तित्व आफैंमा कति सुन्दर होला अनि उसले जीवनको लयवद्घतालाई प्रस्तुत गरेको छैन होला त?
अस्तित्व स्वयं अदृश्य छ भने हामीले अनुभूति गर्ने चिज बाहिर मात्र होलान् त? हाम्रो आन्तरिक अदृश्य ऊर्जालाई कहिले अनुभव गर्ने? आफ्नो अन्तरात्माको सम्मान कहिले गर्ने?
मन, विचार, इन्द्रीयभन्दा भित्रको आन्तरिक चेतनाप्रति जागृत बनाउनका लागि अस्तित्वले अनेक सुविधा, चुनौती र अवसर दिइरहेको हुन्छ। तर मानिसले त्यसलाई बाहिरी घटना भन्ठान्छ र बाहिरै पूर्णता मिल्ने अपेक्षामा सबै ऊर्जा र समय खर्च गर्दछ।
धन, पद, शिक्षा, सम्मान, दुःख, सफलता यी सब बाहिरी उत्तेजना हुन्। यी आवश्यकता होलान् तर सतत इच्छा र खोज होइनन्। मानिसको वास्तविक खोज त जुन बाहिर छैन र अप्राप्य छ तर उपस्थित रहन्छ।
बत्ती जलाएपछि त्यसको ज्योतिलाई समात्छु भनेर जाँदैनौं केवल ज्योतिर्मय प्रकाशको अनुभूति गर्छौं। वस्तु हुनु र देखिनु अनि त्यसको आन्तरिक गुणवात्तलाई अनुभूति गर्नु अलग पक्ष हुन्। तर मानिस जुनसुकै वस्तु वा व्यक्ति अनि आफ्नै शरीर, इन्द्रीय, मन, बुद्धि यी सबैमा म र मेरो जस्तो प्रभुत्व जमाउन अग्रसर रह्यो। जे प्राप्त छ त्यसमा अधिकार जमाउन खोज्ने दृष्टि बदलेर त्यसमा आनन्दको अनुभूति लिने कलाबाट बन्चित रह्यो। त्यसैको परिणाम त हो जीवनबाट शान्ति र आनन्द छुट्दै जानु।
आजका मानिसको बाहिरी दौडधूप र आकांक्षालाई एकपटक सोच मग्न बनाउने बुद्धको उपदेश छ– शान्तिप्रिय व्यक्ति आनन्दको जीवन बिताउँछन्, उनीहरुलाई जीत र हारको कुनै प्रवाह हुँदैन। वास्तवमा जीवनमा आनन्दको अनुभूति गर्न सक्नु जत्तिको जित अरु होला र? अभ्यासलाई अघि बढाउन एक दिन मात्र भने पनि समझदारी र विवेकपूर्ण जीवन बाँचेर हेरौं त।
तपाईंको ईमेल गोप्य राखिनेछ ।