|

धनगढी : निरन्तर भइरहेको अविरल वर्षाका कारण दार्चुलाका विभिन्न स्थानमा आइतबार राति बाढी–पहिरोले क्षति पुगाएको छ। बाढी–पहिरोले जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति पुगाएको हो।

अहिलेसम्म बाढी–पहिरोले तीन जनाको ज्यानसमेत गइसकेको प्रहरीले जानकारी दिएको छ। दार्चुला प्रहरीका अनुसार तीन जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता रहेका छन्। रातिको बाढीले घर, खेत, पुल र लघुजलविद्युत् समेत बगाएको छ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो।

यस्तै, दुहुँ गाउँपालिका–५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।

सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन्। यस्तै, वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन्। निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।

निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रम रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ। दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ।

यस्तै, निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ।

महाकाली नगरपालिका १ को श्रीबगडमा पनि देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको छ। 

केही तस्वीर

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.