|

जनकपुरधाम : वैदेशिक रोजगार विपन्न नेपालीका लागि आय आर्जन र आर्थिक उन्नतिको एउटा महत्वपूर्ण क्षेत्र भएपनि यसले समाजमा अनेकौं विकृति पनि भित्र्याएको छ।

नेपालीहरू साउदी अरब, कतार, कुवेतजस्ता खाडी मुलुकसँगै इजरायल र मलेसियालगायत देशमा रोजगारीमा गएसँगै यसका नकारात्मक असर पनि समाजमा देखिन थालेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीले ल्याएका विभिन्न समस्याले समाज नराम्ररी प्रभावित भएको छ।

निश्चय नै विदेशमा काम गर्न जाने अधिकांशको आर्थिक स्थिति सुध्रिने भएपनि साथसाथै यसले निम्त्याएको सामाजिक विखण्डन, अनेकौं रोग, नैराश्यता, सम्बन्धविच्छेद, एक्लोपन, हत्याजस्ता समस्या दिनानुदिन बढ्दै गएकोतर्फ पनि आँखा चिम्लन नमिल्ने स्थिति आइसकेको छ। 

०७८ भदौ ८ गते बिहान मिथिला विहारी नगरपालिका–५ ललियाका भागेश्वर मण्डलले २५ वर्षीया पत्नी अमृता मण्डल र ५५ वर्षीय बुवा रामवृक्ष मण्डललाई टाउकोमा भाटा प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरे।

आफू रोजगारीका लागि विदेशमा रहेको बेला बुवा र पत्नीबीच यौन सम्बन्ध कायम गरेको थाहा पाएपछि उनले रिस थाम्न सकेनन्। आवेगमा आफूले बुवा र पत्नीको हत्या गरेको बयान उनले प्रहरीसामु दिए। भर्खर ३५ वर्षकाउनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन्। 

यस्तै ०७८ वैशाख १७ गते राति धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीमा ३५ वर्षीय शम्भु मण्डललाई उनकी २५ वर्षीया पत्नी सुशीलादेवी र २४ वर्षीय भाइ सुनिलले र २३ वर्षीय सञ्जय मण्डलसँग मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

शम्भु वैदेशिक रोजगारीमा हुँदा भाउजु सुशीला र देवर सुनिलबीच अनैतिक सम्बन्ध गाँसिएको थियो। देवर–भाउजुको यौन सम्बन्धबारे शम्भुले थाहा पाएपछि पत्नी र भाइले योजना बनाएर उनको हत्या गरेका थिए। यतिबेला सुशीलादेवीसँगै सुनिल र संजय थुनामा छन्।

०७८ असार ४ गते राति धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही बस्ने २२ वर्षीया प्रियांकादेवीको घाँटी थिचेर उनकै २८ वर्षीय पति सन्तोष पासवानले हत्या गरे। पत्नीको यौन सम्बन्ध अरु कसैसँग रहेको शंका सन्तोषले गरेका थिए। यसबारे त्यसै राति सुत्नुअघि दुवैबीच विवाद भएको थियो, जुन अन्ततः हत्यामा परिणत भयो। पत्नी अरूसित लागेको आशंकामा क्रोधित बनेका सन्तोषले उनको हत्या नै गर्न पुगे। 

०७७ फागुन ४ गते कमला नगरपालिका–२ माचि झिटकैया बस्ने ४० वर्षीया शर्मिलादेवीको गला दबाएर उनकै पति ४५ वर्षीय खुशीलाल गडेरीले हत्या गरे। घरभन्दा १ किलोमिटर पर खेतमा शर्मिलाको शव फेला पर्‍यो। गाउँकै युवा सुनिल महतोसँग पत्नीको अनैतिक सम्बन्ध रहेको थाहा पाएर खुशीलालले पत्नीको हत्या गरेको बयान दिए। 

क्षीरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको ०७७ माघ १५ गते राति उनकै सालो निरज खातीले हत्या गरे। उदयपुर जिल्ला त्रियुगा नगरपालिका–७ चुओरका उनलाई ​क्षीरेश्वरनाथ–७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरजले बाँसको भाटाले पिटेर हत्या गरेका थिए। 

यसैगरी, ०७७ कात्तिक २९ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरका २७ वर्षीय संजयकुमार साहले पत्नी २१ वर्षीया आरती साह र ४ वर्षकी छोरी रिया साहमाथि एसिड फ्याँकेर मार्ने प्रयास गरे। एसिडबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत शरीरको २५ प्रतिशत भाग जल्यो।

एसिडले रियाको दाहिने हात र टाउकोमा घाउ र खत बसेको छ। संजयलाई भदौ १० गते जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद र साढे ६ लाख रूपैयाँ जरिवानासहित त्यति नै क्षतिपूर्ति भराउने फैसला गर्‍यो।

०७८ जेठ २० गते महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या घाँटी थिचेर ३२ वर्षीय देवर रुपेश ठाकुरले गरे। शवलाई निर्माणाधीन शौचालयको ट्यांकीमा गाडे। परपुरुषसंग अनैतिक सम्बन्ध रहेको थाहा पाएर रुपेशले भाउजुको हत्या गरी शव लुकाए।

सुजिताको हत्यामा संलग्न ३२ वर्षीय देवर रुपेश, पिपरा गाउँपालिका– ६ रतौली बस्ने ५० वर्षीय बुवा कामेश्वर ठाकुर, सुजिताकी नन्द भंगहा नगरपालिका–१ कविलाश बस्ने वर्ष ३५ की अञ्जु ठाकुर पक्राउ परे।

माथि उल्लेख गरिएका घटनामा कुनै न कुनै रूपमा वैदेशिक रोजगारीमा गएका व्यक्ति वा उनीहरूको परिवार मुछिएको छ। यसबाट आयआर्जनका लागि वैदेशिक रोजगार उपयुक्त भए पनि यसले पारिवारिक सम्बन्धमा कटुता ल्याएको देखिन्छ। पारिवारिक विखण्डनसमेत बढ्दै गएको छ।

विदेशबाट फर्केिएपछि पारिवारिक सम्बन्ध बिग्रने र कलह बढ्ने तथा यस्तो कलह हत्यामा परिणत भएका घटना सार्वजनिक हुन थालेका छन्। वैदेशिक रोजगारीले पतिपत्नीबीच नै चिसोपन आउने गरेको छ।

परिवारमा आर्थिक, सामाजिक मर्यादाविपरीतका गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ र प्रतिशोधका कारण परिवारकै सदस्यबाट हत्याको घटनामा वृद्धि हुनु समाजका लागि घातक भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बताए।

परिवारले प्रतिशोध लिन आफ्नै परिवारकै सदस्यको हत्या हुनुमा वैदेशिक रोजगारी पनि जोडिएको उनले बताए। ‘वैदेशिक रोजगारले घरघरमा आफ्नै खालका कलह सिर्जना गरेकाले यसतर्फ समाजका अगुवाहरू सचेत हुनुपर्ने उनको भनाइ छ।

माथिका घटना नेपाली समाजलाई वैदेशिक रोजगारीले ल्याउन थालेको पारिवारिक विखण्डन र विकृति केही उदाहरण मात्र हुन्। केही वर्षयता भएका हत्या, कुटपीट, हत्या प्रयासको सुक्ष्म विश्लेषण गर्ने हो भने यस्ता घटना लगातार  बढ्दै गएको पाइन्छ, जसको मूलमा वैदेशिक रोजगार रहेको हुन्छ।

यस्ता घटनाले हजारौं नेपाली महिला तथा पुरुष उत्तिकै प्रभावित भएका छन्। हजारौं परिवार टुक्रिएका छन् भने हजारौं बालबालिका परिवारविहीन बनेका छन्।

सामुदायिक विकास तथा पैरवी मञ्चका कार्यक्रम संयोजकसमेत रहेका समाजशास्त्री नीलबहादुर लुम्रेका अनुसार वैदेशिक रोजगारीमा गएकाको परिवारलाई नजिकबाट नियाल्दा काम गर्न गएका पुरुषका पत्नी र विदेशमा काम गर्न जाने महिला यस्ता जोखिममा छन्।

बढ्दो वैदेशिक रोजगारीले आर्थिक रूपमा सबल बनाए पनि घरमा कलह बढाएको छ। पारिवारिक कलह, प्रेम र अनैतिक सम्बन्धका कारण परिवारले नै महिला मारिने क्रम बढ्दो छ। प्रहरीका अनुसार पछिल्लो समय धनुषा महोत्तरीसहित प्रदेश २ मा यस्ता घटना निकै बढेका छन्।

महिला अधिकारकर्मी गुञ्जा रायले महिला तथा पुरुषको दोहोरो भूमिका महिलाले वहन गर्नुपर्दा जिम्मेवारी पनि दोब्बर भएको बताइन्। उनले भनिन्, ‘यस्को सकारात्मक पक्ष भनेको महिलाको दायरा फराकिलो भएको छ साथै लैंगिक भूमिकासमेत केही फेरिएको छ। यसबाट महिलामा आत्मविश्वास बढेको छ।’

तर, यसको अर्को नकारात्मक पक्ष पति विदेश गएपछि पत्नीको जीवनशैलीमा आउने परिवर्तन अर्थात निजले लगाएको, खाएको, हिँडेको हरेक कुरामा छरछिमेकी आफन्त सबैको आँखा लाग्ने गरेको राय बताउँछिन्। उनी भन्छिन्, ‘श्रीमान रोजगारीमा गएपछि कुनै पुरूषसँग बोल्यो भने बात लाग्ने डर, नबोले ठूली भएकी भनेर कुरा काटिने भएकाले महिला उत्पीडनमा परेको देखिन्छ।’

अहिले अदालतमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा दर्ता गर्दा कारण जेसुकै उल्लेख भए पनि त्यसको मुख्य कारण वैदेशिक रोजगार नै भएको देखिएको छ। लामो समय परिवारका सदस्य बाहिर हुँदा यस्ता समस्या उब्जिएको पत्रकार तथा सामाजिक अभियन्ता राकेश चौधरी बताउँछन्। 

पति विदेशमा रहँदा पत्नी अर्कैसँग लागेको र पति घर फर्केपछि अर्कै महिलासँग लागेको, पत्नीको बेवास्ता गरेको कुरा उल्लेख गरी मुद्दा दर्ता हुने गरेको छ। पत्नी विदेशबाट फर्केपछि पत्नीकै चरित्रको झमेला उठाएर सँगै बस्ने अवस्था नरहेपछि सम्बन्धविच्छेद गर्न जाने गरेको पाइएको छ।

सामाजिक अभियन्ता सरोज रायका अनुसार २/४ जना खराब मानसिकताका व्यक्तिका कारण कसैसँग बोल्यो, हिँड्यो भने परिवारलाई र पतिलाई कुरा लगाइदिने र मानसिक यातना दिने क्रम सुरु हुने त्रास छ। ​

पतिले समेत विदेशबाट दुःख गरि कमाएको सबै पैसा माग्ने तर घरमा भएको खर्चको हिसाबै नगरी कस्लाई लगेर खुवाइस् भनी विभिन्न शंका गर्ने र पतिले अरुका कुरा सुनेर धम्क्याउने जस्ता समस्या महिलाले भोग्नुपर्छ।

प्रदेश २ का सांसद समेत रहेकी शारदादेवी थापाका अनुसार महिलालाई सहानुभूति, माया देखाउने, बारम्बार फोन गर्ने, प्रलोभन देखाउने आफ्नो बनेर यौन तथा आर्थिक शोषण गर्ने र अन्त्यमा अर्काको घर नै बिगारेर महिलालाई घरको न घाटको बनाएर छोडीदिने पुरुषका कारण यस्ता घटना बढेको छ।

उनले भनिन्, ‘समाजमा त्यस्ता पुरुष जसले श्रीमान घरमा नभएको अवस्थामा उसकी श्रीमतीलाई फकाई उस्को धनमा मस्ती गरेर हिँड्ने र एक्लोपनको फाइदा उठाएर शारीरिक शोषण गरेका उदाहरण प्रशस्तै छन्। महिलाले पनि सर्वस्व सुम्पने, पतिले दुःख गरी पठाएको रकमसमेत दिने र अन्ततः आफू सडकमा पुगेपछि मात्र शोषित भएको थाहा पाउने गरेको देखिन्छ।’

उनी यसरी महिलाको यौन तथा आर्थिक शोषण गर्ने पुरुषलाई समाजले सजिलै स्विकार्ने तर महिलालाई भने बहिस्कार गर्ने गरेको बताउँछिन्। ‘यस्तो अवस्थामा महिलालाई समस्या थपिन्छ। उनीहरूलाई न पतिले स्वीकार्छ न दोस्रो पुरुषसँग नै घरबार हुन्छ। न माइतीले नै सहारा दिन्छन्। उनलाई धोकेबाज र चरित्रहीन नारीको छाप लगाएर समाजले हटक गर्छ,' सांसद थापाले भनिन्, ‘तर, त्यो पुरुष जस्ले एउटी महिलालाई घरको न घाटको बनाएर छाडीदिन्छ समाजले उस्लाई दोषी मान्दैन।’

महिला अधिकारकर्मी रेखा झा परिवार विखण्डन हुनुमा पुरुषको मात्र दोष देख्दिनन्। उनका अनुसार कसैले मायादया देखाउँदैमा तुरून्तै विश्वास गरेर जीउधन नै सुम्पनु महिलाको पनि ठूलो कमजोरी हो। अधिकांश महिलाले पतिले दुःख गरी पठाएको रकमको उचित व्यवस्थापन गर्न नसक्नुमा हामीले छोरीलाई दिएको शिक्षा तथा जिम्मेवारीमा कहीं कतै कमजोरी रहेको देख्छिन् उनी।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवान वैदेशिक रोजगारीमा भएका व्यक्तिले पनि आफ्नो परिवार टुक्रिन नदिन परिवारको विश्वास गर्ने, कागले कान लग्यो भन्दैमा कागको पछि दौडनुभन्दा कान छामेर वास्तविकता पत्ता लगाए समस्या नआउने बताउँछन्। 

उनले भने, ‘यदि कुनै महिला यौन शोषणमा परेको भए परिवारको माया, सहयोगको आवश्यकता हुन्छ न कि दुर्व्यवहारको। जोसुकै सँग पनि यस्तो दुर्घटना हुन सक्छ। परिवारका सदस्यले पनि संवेदनशील भएर छोरी/बुहारीलाई माया दिएर संरक्षण गरिदिए पारिवारिक विखण्डन रोकिन सक्छ।’

परपुरुषसँग अवैध सम्बन्धको आंशकामा पति, देवर, सासुससुराबाटै हत्या हुनु अत्यन्त दुःखद र निन्दनीय भएको ओरेक नेपाल धनुषा परियोजना संयोजक रोजलिन सिंह बछार बताउँछिन्। उनले वैदेशिक रोजगारीमा वा अन्य कामले लामो समय पति घर बाहिर रहँदा पत्नीले घरका सदस्य वा अन्य व्यक्तिसँग बोल्दैमा परिवारले नै महिलाको हत्या नै गरिनु संवेदनशील विषय रहेको बताइन्।

जनकपुरका मनोचिकित्सक डा.रोविन झाले व्यक्तिमा नकारात्मक सोच हाबी भएर यस्ता घटना हुने बताए। घरपरिवारको कलहले रिस थाम्न नसकेपछि हत्यासम्मको घटना हुने गरेको उनको बुझाई छ। उनले रिस सहन नसक्दा सानो विषयलाई पनि ठूलो बनाउँदा मानिस धेरै कुद्ध बन्छ। उसमा बदलाको भावनाले जरो गाडेपछि हत्या गर्ने भएकाले यस्ता मनोवृत्तिको पनि उपचार गर्न सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.