मेसु डा. सिंहका अनुसार घटना भएको १५ मिनेटमै प्रहरी प्रशासनलाई जानकारी गराए पनि दोषी पक्राउ नगरेको

|

दाङ : राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका चिकित्सकमाथि भएको हातपातको विरोधमा जिल्लाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मी सोमबार पनि घोराहीका सडकमा उत्रिए। 

गत शुक्रबार दिउँसो राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि अभद्र व्यवहार भएपछि दोषीलाई कारबाहीको माग गर्दै उनीहरू लगातार संघर्षमा उत्रिएका हुन्। उनीहरूले स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार सहन नसक्ने भएपछि सडकमा उत्रिएको बताएका छन्। 

शान्तिपूर्ण आन्दोलनमा स्वास्थ्यकर्मीलगायत सम्पूर्ण औषधि फार्मेसी संघ, चिकित्सक संघ, मेडिकल व्यवसायी, औषधि कम्पनीका बिक्री प्रतिनिधि आन्दोलनमा सहभागी छन्। 

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु दाङका संयोजक सर्जन परियार सहितको समूहले भदौ ११ गते दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई उनको कार्यकक्षमै पसेर मोसो दलेका थिए।

अस्पतालका मेसु डा. सिंहले भने घटना भएको १५ मिनेटमै प्रहरी प्रशासनलाई जानकारी गराए पनि अहिलेसम्म दोषी पक्राउ नगरेको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। ४ दिनयता अस्पतालमा इमर्जेन्सी सेवा मात्र दिइरहेको र दोषीलाई कानुनी कठघरामा नल्याउन्जेल तथा सुरक्षाको ग्यारेन्टी नहुन्जेल अस्पतालका बाँकी सबै सेवा अवरुद्ध रहने उनले बताए।

दोषी पक्राउ नहुन्जेल आन्दोलन जारी राख्ने बुद्ध इनटरनेशनल अस्पताल घोराही दाङका सिइओ क्षितिज शर्माले  बताए। उनले राप्ती प्रादेशिक अस्पतालका मेसुलाई मात्र नभई कोरोना महामारीका समयमा ज्यानको परवाह नगरी सेवा गर्नेमाथि हातपात भएकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको उनले बताए।

‘हामी अहिलेसम्म बिरामीको अवस्था हेरेर चुप लागेका थियौँ,’ उनले भने, ‘अब चुप लागेर बस्ने छैनौँ। जसले दिनरात बिरामीको सेवा गर्दै आएको छ, उसैमाथि अमानवीय व्यवहार हुन्छ भने कसरी काम गर्न सकिन्छ ?’

पछिल्लो समय स्वास्थ्यकर्मीहरूको सुरक्षा नभएकाले देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेकाले सुरक्षा माग्दै मेसु सिंहमाथि भएको घटनाका दोषीलाई कारबाहीका लागि सडकमा उत्रिएको बुद्ध इनटरनेशनल अस्पताल घोराहीमा कार्यरत स्त्री रोग विशेषज्ञ डा विमला तिवारीले बताइन्।

उनले जिल्लाका निजी अस्पतालमा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गरेर सडकमा आएको बताइन्। उनले भनिन्, ‘जसले दिनरात नभनी बिरामीको जीवन बचाइरहेको छ, उसैको सुरक्षाको ग्यारेन्टी छैन। काम गर्ने वातावरण छैन। यस्तोमा कसरी बिरामीको उपचार गर्ने र बचाउने ?’  

त्यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोणबहादुर वलीले पनि दोषीलाई कडा कारबाही हुनु पर्ने माग गरेका छन्। उनले घटनाको ४ दिन बित्दा  पनि दोषी पक्राउ नपर्दा अनेक आशंका उत्पन्न भएको बताए। 

तुल्सीपुरस्थित तुल्सी अस्पतालका प्रबन्धक डा. किशोर खत्रीले मेसुमाथि भएको व्यवहार निन्दनीय भएको बताए। उनले कुनै असन्तुष्टि भए कानुनी बाटो जानुको सट्टा अमानवीय व्यवहार गरेको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही माग गरे।

उनले भने, ‘प्रादेशिक अस्पताल बनाउनुमा तुल्सीपुरवासीको ठूलो योगदान छ। अस्पतालमा भएका समस्या बहस छलफलबाट समाधान गर्नुपर्दछ। तर, ड्युटीमा रहेका डाक्टरमाथि यस्तो व्यवहार भए अब कुनै पनि डाक्टर अस्पताल आउन मान्दैनन्।’  

के भन्छ प्रशासन ?

घटनाको ४ दिन बितिसकेको छ। प्रशासनले दोषी खोजीरहेको बताएको छ। घटनामा संलग्न २ जनालाई आइतबार पक्राउ गरेको र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नेमाथि अभद्र व्यवहार गर्नेलाई कानुनअनुसार कारबाही गर्न प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार घटनामा संलग्न २ जना आइतबार राति पक्राउ परेका छन्। उनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटेर नागरिकको सेवामा खटिरहेका स्वास्थ्यकर्मीमाथि यस्ता घटना हुनु अराजकताको नमूना भएको बताए। उनले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन दिनरात लागिरहेको बताए। 

उनले भने, ‘स्वास्थ्य  कानुनमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने, अमानवीय व्यवहार गर्नेलाई बढीमा ५ वर्षसम्म कैदको व्यवस्था छ। आइतबार राति मेसुलाई कालो मोसो दल्ने व्यक्तिहरू पक्राउ परिसकेका छन्। अब ४ जना बाँकी छन्। उनीहरू पनि सम्भवतः आज बेलुकासम्म पक्राउ पर्न सक्छन्।’  

त्यस्तै उनले घटनाका दोषी पक्राउ गरी कानुनबमोजिम कारबाही गरी स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रशासन लागिपरेको दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.