|
फोटो : शिला तिम्सिना

काठमाडौं : कोरोना महामारीले धेरैको व्यवसाय चौपट भयो। केही त व्यवसायबाट नै पलायन नै भए। पलायन हुने मध्येका एक हुन् ४४ वर्षीया सावित्री खुलाल।

कोरोना महामारी आउनुअघि सावित्रीको कपडा पसल थियो। सरकारले महामारी नियन्त्रणका लागि लामो समय लकडाउन गरेपछि भने उनी यो पेशाबाट पलायन भइन्। किनकि‚ लामो समयको लकडाउनले उनलाई छोराछोरीको पालनपोषणको जिम्मेवारी काँधमा बोकेकी उनलाई समस्याको भारीले किच्यो। त्यसैले कुनै उपायको खोजीमा लागिन्। यसै बेला उनी ‘पठाओ’ राइडर बन्न पुगिन्। यसबाट उनी तोकिएको शुल्क लिएर स्कुटरमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँछिन्। 

सावित्रीको जीवनमा अप्ठ्यारो अवस्था लकडाउनले मात्र सिर्जना गरेको भने होइन। यसअघि पनि उनले अनेकौं समस्यासँग जुधिसकेकी छन्। भनौं उनले यस्ता धेरै समस्याका पहाड नाघिसकेकी छन्।

समस्यै समस्या

झापाकी सावित्रीको १५ वर्षको उमेरमा नै बाराका एक पुरुषसँग प्रेम विवाह भयो। उनीहरुको वैवाहिक जीवन राम्रै चल्दै थियो। बालबालिकाहरु पनि भए। तर‚ २०५६/५७ सालतिर भने उनीहरुबीच सानातिना कुरामा मनमुटाव सुरु भयो।

त्यही मनमुटावले उनीहरुलाई अलग अलग समेत बनाइदियो। ‘त्यो बेला उहाँले मलाई देखी नसहने। उहाँले अर्को विवाह पनि गर्नुभयो,’ उनले त्यो तीतो घटनाको स्मरण गर्दै भनिनन्‚ ‘त्यही भएर हामी  छुट्टियौं। छुट्टिएको पनि २२ वर्ष भइसक्यो छुट्टिएको।’

पतिसँग छुट्टिएपछि सावित्री पीडामा परिन्। यति मात्र होइन‚ एकल भएकी उनको काँधमा आफूसँगै दुई छोरी र एक छोराको पालनपोषणको जिम्मेवारी पनि थपियो। आर्थिक कमजोरीकै कारण कक्षा ७ मा पढ्दा पढ्दै पढाइ छाडेकी उनलाई आफ्ना सन्तानलाई कसरी पढाउने, हुर्काउने भन्ने चिन्ताले उनलाई सताउन थाल्यो।

तर‚ उनी हिम्मत हारिनन्। समस्याले समाधान खोज्ने क्रममा उनी वैदेशिक रोजगारीमा जाने सोंचमा पुगिन्। र‚ २०६८ सालमा इजरायल गइन्। त्यहाँ दुई वर्ष बसेपछि नेपाल फर्किइन्। त्यहाँ रहँदा कमाएको रकमले कपडा पसल खोलिन्। तर‚ कोरोना महामारीले त्यो पेशामा टिकिरहन सकिनन्। यसपछि फेरि उनी विगतको जस्तै समस्याको चाङमाथि पुगिन्। उनले भनिन्‚ ‘लकडाउन भएपछि पसल चलेन‚ बन्द गर्नु पर्‍यो।’

पठाओसँग यसरी जोडिइन्

गत मंसिरमा सावित्रीले टिकटकमा भिडियो हेर्दै थिइन्। एकजना पुरुषले पठाओबारे भिडियो हालेको देखिन्। त्यसपछि टिकटक मेसेन्जरबाट उनले ती व्यक्तिसँग पठाओबारे सोधीखोजी गरिन्। उनले पाँच वर्षअघिदेखि स्कुटर चलाइरहेकी थिइन्।

‘लकडाउनले केही काम थिएन,’ उनले भनिन, ‘भिडियो लगाउने व्यक्तिसँग कुरा गर्दै जाँदा महिलाहरुले पनि पठाओ चलाएको थाहा पाएँ। त्यसपछि मैले पनि पठाओ चलाउने निधो गरेर नयाँ बानेश्वरमा रहेको पठाओको अफिसमा गएर ज्वाइन भएँ।’ 

ललितपुरको इमाडोलमा बस्दै आएकी सावित्रीले नौ महिनादेखि पठाओ राइडर गर्दै आएकी छन्। दैनिक पाँचजनासम्म ग्राहकलाई सेवा दिइरहेको उनले बताइन्।

‘कहिले दिनको १२ सयसम्म कमाउँछु। २० प्रतिशत पठाओ अफिसलाई बुझाउँछु‚’ उनले भनिन्‚ ’बाँकीले घर खर्च चलाउँदै आएको छु।’

पठाओ सेवा दिएपछि घरखर्च चलाउन केही सहज भए पनि यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन भने सजिलो नभएको उनको अनुभव छ। ‘कच्ची सडकमा मोटो मान्छे पर्‍यो भने गाह्रो हुन्छ,’ उनले भनिन्‚ ‘गाह्रो छ पनि भन्नु भएन। काम गर्ने पर्‍यो। अब त बानी परिसक्यो।’

पठाओ राइडर बन्न बानी परे पनि जोखिम भने कम छैन। काठमाडौं उपत्यकाको अस्तव्यस्त सडकमा दुई पांग्रे सवारी साधन चलाउन कम सकस छैन। एकातिर धुवो र हिलोले भरिएका सडक‚ अर्कातिर ठूला सवारीसाधनको हेपाहा प्रवृति।

यस्ता समस्यासँग जुध्नै स्कुटी चलाउँदा दुर्घटनामा परेकी छन्। ‘सोह्रखुट्टेबाट एकजना भाइलाई पाटन लगिरहेको थिएँ,’ एउटा दुर्घटना स्मरण गर्दै उनले भनिन्, ‘भाइले हतार छ, छिटो चलाउनु भने। त्यहीअनुसार मैले पनि चलाएँ। टेकुमा खाल्डो थियो, विपरीत दिशाबाट बाइक आएर कोक्कियो। दुवै पछारियौं।’ 

त्यो दुर्घटनामा यात्रुलाई केही नभए उनको भने हात र घुँडामा चोट लाग्यो। स्कुटीको  लुकिङ ग्लास राख्ने स्ट्यान्ड भाँच्चियो। त्यो बेला अबदेखि जसले जे सुकै भने पनि स्पीडमा चलाउन छाडनेको उनले सुनाइन्।

उनी उपत्यकाभरि मात्रै राइडर गर्छिन्। अहिलेसम्म १५ सयभन्दा बढी ग्राहकलाई सेवा दिएकी छिन। यो अविधमा ग्राहकले दुर्व्यवहार नगरेको उनले सुनाइन्। सकेसम्म यही पेसालाई अगाडि बढाउने सोचमा छन् उनी।

संघर्षबाट सहजता

जिन्दगीको धेरै अप्ठ्याराहरू व्यहोरिसकेकी सावित्रले संघर्षबाटै जीवनलाई सहजतिर ल्याइसकेकी छन्। तीनै जना सन्तानलाई ब्याचलर पढाइरहेकी छन्।

‘पठाओ राइडर गरेर तीनजनै मेरा छोराछोरीलाई ब्याचलरमा पढाएको छु। हाँसीखुसी बसेका छौं,’ उनले भनिन्‚ ‘श्रीमानसँग छुट्टिएर एक्लो जीवन पनि साहस गरे सहज साथ बाँच्न सकिन्छ भन्ने समाजलाई देखाएको छु।’

पतिबाट पीडित महिलाहरुले जीवनमा हार खान नहुने उनको सुझाव छ। ‘श्रीमानसँग छुट्टियो भनेर तनाव नलिनु, सानो चित्त गरेर आत्म हत्या गर्ने होइन संघर्ष हो‚’ उनले भनिन्‚ ‘आफ्नो पाखुरा चलाउनुपर्छ। पेट पाल्न सकिन्छ। समाजलाई केही न केही देखाउन सकिन्छ।’

उनका पति र अर्की श्रीमतीसँग काठमाडौंमै रहेको सावित्रीले सुनेकी छिन्। पतिसँग छुट्टिएको धेरै भएपनि सम्बन्धविच्छेद भने भने नभएको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.